७ जेष्ठ २०८१, सोमबार

 

अब नेपालको गलत नक्सा प्रयोग गरे २० हजार जरिवाना

काठमाडौं– नापी विभागले विभिन्न सञ्चार माध्यमहरुमा नेपालको गलत नक्सा प्रकाशन तथा प्रशारण हुने क्रम नरोकिएको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन गरी कुनैपनि सञ्चारमाध्यमले नेपालको नक्सा प्रकाशन तथा प्रशारण गर्नुअघि आधिकारिक हो होइन भनेर जाँचेरमात्रै प्रकाशन गर्न आग्रह गरेको छ ।

‘अधिकांश मिडिया, विज्ञापन कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुले समेत गलत नक्सा प्रयोग गर्ने क्रम रोकिएको छैन । राष्ट्रियताजस्तो विषयमा सबैले अलिकति ध्यान दिनुपर्ने हो । ध्यान नदिँदा गलत सन्देश प्रवाह हुन्छ । त्यसैले हामीले बारम्बार भन्दै आएका छौँ । यदि कसैले नेपालको नक्सा प्रयोग गर्नुपर्यो भने विभागको वेवसाइटबाट निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न आग्रह गर्दछौँ’ पत्रकार सम्मेलनमा विभागका महानिर्देशक गणेश भट्टले भने ।

विभागले २०७४ साल असोज २ बाट नयाँ नक्सा प्रयोगमा ल्याएको हो ।

‘त्यसबीचमा विभागले आजसहित चार पटक पत्रकार सम्मेलन गरेर आधिकारीक नक्सा प्रयोग गर्न आग्रह गरिसकेको छ । सवै सरकारकारी कार्यालयमा पत्र समेत पठाइएको छ । अब पनि यो क्रम नरोकिए हामी कानुनी कारवाहीको प्रक्रियामा जान बाध्य हुनेछौं । त्यसअघि हामी अनुगमन पनि गर्छौ’ महानिर्देशक भट्टले जानकारी दिए ।

जग्गा नापजाँच ऐन, २०१९ को दफा १२ (५) बमोजिम गलत नक्शा प्रकाशन गरेमा रु २० हजार जरिवाना हुनुका साथै सम्पूर्ण प्रकाशन सामाग्रीहरु जफत गरिने व्यवस्था छ ।

विभागले डिजिटल रुपमा नेपालको नयाँ नक्सा वेवसाइटमा राखेपनि अबको केही दिनमा छापेर प्रचारप्रसार गर्ने पनि जनाएको छ ।

विभागले सर्वसाधारणलाई सजिलै बुझ्न आधिकारिक नक्शा हेर्दा सुदूरपश्चिमको दार्चुला जिल्लाको टुप्पोमा चुच्चो भएको हेर्न भनेको छ । ‘दार्चुला जिल्लाको माथिल्लो भाग डाडुजस्तो भएको नक्सा गलत हो चुच्चो भएको नक्सा सहि हो । प्रयोग गर्दा चुच्चो भएको नक्सा प्रयोग गर्नुहोला’  महानिर्देशक भट्टले भने ।

प्रतिक्रिया दिनुहोस्