२ जेष्ठ २०८१, बुधबार

 

बिउ बेचेर मनग्य आम्दानी

बागलुङ
तरकारीको बिउ बेचेर यहाँका एक किसानले मनग्य आम्दानी गर्दै आउनुभएको छ । बागलुङ नगरपालिका–८ सिगानाका टोपबहादुर खड्काले वर्षेनी लाखौँ रुपैयाँको काउली र काँक्राको बिउ उत्पादन गर्नुहुन्छ ।

गत वर्ष एक सय ५० किलो काउलीको बिउ उत्पादन गरेको खड्काले बताउनुभयो । ‘दश लाख बराबरको बेचेँ’ खड्काले भन्नुभयो, ‘अझै ३० किलो जति बाँकी छ ।’ काउलीको बिउ प्रतिकिलो रु. आठ देखि दश हजारसम्ममा बिक्री हुन्छ ।

खड्काले स्थानीय जातको ‘ज्यापू’ काउलीको बिउ उत्पादन र बिक्री गर्दै आउनुभएको छ । काउलीपछि उहाँकोमा धेरै उत्पादन हुने काँक्राको बिउ हो । यही वर्ष ४० किलो काँक्राको बिउ बेचेको खड्काको भनाइ छ ।

प्रतिकिलो रु. पाँच हजारमा काँक्राको बिउ बिक्री हुन्छ । ‘काँक्रामा भक्तपुर लोकलको बिउ उत्पादन गर्छु’ खड्काले भन्नुभयो, ‘यसको उत्पादन राम्रो छ, माग पनि बढी छ ।’ खड्काले उत्पादन गरेको काउलीको बिउ काठमाडौँ, चितवन लगाएत तराईका जिल्लामा पुग्छ ।

काँक्राको बिउको लागि पनि बाहिरका ठूला व्यापारीबाट माग आउँछ । बागलुङकै अन्य ठाउँ र छिमेकी जिल्लाका किसानले समेत उहाँसँग बिउ किन्ने गर्छन् । ‘ठूला व्यापारीहरुसँग कारोबार हुन्छ’ खड्काले भन्नुभयो, ‘उनीहरुले प्याकेजिङ गरेर बजार पठाउँछन् ।’

उहाँले बेच्ने ज्यापू काउली र भक्तपुर काँक्राले ७० देखि एक सय दिनमा उत्पादन दिन्छ । बिउको बजारीकरणमा सरकारले सघाउनुपर्ने खड्काले बताउनुभयो । ‘बजारको सुनिश्चितता हुन सके बिउमा राम्रो आम्दानी छ’ खड्काले भन्नुभयो ।

छिटो र धेरै फल्ने नाममा गुणस्तरहीन बिउलाई निरुत्साहित गर्दै स्थानीय जातको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । खड्काले केही वर्ष अघिसम्म प्याज, मूला, गाजर, गोलभेँडा लगाएत अन्य तरकारी बालीको बिउ समेत उत्पादन गर्दै आउनुभएको थियो ।
पछिल्लो समय काउली र काँक्राको बिउ उत्पादनमा मात्र उहाँ केन्द्रित हुनुभएको छ । ‘बिउ उत्पादन विसं २०४६ देखि शुरु गरेको हुँ’ खड्काले भन्नुभयो, ‘पछि उत्पादन बढाउँदै लगेँ ।’ कास्कीको लुम्लेमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रबाट उहाँले शुरुमा बिउ उत्पादनको सीप सिक्नुभएको हो ।

बिउ उत्पादनका लागि तत्कालिन कृषि विकास कार्यालय बागलुङबाट पनि उहाँले विभिन्न तालिम, प्रविधि र अनुदान पाउनुभएको छ । ६० वर्षीय खड्काले बिउसँगै ताजा तरकारी पनि उत्पादन गर्दै आउनुभएको छ ।

जिल्लामै सफल र अगुवा किसानको रुपमा परिचित खड्काले पाँच रोपनी क्षेत्रफलमा सुन्तला खेती पनि गर्दै आउनुभएको छ । विसं २०३७ सालदेखि उहाँ निरन्तर कृषि पेशामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्