३१ बैशाख २०८१, सोमबार

 

लन्डनस्थित आम्बेडकर सङ्ग्रहालय जोगाउन भारतलाई चुनौती

ब्रिटेनको राजधानी लन्डनको एउटा शान्त कुनामा भारतका एक सम्मानित व्यक्तित्वको प्रभावशाली उपस्थिति छ।लन्डन महानगरको समृद्ध क्षेत्र मानिने प्रिमरोज हिल धेरै पुस्तादेखि लोकप्रिय व्यक्तिहरूको वासस्थान बन्दै आएको छ।

त्यहाँ चर्चित मोडल केट मोसदेखि अभिनेता ड्यान्यल क्रेइगसम्मको घर छ।तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वभरिबाट सयौँ पर्यटकहरू यहाँको एउटा विशेष घर हेर्न आउँछन्।त्यो घरको बाहिर लेखिएको छ: “सामाजिक न्यायका भारतीय योद्धा तथा नायक डाक्टर भीमराव राम्जी आम्बेडकर यहाँ सन् १९२१ देखि २२ सम्म बसेका थिए।”

अम्बेदकर हाउस

ढोकाबाट केही पाइलाभित्र माला लगाइएको डा. आम्बेडकरको एउटा अर्धकदको मूर्ति छ। उनलाई भारतीय संविधानको पिता मानिन्छ।उनको सम्झनामा कोठाहरूको पुनर्निर्माण गरेको देखिन्छ र भान्साको टेबलमा केही कानुनी दस्तावेज असरल्ल देखिन्छ।उनको चस्मा खाटको छेउको टेबलमा रहेको पन्ना दोबारेको किताबनजिकै रहेको छ।

तर त्यहाँ एउटा समस्या उत्पन्न भएको छ: दुई छिमेकीहरूले उक्त सङ्ग्रहालय स्थानीय नगर परिषद्‍को नियमानुसार त्यहाँ हुनु नहुने दाबीसहित विरोध जनाइरहेका छन्।उक्त सङ्ग्रहालयको भविष्यका बारेमा अर्को महिनाको परिषद्को सुनुवाइमा निधो हुनेछ।

घरमालिक उक्त सङ्ग्रहालयलाई आवासीय सम्पत्तिमा परिवर्तन गर्न बाध्य हुन सक्छन् र आगन्तुकका लागि सङ्ग्रहालय बन्द हुन सक्छ।यदि त्यस्तो भएमा अहिलेसम्म पनि भारतीय समाजमा गहिरो प्रभाव भएका ती प्रभावशाली व्यक्तित्वको चिनो धमिलो हुन सक्छ।

आम्बेडकर हाउसको नामले चिनिएको यो भवनलाई भारतीय राज्य महाराष्ट्रको सरकारले सन् २०१५ मा झन्डै ३० लाख पाउन्डमा किनेको थियो।आम्बेडकर सङग्रहालयको उद्घाटन प्रधानमन्त्री मोदीले गरेका थिए।

अम्बेदकरको सालिक

नीतिको उल्लङ्घन

त्यसयता सयौँ मानिसले सङ्ग्रहालयको भ्रमण गरिसकेका छन्।बीबीसीसँग बोल्दै तीन छिमेकीले त्यसरी भ्रमणमा आएका मानिसहरूले कुनै बाधा नपुर्‍याई सङ्ग्रहालयको भ्रमण गरेको बताए।आम्बेडकर हाउसभन्दा सडकपारि बस्ने एक छिमेकीले त आफूलाई उक्त घरमा सङ्ग्रहालय छ भन्ने पनि थाहा नभएको बताए।

तर सन् २०१८ को ज्यानुअरीमा क्याम्डेन परिषद्‍मा उक्त घरले योजना उल्लङ्घन गरेको भन्ने उजुरी पर्‍यो।त्यसपछि परिषद्‍ले उक्त भवनसँग सङ्ग्रहालय सञ्चालन गर्ने अनुमति नभएको पत्ता लगायो।त्यसपछि फेब्रुअरीमा नै घर मालिकले त्यहाँ भूतप्रभावी हुने गरी सङग्रहालय चलाउन पाउने अनुमति मागे।

तर काउन्सिलले आवासीय क्षेत्रमा त्यसो गर्दा त्यसले अस्वीकार्य रूपमा क्षति पुर्‍याउने बताउँदै अक्टोबर महिनामा त्यसरी अनुमति दिन नसकिने उत्तर दियो।उत्तर पश्चिम लन्डनका दुई बासिन्दाले बसका बस मानिसहरू आउँदा दिनरात उक्त क्षेत्रमा होहल्ला भएको पनि गुनासो गरेका छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

महाराष्ट्र सरकारले नगर परिषद्को त्यस्तो निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेको छ र त्यसबारे सार्वजनिक जाँचबुझका लागि सेप्टेम्बर २४ तारिखको मिति तय गरिएको छ।महाराष्ट्र सरकारले उक्त विषयबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ।तर ब्रिटेनस्थित भारतीय उच्चायोगले बीबीसीसँग उक्त सम्पत्ति भारतको एउटा ठूलो वर्गको लागि त्यसको धेरै महत्त्व भएको जनाएको छ।

उक्त घरलाई स्मारकमा परिणत गर्नका लागि एउटा निवेदन क्याम्डेन परिषद्लाई बुझाएको पनि जनाइएको छ।महाराष्ट्रमा बस्ने आम्बेडकरको सन् १९५६ मा निधन भयो।उनी कानुनका ज्ञाता र प्रखर नागरिक अधिकारकर्मी थिए।

भारत सन् १९४७ मा स्वतन्त्र भएपछि देशको संविधानको मस्यौदा बनाउने जिम्मा उनले पाएका थिए। उनी देशका पहिलो कानुनमन्त्री पनि हुन्।उनी दलित थिए र भारतको जातीय प्रणालीमा उनी कथित अछूत थिए।

शताब्दिऔँसम्म आर्थिक र सामाजिक विभेद सहेको समुदायका लागि उनी महत्त्वपूर्ण र श्रद्धेय नेता थिए।उनले जातीय विभेद अन्त्य गर्न र महिला अधिकारका लागि सङ्घर्ष गरे।उनले सरकारी जागिर र विद्यालयहरूमा विभेदमा परेका समूहलाई आरक्षण हुनुपर्नेबारे वकालत गरेका थिए। उनलाई भारतमा ठूला नेताको रूपमा लिइन्छ।

अम्बेदकर हाउस

के हो भारतको जातीय प्रणाली?

राजनीतिक जीवन सुरु गर्नुअघि आम्बेडकर करिब एक वर्षका लागि सन् १९२१ तिर प्रिमरोज हिलमा बसे।उनी त्यतिबेला लन्डन स्कूल अफ इकोनोमिक्समा अर्थशास्त्रमा विद्यावारिधि गर्दै थिए।त्यसैले फेडेरशन अफ आम्बेडकराइट एन्ड बुद्धिस्ट अर्गनाइजेशनको सुझावमा महाराष्ट्र सरकारले सन् २०१५ मा उक्त सम्पत्ति किनेको थियो।

उक्त घर बिक्रीमा राखिएपछि पश्चिम लन्डनस्थित हुन्स्लोमा बस्ने यूकेकी भूतपूर्व सरकारी कर्मचारी सन्तोष दासले राज्यले किन्नुपर्ने भनेर आश्वस्त पारेकी थिइन्।उनले त्यतिबेला यो भवन एकदमै जीर्ण अवस्थामा रहेको र त्यसपछि यो घरमा निकै धेरै मर्मत सम्भार गरिएको बताइन्।

सन्तोष दासले घरलाई औपचारिक रुपमा सङ्ग्रहालयमा परिणत गर्नका लागि अनुमति लिने विषयमा विचार पनि गरिएको तर त्यसका लागि कति समय लाग्छ भन्ने अन्दाज नभएको उनले बताइन्।उनले भनिन्, “यहाँ मानिसहरू आऊन् र यसलाई तीर्थस्थलजस्तो मानून् भनेर हामी यसलाई एउटा स्मारक बनाउन चाहन्छौँ।”

अम्बेदकर हाउस

प्रत्येक हप्ता करिब ५० जना आम्बेडकर हाउसमा पुग्छन्।तीमध्ये केही टाढाटाढाबाट आएका उत्साही मानिस पनि हुन्छन्।भवनबाहिर एक परिवारले बीबीसीसँग कुरा गर्दै आफूहरू भारतबाट लन्डन घुम्न आएको र आम्बेडकर सङ्ग्रहालय सूचीको शीर्ष स्थानमा रहेको बताए।एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग भने, “यो एउटा सङ्ग्रहालय नभई एउटा बसोबास गर्ने घर हुनुपर्छ।”

उनले आम्बेडकर हाउसको जीर्णोद्धार बिनाअनुमति गरिएको र अब मानिसहरू यसलाई हेर्न आउने दाबी गरे।क्याम्डेनले स्थानीय मानिसहरूसँग सो भवनबारे सोध्दा एक जनाले त्यहाँ मानिसहरू गाडीमा आउने, फोटो खिच्ने अनि ठूलो आवाजमा कराउने गुनासो गरेका थिए।

अम्बेदकर हाउस

क्याम्डेन परिषद्का प्रवक्ताले यदि आम्बेदकर हाउसको अपील खारेज भएमा यहाँका मानिसले यसलाई एउटा आवासीय भवनका रूपमा प्रयोग गर्नुपर्ने बीबीसीलाई बताए।

भवनभित्र आम्बेडकरको एउटा उक्ति एउटा भित्तामा राखिएको छ: “प्रजातन्त्र वास्तवमा हाम्रा मानिसहरूप्रतिको श्रद्धाको दृष्टिकोण हो।”

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्