६ जेष्ठ २०८१, आईतवार

 

चमेराले कसरी आफू बिरामी नपरी कोरोना भाइरस बोक्छ ?

वैज्ञानिकहरूले ६ प्रजातिका चमेराको आनुवंशिक संरचनाको गुह्य पत्ता लगाएका छन्। जीवनसूत्र मानिने आनुवंशिक संरचनामा चमेरालाई घातक भाइरसबाट जोगाउने ‘असाधारण प्रतिरोध क्षमता’ भएको संकेत पाइएको छ।

अनुसन्धाताहरू यो जानकारी प्रयोग गरी चमेराहरूले कसरी आफू बिरामी नपरी कोरोना भाइरस बोक्छन् भन्ने रहस्य पत्ता लगाउन सकिने अपेक्षामा छन्।

उनीहरूका अनुसार यसबाट अन्ततः मानवजातिलाई स्वस्थ राख्न र भविष्यमा सम्भावित महामारीबाट जोगाउन कुनै उपाय फेला पार्न सकिन्छ। युनिभर्सिटी कलेज डब्लिनमा प्राध्यापन गर्ने एमा टिलिङले चमेराको आनुवंशिक संरचनामा ‘अनुपम प्रतिरक्षा प्रणाली’ देखिएको बताइन् ।

‘अनि चमेराले कसरी आफू संक्रमित वा पीडित नभई भाइरस बोक्न सक्छ भन्ने पत्ता लगाउन सकियो भने त्यसले कोरोना भाइरसजस्ता विषाणुले गराउने रोगको उपचार खोज्न सहयोग गर्न सक्छ।

चमेरामा भाइरस सहन सक्ने शक्ति प्रदान गर्ने प्रतिरोधी प्रतिक्रियाको नक्कल गर्न सकियो भने तपाईं प्रकृतिमै उपचार फेला पार्न सक्नुहुन्छ,’ टीलिङले बीबीसीलाई भनेकी छन् । यो परियोजनाले १,४२१ प्रजातिका चमेराको आनुवंशिक संरचनाको गुह्य पत्ता लगाउने लक्ष्य राखेको छ ।

कोभिड–१९ चमेराबाट सुरु भएर अन्य कुनै जनावरबाट मानिसमा सरेको मानिन्छ। बीचको जीव कुन हो भन्ने पत्ता लागेको छैन। सार्स, मेर्स र इबोलाजस्ता अन्य थुप्रै रोग पनि यसरी नै मानिसमा सरेको मानिन्छ। संरक्षणकर्ताहरूले चमेरालाई यसका लागि दोषी मान्न नहुने बताइरहेका छन्।

प्राकृतिक अवस्थामा छोड्ने हो भने चमेराले मानव स्वास्थ्यमा जोखिम नल्याउने उनीहरूको तर्क छ। चमेरा प्राकृतिक चक्रको सन्तुलनका लागि पनि महत्त्वपूर्ण छन्।

तिनले फलबाट निस्केका बीउ फैलाउने र राति लाखौँ टन कीरा खाने गर्छन्। अध्येताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले नयाँ प्रविधि प्रयोग गरेर चमेराको आनुवंशिक संरचना पत्ता लगाएको हो।

अन्य ४२ जीवसँग चमेराको आनुवंशिक संरचना तुलना गरेर वैज्ञानिकहरूले यो स्तनपायी जिन कोसँग नजिक छ भन्ने पनि पत्ता लगाए। चमेरा, कुकुर र बिरालोजस्ता मांसाहारी प्रजाति सालक र ह्वेलको वर्गमा पर्छन्। ती जीव र चमेरामा भएको आनुवंशिक भिन्नता नै तिनको अद्वितीय क्षमता पत्ता लगाउन सहायक हुने उनीहरूको भनाइ छ। यो अध्ययन नेचर जर्नलमा प्रकाशित भएको छ।

प्रतिक्रिया दिनुहोस्