४ जेष्ठ २०८१, शुक्रबार

 

महासंघमा देशको समग्र उद्योग–व्यवसायलाई जोगाउन सक्ने नेतृत्व चाहिएको छ : उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् ।

उपाध्यक्ष ढकालले कोरोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवर्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

काठमाडौंमा सोमबार आफूसम्बद्ध टिमका पदाधिकारीसहित उम्मेदवारसँगको अन्तरक्रियामा उनले भने, ‘कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं ।

अझै हामीलाई केकस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन । त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार–व्यवसायलाई बचाइराख्न र संरक्षण प्रदान गर्न हामीलाई बलियो काँध चाहिएको छ । त्यसैले सही र सक्षम नेतृत्व चुन्नुपर्ने बेला आएको छ ।’

महासंघको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगे मात्र महासंघको गौरवपूर्ण इतिहास र ओज कायम रहने ढकालले बताए । ‘महासंघको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनु उपयुक्त हुन्छ,’ उनले भने ।

नेतृत्व भनेको संकटको समयको सारथि भएको र यस्तै दुःखको बेला नै नेतृत्वको पहिचान हुने भन्दै आफूले महासंघको नेतृत्वमा पुगेपछि यस्तै सबैले सम्झिन सक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्ने दाबी उनको थियो ।

प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उनले आफ्नो टिमका सबै सदस्यलाई आग्रह गरे ।

आफ्नो समूह अबका सबै चुनौतीको सामना गर्न सक्षम रहेको बताउँदै उनले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति रहेकाले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए ।

ढकालले भने, ‘हाम्रो यो समूह सबै मुलुकको व्यापार–व्यवसायको सबै किसिमका अनुभवले भरिएको छ, विश्वासले भरिएको छ । यसमा जिल्ला नगरका साना तथा मझौला व्यवसायदेखि केन्द्रका ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर हाम्रो यो समूह गाउँ, जिल्ला÷नगर देखि नीतिगत तहसम्म पहुँच पु¥याउन सक्छ ।’

उनले कोरोनाका कारण सिर्जित आर्थिक चुनौतीको सामना गर्न व्यक्तिगत पहल मात्रै पर्याप्त नहुने जनाउँदै त्यसका लागि महासंघको नेतृत्वमा सही र सक्षम व्यक्तिहरू चयन गर्ने उपयुक्त अवसर आएको बताए ।

देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिइङ गर्न सक्ने नेतृत्व

चाहिएको उल्लेख गर्दै आफ्नो समूहले महासंघलाई ठूला उद्यमीको मात्रै नभई साना र मझौला उद्योगी–व्यापारीको पनि साझा चौतारीका रूपमा स्थापित गर्ने बताए । अन्तरक्रियामा ढकाल समूहबाट उम्मेदवारहरु उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघईलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्