७ जेष्ठ २०८१, सोमबार

 

चन्द्रागिरिमा अब जिपलाइन र प्याराग्लाइडिङ पनि

केबुलकार र बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले अब राजधानीमै जिपलाइन र प्याराग्लाइडिङ पनि सञ्चालन गर्ने भएको छ । चन्द्रागिरिलाई आन्तरिक पर्यटनको हब बनाउन करिब १० करोड रुपैयाँ लगानीमा २०७८ भित्रै दुईवटा जिपलाइन सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।

पहिला जिपलाइन र त्यसपछि प्याराग्लाइडिङ सञ्चालनको तयारी छ । कम्पनीले प्याराग्लाइडिङको लगानी भने खुलाएको छैन । कम्पनीका अनुसार जिपलाइन परियोजनाका लागि ९ करोड रुपैयाँका उपकरण आइसकेका छन् । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेषप्रताप शाहले जिपलाइन र प्याराग्लाइडिङको प्रारम्भिक काम सुरु भएको बताए ।

२०७७ पुसभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइए पनि कोरोनाका कारण ढिलाइ भएको उनले जानकारी गराए ।प्याराग्लाइडिङ सञ्चालनका लागि छुट्टै चन्द्रागिरि हिल्स प्याराग्लाइडिङ लिमिटेडसमेत दर्ता भइसकेको छ । उक्त कम्पनीमा चन्द्रागिरि हिल्सको शतप्रतिशत लगानी छ ।

नेपालभरि प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्ने तथा उक्त व्यवसायसम्बन्धी अध्ययन–अनुसन्धान एवम् तालिम दिने योजना कम्पनीको छ । यस्तै जिप फ्लायर, बन्जी जम्पिङ, हर्ष राइडिङ, रक क्लाइम्बिङजस्ता साहसिक व्यवसाय सञ्चालन गर्ने तयारी चन्द्रागिरिको छ ।

आन्तरिक एवम् बाह्य पर्यटकलाई लक्षित गरी चन्द्रागिरिबाटै प्याराग्लाइडिङ समेत सञ्चालन गर्ने तयारी भइरहेको हो । चन्द्रागिरिबाट उडेको पाराग्लाइडिङलाई चित्लाङ लैजाने योजना छ । हावाको चाप र भूगोलको बनोटबारे विस्तृत अध्ययन गर्ने, परीक्षण उडान भर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

चन्द्रागिरिमै प्याराग्लाइडिङ सञ्चालनमा आए पोखरासम्म जानुपर्ने बाध्यता हट्ने र काठमाडौं उपत्यकासहित हिमालयका दृश्यहरू नजिकबाट नियाल्न सकिने दाबी कम्पनीको छ ।

कम्पनीका अनुसार एउटा जिपलाइनको लम्बाइ ७ सय मिटर रहनेछ भने बालबालिकाहरूका लागि ४० देखि ५० मिटरको छुट्टै बनाइनेछ । रिसोर्टनजिकै र मन्दिरनजिकै जिपलाइन सञ्चालन हुनेछ । यससँगै होटलबाट हेलिकप्टर सफारीका लागि समेत रिसोर्टले व्यवस्था गरेको छ ।

नेपाली एवम् विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै चन्द्रागिरिमा हेलिकप्टरमार्फत जाने व्यवस्थाका लागि हेलिप्याडसमेत बनाइएको छ । त्यहाँबाट फ्लाइट सिनसमेत गर्न सकिने अफर कम्पनीले ल्याएको छ । यस्तै हर्ष राइडिङ, ट्रेकिङका लागि समेत विशेष प्याकेज ल्याइएको छ ।

विशेष गरी आन्तरिक पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेज ल्याइरहेको महाप्रबन्धक शाहले बताए । हिल्सले २०७६ साउन १ गतेदेखि रिसोर्टसमेत सञ्चालन भइसकेको छ । रिसोर्टमा कुल १ सय कोठा छन् । तिनमा स्विट, डिलक्स र एक्युटिभ गरी तीनखाले सुविधा छन् ।

नेपाली पन झल्कने र विश्वस्तरीय सेवा उपलब्ध हुने कफी सप र फुडकोर्टसमेत रहेको बताइएको छ । रिसोर्टमा एउटा बार, एउटा बोर्डरुम र ३ वटा कन्फ्रेन्स हल छन् । यस्तै स्विमिङ पुल, स्पा र हेल्थ क्लब पनि छ ।

रिसोर्टमा १ अर्ब ३८ करोड २२ लाख रुपैयाँ लगानी रहेको बताइएको छ । चन्द्रागिरिमा आईएमई ग्रुपको सबैभन्दा बढी लगानी छ । यसबाहेक भाटभटेनी सुपर मार्केट र हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका साथै अन्य व्यक्तिको समेत लगानी छ ।

प्रतिक्रिया दिनुहोस्