२३ बैशाख २०८१, आईतवार

 

‘महिलाले यौन र दुराचारका कुरा लेखे इस्यु बनाइन्छ’

कसरी फेरूँ म हरदम स्वरूप ?
बारुलाको जस्तो छिनेको कम्मर मनपर्छ रे तिमीलाई
मृगका जस्ता नयनले हेर्नुपर्यो रे तिमीलाई
नागको जस्तो लचक पनि आउनुपर्यो रे कम्मरमा
कोमल गुलाबहरू फुल्नुपर्यो रे अधरमा
नवजात छाउरालाई डकार्ने बनाउनुपर्दा
लैनो भैँसीझैं बनिदिनुपर्ने
जब हुर्कन्छन् थोरै, छाउराहरू
तिम्रा लागि फेरि दीपिका बनिदिनुपर्ने !

००००

साहित्यमा कलम चलाएको कति समय भयो ?
९ वर्षकै उमेरदेखि लेख्न थालेकी हुँ । कक्षा ४ मा अध्ययन गर्दा पहिलो कविता लेखेकी थिएँ । त्यसपछि क्याम्पस पढ्दासम्म क्रमशः लेखिरहेँ । बीचमा केही समय रोकिएर तीन वर्षयता फेरि निरन्तर लेखिरहेकी छु ।

के कुराले साहित्यमा तान्यो ?

साहित्यमा रुचि भएकाहरूले भोगिरहेको/देखिरहेको कुरालाई अलि सूक्ष्म तरिकाले ग्रहण गर्न सक्छन् । व्यक्तिगत रूपमा भन्दा मलाई चाहिँ लेखेर समाजका लागि केही योगदान गर्न सकूँ भन्ने लाग्यो । मनमा साहित्यको हुटहुटी थियो, नलेखी बस्नै सक्दैनथेँ । लेखकहरूले सामान्य घटनालाई विशेष रूपले व्याख्या गर्न सक्छन् ।

भन्नाले मेरो भूमिका के हो भन्ने सोच्न बाध्य भइन्छ । जस्तै– बालविवाह, बलात्कार, भेदभाव भइरहेका छन् । एउटा कविले यो विषयमा नलेखी बस्न सक्दैन । जसले त्यो कुरालाई भित्र आत्मादेखि लिन्छ ऊ नै साहित्य क्षेत्रमा लागेको हुन्छ । यो क्षेत्रमा लागेर नाफा हुन्छ भन्ने होइन । सन्तुष्टिकै लागि मानिस साहित्यमा लाग्छ ।

साहित्यकारले कस्ता–कस्ता चुनौती झेल्नुपर्छ ?
नेपालको परिवेशमा हेर्दा पहिलो चुनौती भनेको आर्थिक हो । हामी मध्यमवर्गीय र निम्नवर्गीय हैसियतमा गुज्रिरहेका छौं । हाम्रो पहिलो प्राथमिकता भनेकै गाँस, बास र कपास हो । यी कुरा नभए अरूसोच्नै सकिन्न ।
अर्कातिर हाम्रो सोचाइ पनि सानैदेखि पैसा कमाउनुपर्छ, विदेश जानुपर्छ भन्ने छ । सामाजिक दृष्णिकोणले पनि जसको आर्थिक अवस्था मजबुुत छ, उसलाई त्यही दर्जामा राखिन्छ । कुनै पनि अभिभावकले भन्दैन कि भविष्यमा गएर मेरो सन्तान ठूलो लेखक बनोस् । किनकि लेखक बनेर जीवन चलाउन गाह्रो छ ।

फेरि समाजले पनि कवि–लेखकलाई आर्थिक आम्दानी नहुने, सधैं कल्पनाशील, घरबाट पनि अपहेलित भएको रूपमा चित्रण गरिरहेको हुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाकै पनि मैलो दौरा–सुरुवाल, पुरानो टोपी, फाटेको जुत्ता लगाएको, चिया पिउन सस्तो पसल गएको चर्चा गरिन्छ । यस्तोमा पछिल्लो समय २–४ जनाले फुल टाइम लेखेरै जीवनयापन गरेको देखेकी छु । यो सुखद कुरा हो ।

युवा पिढी पनि साहित्य लेखनमा रुचि राखिरहेकै छ । उनीहरूसँग अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने लेखन प्रतिभा छ । तर, यति हुँदा पनि उनीहरू रोजगारी नपाएर विदेश जानुपर्ने बाध्यता छ । विदेश गएपछि साहित्यभन्दा श्रमलाई नै प्राथमिकता दिन परिगयो । यस्तै चुनौतीका कारण साहित्यकारहरू औंलामा गन्न पुग्ने मात्र छन् ।

साहित्यिक लेखनमा महिलाहरूको उपस्थिति किन कम भएको होला ?
राजनीतिक, सांस्कृतिक, सामाजिकलगायत थुपै कारण छन् । महिला र पुरुषबीचको श्रम बाँडफाँट नै अमिल्दो छ । कार्यालयमा काम गरेर आएकी महिलाले घर फर्केपछि पनि उसै गरी काममा जोतिइरहनुपर्छ ।

अर्को कुरा, महिला लेखक बनेर आउँछु भन्दा समाजले स्वीकार गर्न गाह्रो छ । जस्तै– आर्थिक, सामाजिक, यौन, दुराचारसम्बन्धी कुराहरू पुरुषले लेखे सहज रूपमा लिइन्छ । तर महिलाले आफ्ना भोगाइ र अनुभव मिसाएर कलात्मक तरिकाले यस्ता विषय लेखिए ‘इस्यु बनाइन्छ । परिवार, समय, जिम्मेवारीका कुराले पनि महिलाको उपस्थिति साहित्यमा कम भएको हो ।

साहित्यमा नयाँ पिढीको भूमिका र सम्भावना कस्तो देख्नुहुन्छ ?
नयाँ पिढीहरू अन्तर्राष्ट्रिय साहित्यलाई अनुवाद गरेर लेख्न–पढ्न सक्ने हुनुभएको छ । यो प्रविधिले गर्दा भएको हो । त्यसो त प्रविधिले नेपालको साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन पनि सहज भएको छ ।

पछिल्लो पुस्ताको यसमा आकर्षण बढ्नुको कारण बौद्धिक स्वतन्त्रता पनि हो । राज्य स्तरबाट एउटा कोश स्थापना गरेर नयाँ अनुहारलाई पनि प्राथमिकतामा राखी सर्जकलाई पुरस्कार दिने व्यवस्था भए राम्रो प्रोत्साहन मिल्छ ।

तपाईंले भर्खरै बजारमा ‘बरफका कोइलाहरू’ कृति बजारमा ल्याउनुभयो । यसमार्फत कस्तो विषयलाई उठान गर्न खोज्नुभएको हो ?
यो मेरो पहिलो कृति हो । नेपाली कथा र कविता संग्रह अझै आउन बाँकी छ । ‘बरफका कोइलाहरू’मा बाल्यावस्था, किशोरावस्थादेखिका भोगाइहरू, सामाजिक र राजनीतिक परिवर्तनका विषयसँगै पर्दापछाडिका कुरालाई अगाडि ल्याउन खोजेकी छु । यो कृति ‘आवाजविहीनहरूको आवाज’ हो ।

आँसुका बीउहरु
उहिल्यै
कतै नपाएर लुकाउने ठाउँ
खोस्रेर माटो पुरिदिएथें
एक पसर आँसुका बीउहरु !

आहा ! कति सुन्दर भई
फर्किएछन्
बगैँचाभरी फूल बनेर ।

अहिले डराउँदै–डराउँदै
ओल्टाइपल्टाइ हेरिरहेछु
कतै लागेका त छैनन्
फूलका बोटमा
आँसुका दानाहरु !

– राधिका कल्पित
कवि/ लेखक

प्रतिक्रिया दिनुहोस्