२४ बैशाख २०८१, सोमबार

 

कहाँ छौ तिमी ?

नभमा छौ कि धर्तीमा ?
अनि आफ्नै चल्तीमा छौ कि ?
अरू कसैको खल्तीमा ?
खैर तिमी जहाँ भए पनि
म त समाजसेवामा समर्पित
विश्वविख्यात अग्रणी
लायन्सवादको युद्ध–मैदानमा
उभिएको छु ।
जित्नका लागि हैन
आफू हारेर पनि
अरूलाई जिताउनका लागि
म त यतै कतै
युद्ध–मैदानमा उभिएको छु ।
तिम्रो नजरमा नदेखिन सक्छु,
नभेटिन पनि सक्छु कहिले–कहिले
तर म यतै कतै युद्ध–मैदानमै छु ।
राष्ट्रियताको मर्म अनि
भावनाको ओतमा
लायन्सवादको आस्था र
विश्वासको पोको बोकेर
कहिले रंगीन सहरमा हुन्छु
कहिले उजाड बस्तीमा हुन्छु ।
कहिले नदी–खोलाको तिरमा हुन्छु
कहिले पहाडको शिरमा हुन्छु ।
जे होस् म यतै कतै युद्ध–मैदानमै हुन्छु
लायन्सवादले सिर्जना गरेको
सेवाको मर्म र मन्त्रलाई
काखी च्यापेर म त यतै कतै
युद्ध–मैदानमा उभिएको छु ।
आऊ अगाडि बढ
निर्भीकताका साथ
हरदम मन, वचन र कर्मले
सधैँ म तिम्रो साथमा हुन्छु ।
सलाम छ तिमीलाई
धौलागिरिको शिरबाट
अनि कालिगण्डकीको तिरबाट ।
सलाम छ तिमीलाई
गरिबीले छचल्किएको
मनको कहाली लाग्दो भिरबाट ।
जाग, उठ, बोक झोला
आफ्ना लागि को बाँचेन र यहाँ
तिमी त अरूका लागि बाँच्न
कसम खाएका छौ नि
तक्माको लालसा नगर,
आऊ बस्ती–बस्तीमा आऊ
जुठा भाँडासँग खेल्दै गरेका
अबोध बालबालिकाको
ओठमा मुस्कान जगाऊ ।
सीप नहुनेलाई सीप सिकाऊ
असहायको सहायक वन
लायन्सको मूल्य–मान्यतालाई
आत्मसात् गर ।
लायन्सवादको मैदानमा उत्रिँदा
लागेका चोटको
खोटको पछि नलाऊ ।
आऊ अब
दिनदुःखी र असहायको
कुटी–कुटीमा जाऊ
गरिबीले दिएका उसका
चोटमा मल्हम लगाऊ ।
अनि अभावग्रस्त रापको ताप
छल्न नसकेर निस्सासिएको
उसको आस्था र विश्वास जगाऊ ।
संकटका बेला
मानव–सेवामा समर्पित हुन
कसम खाएको होइन र
कैयौं बस्तीहरूमा
लायन्सवादको अभाव छ रे
पीडाले भिजेको मनलाई
सहयोगी हातको अभाव छ रे
अचम्म त, कतै–कतै
पद–प्रतिष्ठाको रवाफ पोस्ट्याउन
आफन्तलाई दबाब छ रे
ए साथी हो
थला परेछ मानव–सेवा
आऊ उठ, जाग, बोक झोला ।
कहाँ छौ र तिमी
नभमा छौ कि धर्तीमा
अनि आफ्नै चल्तीमा छौ कि
अरू कसैको खल्तीमा
तिमी जहाँ भए पनि
म त यतै कतै
लायन्सवादको युद्ध–मैदानमा
उभिएको छु ।
जित्नका लागि हैन
आफू हारेर पनि
अरूलाई जिताउनका लागि
म त यतै कतै
युद्ध–मैदानमा उभिएको छु ।

प्रतिक्रिया दिनुहोस्