२३ बैशाख २०८१, आईतवार

 

कालीगण्डकी नदीको दोहन रोक्न र सभ्यता जोगाउन युवाहरू एकजुट

कालीगण्डकी नदीको दोहन नरोकिएको भन्दै त्यसलाई रोक्न युवा एकजुट भएका छन् । उनीहरू ‘नदी र यहाँको सभ्यता बचाऊँ अभियान’ नै चलाएर नदी संरक्षणमा जुटेका हुन् ।

म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जालगायत क्षेत्रमा कालीगण्डकी नदीको चौतर्फी दोहन हुन थालेपछि युवाहरू सामाजिक सञ्जालमार्फत नदी र सभ्यता जोगाउने अभियानमा लागेको अभियन्ता आरके अदीप्त गिरीले बताए ।

‘मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएका नदी, खोलाबाट गिट्टी, ढुंगा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति, वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था सिर्जना भएकाले अभियान सुरु गर्नुपरेको हो,’ गिरीले भने, ‘नदीमा डोजर चलाएर अवैध रूपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन हुने क्रम बढ्दै गएकाले अभियानले त्यसलाई रोक्न पहल गर्नेछ ।’

नेपालको पुरानो सभ्यतामध्ये एक कालीगण्डकी सभ्यता पनि हो । कालीगण्डकी नदीमा विश्वकै दुर्लभ शालिग्रामसमेत पाइन्छ । हिन्दू धर्मावलम्बीले पवित्र तीर्थ मान्ने कालीगण्डकी नदी पछिल्लो समय अवैध दोहनको सिकार भइरहेको छ ।

त्यसलाई रोक्ने दायित्व भएका सरकार र सरोकारवाला निकाय मूकदर्शक बनिरहेको अभियानले जनाएको छ ।

मनपरी दोहनकै कारण यहाँ शालिग्राम लोप हुने अवस्थामा पुग्न थालेको छ भने नदीले धारै परिवर्तन गर्दा बेनीबजार, मालढुंगालगायत बस्ती कटानको जोखिममा छन् ।

अभियन्ता गिरीले नदीमा अवैध उत्खनन रोक्न र कालीगण्डकी सभ्यता बचाउनका लागि जुट्न युवालाई आह्वानसमेत गरेका छन् ।

सरकारले नदी ठेक्कामा दिएर सभ्यता मास्न लागेको भन्दै गण्डकी प्रदेशको नामसँग जोडिएको कालीगण्डकी र यहाँको सभ्यता जोगाउन स्थानीय, प्रदेश र संघ सरकारले ध्यान दिनुपर्नेमा युवाहरूले जोड दिएका छन् ।

‘जनप्रतिनिधिहरू नै नदी दोहन कार्यमा अप्रत्यक्ष रूपमा संलग्न हुनु, स्थानीय, प्रदेश र संघ कुनै सरकारले पनि अवैध उत्खनन भएका क्षेत्रको अनुगमन नगर्नु थप चिन्ताको विषय भएको छ,’ गिरीले भने, ‘कालीगण्डकीको दोहन नरोकिनु भनेको हाम्रा सन्ततिको गला निमोठ्नु हो ।’

गण्डकी प्रदेश सरकारको २०७८,०७९ को नीति तथा कार्यक्रममा ढुंगागिट्टी र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनलाई वातावरणमैत्री बनाउन आवश्यक समन्वय गरिने उल्लेख छ ।

ठेक्कामा दिइएका नदीबाट मापदण्डविपरीत ढुंगागिट्टी संकलन भइरहँदा पनि अनुगमन नहुनु चिन्ताको विषय भएको विज्ञ बताउँछन् । नदीबाट दोहन अधिक गर्ने तर संरक्षणका क्षेत्रमा कामै नभएको उनीहरूको आरोप छ ।

तस्बिरः आरके अदिप्त गिरी

प्रतिक्रिया दिनुहोस्