१७ बैशाख २०८१, सोमबार

 

अमेरिकामा विद्युतीय गाडीको कानुनमा बागलुङका डा. सजग पौडेलको अनुसन्धान समावेश

बागलुङ । अमेरिकी सरकारको विद्युतीय गाडीहरूको मापदण्डको औपचारिक कानुनमा नेपाली युवाको अनुसन्धानलाई समावेश गरेको छ । अमेरिकी सरकारले गत साता ह्वाइट हाउसबाट शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्त गर्नको लागि सन २०२७ पश्चातका विद्युतीय गाडीहरूको मापदण्डको औपचारिक कानुन पारित गरेको हो ।

सो कानुन ल्याउँदा सम्बन्धित विषयका विज्ञबाट वैज्ञानिक पुष्टी हुने प्रमाणित शोधका रुपमा बागलुङ नगरपालिका-३ का डा.सजग पौडेलको अनुसन्धानलाई कानुनमा समावेश गरेको हो ।

विद्युतीय गाडीहरूको चार्जिङ स्टेशनहरू सम्बन्धित सरकारद्वारा प्रकाशित हजार पृष्ठ लामो कानुनको एउटा हिस्सामा वैज्ञानिक अध्ययन मध्य डा पौडेलको अनुसन्धानलाई मान्यता दिएको छ । आफ्नो अनुसन्धानका धेरै पत्रहरु मध्य पहिलो पटक यो अनुसन्धान एक सर्वोच्च प्लेटफर्ममा समाहित भएको डा। पौडेलले बताउनु भयो।

संयुक्त राज्य ऊर्जा विभागको नीति सम्बन्धित कार्यलय तथा आर्गन नेशनल ल्याबबाट पौडेल सहभागी भएका थिए । छोराको सफलताले परिवार मात्र नभई सिंगो नेपाली जगतको शिर उचो गरेको पौडेलका बुबा जगदिशचन्द्र उपाध्यायले बताउनु भयो । नेपालबाट प्रतिनिधित्व गरेर अमेरिकाको कानुन निर्माणमा डा. पौडेलले प्रतिनीधित्व गर्न सफल भएको उपाध्यायले बताउनु भयो ।

छोराको प्रयासले अमेरिकाको कानुन निर्माणको क्षेत्रमा स्थान पाउनुले सबै नेपालीको लागि गौरवको विषय भएको बताउनु भयो । सानै उमेरदेखि अध्ययनमा लगनशिल पौडेलले सन् २०१० मा आदर्श विद्यामन्दिर आवासिय माविबाट एसएलसी दिएका थिए ।

उनले पेन्टागन इन्टरनेशनल स्कूल काठमाण्डौबाट कक्षा १२ उत्रिर्ण गरेका थिए । भारतको बैंगलोरबाट सन् २०१६ मा मेकानिकल इन्जिनियरिङ पास गरेका पौडेलले सन् २०१८ मा कानपुर भारतमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम।टेक एरोस्पेस इन्जिनियरिङ् अध्ययन गरेका थिए ।

पिएचडी गर्न सन् २०१८ मा उनी विद्यार्थी भिसामा अमेरिका गएका थिए। उनले अहिले अध्ययन सकेर आर्गन नेशनल ल्याबमा रिसर्चको काम गरिरहेका डा. पौडेलकी आमा शकुन्तला शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्