१६ बैशाख २०८१, आईतवार

 

बागलुङ नगर र कुश्मा नगरद्वारा फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता

बागलुङ । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन्।

सोमबार बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कंपनीसँग प्रारम्भिक सम्झौता एमओई भएको हो । यो सम्झौता अनुसार नकुहिने फोहोरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्राउने लक्ष्य छ ।

कोरियाको वातावरण विभागअन्तर्गतको ‘एएलके इसिओ’ कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जंग डेटोङ तथा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले संयुक्त हस्ताक्षर गरेका हुन् । विशेष गरि फोहोर व्यवस्थापनमा उक्त कंपनीले जिरो वेस्ट म्यानेजमेन्टमा प्रविधि उपलब्ध गराउने छ ।

साथै प्राविधिक सीपका लागि पनि तालिम दिने भएको हो । उक्त कम्पनीले फोहोर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई विक्री गर्ने, कम्पनीले ३ वर्ष निशुल्क सर्भिस दिने तथा आवश्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यवहारिक रुपमा ज्ञान दिनेछ ।

नगरपालिकाको प्राविधिक कोरिया पठाएर मेसिन चलाउने तालिम समेत पाउनेछन् । केही समय कोरियाका प्राविधिकले फिल्डमै आएर मेसिन चलाउने तालिम समेत दिनेछन् ।

हाल बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहोर फाल्दै आएको छ । कुश्मा नगरपालिकाले पनि बागलुङ पोखरा सडकको छमर्के नजिकै फोहोर फाल्दा दुर्गन्ध फैलिएको छ ।

दुवै नगरका डम्पिङ साइट सडक छेवैमा छन् । २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । अहिले भने स्थान फेरेर बानपा १ को खुर्तुर्के भन्ने स्थानमा फाल्दै आएको छ ।

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा झन समस्या उत्पन्न भएको छ । अब भने नगरपालिकलो कुहिने र नकुहिने फोहोर छुट्टै निकाल्ने व्यवस्थापन गर्ने भएको हो । उक्त मेसिनमा ढुंगा, सिसा र फलामजन्य वस्तुबाहेक सबै नष्ट पार्न सकिन्छ ।

कुहिने फोहोर कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरको बढीमा ३ प्रतिशत खरानी बन्ने विधिले जलाउने भएको हो । न्युनतम विद्युतको खपतमै १ हजार १ सय डिग्री तापक्रमबाट फोहोर नष्ट हुन्छ । तर त्यसबाट धुँवा र धुलो समेत नहुने बताइएको छ । साथै कार्बन उत्र्सजन पनि नहुने बताइएको छ ।

दैनिक १ टन प्लाष्टिक जन्य वस्तु जलाउने मेसिन ६० लाख र मासिक ३ टन सम्मको फोहोर जलाउने मेसिन १ करोड १७ लाख रुपैयाँ सम्म लाग्ने कम्पनीका प्रतिनिधिले बताएका छन् । बागलुङ नरपालिकाले दैनिक ६ टनसम्म फोहोर निस्कासन गर्ने भएकोले प्लाष्टिकजन्य वस्तु नै साँढे २ टनसम्म हुने अनुमान गरेर ठूलो मेसिन खरिद गर्ने भएको हो । कुश्मा नगरपालिकाले भने सानो मेसिनका लागि तयारी गरेको जोशीले बताए ।

बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षका लागि फोहोर व्यवस्थापनका लागि १ करोड २० लाख रकम विनियोजन गरेको छ । उक्त रकमबाटै यो व्यवस्थापन गर्ने लक्ष राखेको छ । चार महिनाभित्र कोरियाबाट प्रविधिसहित मेसिन ल्याएर जडान गर्न सकिने कम्पनीका नेपाली प्रतिनिधि विष्णु ढुंगानाले बताए ।

यो प्रविधि संचालन आएपछि प्लाष्टिकजन्य फोहोर पुरै हटाउन सकिनेछ । वर्षेनी डम्पिङ साइट व्यवस्थापनका लागि खर्च हुने डेढ करोड बढी रकमबाट २५ देखि ३० प्रतिशतको खर्चमा व्यवस्थापन गर्न सकिने इन्जिनियर दिपेन्द्र भण्डारीले बताए ।

यो कार्यक्रम भएपछि फोहर व्यवस्थापन र वातावरण संरक्षणमा ठूलो फड्को हुने बागलुङ नगरपालिकाका नगरप्रमख बसन्त कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्