१९ बैशाख २०८१, बुधबार

 

गलकोट समाजद्वारा जापानमा रक्तदान कार्यक्रम सम्पन्न

गलकोट समाज जापान एनपिओ होउजिन ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका टोकियो, नागोया, नागानो र फुकुओकामा मंगलबार सम्पन्न वृहत रक्तदान कार्यक्रममा १ सय भन्दा बढिले रक्तदान गरेका छन ।

सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम,अभियान र सहयोग गरेर जापानमा क्रियाशील संस्थाहरू माझ छुट्टै पहिचान बनाएको समाजले जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गर्दै आयोजना गरिएको सो कार्यक्रममा चार वटा क्षेत्रमा गरेर १ सय चार जनाले रक्तदान गरेको समाजका अध्यक्ष यम खत्रीले जानकारी दिए ।

जापानमा कोभिड(१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रमहरु स्थगन भएको र रगत व्यवस्थापनमा रगत संकलनको मात्रामा कमि देखिएको र रगतको व्यवस्थापनमा सहयोग गर्न इच्छुक रक्तदाताहरुलाई अनुरोध गर्दै बिभिन्न सामाजिक संजालमा तस्बिर सार्वजनिक भैरहेका कुरालाई मध्यनजर गर्दै समाजले गरेको वृहत रक्तदान कार्यक्रम उत्साहजनक सहभागिता देखिएबाट आगामी दिनमा यस्ता कार्यक्रम गर्न उत्साहित बनाएको समाजका महासचिव नवीन निउरेले बताए ।

समाजका क्षेत्रीय समितिको व्यवस्थापन र केन्द्रीय समितिको आयोजनामा सम्पन्न वृहत रक्तदान कार्यक्रम अन्तरगत कान्तो क्षेत्रीय समितिले टोकियोको 〒101-0021 Tokyo, Chiyoda City, Sotokanda, 1 Chome−16−9 朝風二号館ビル 5階 मा गरेको रक्तदान कार्यक्रममा गलकोटका साथै नेपालका विभिन्न ज़िल्लाबाट जापानमा रहेका ४३ जनाले जापानको रक्तदान नीति अनुरूप आफ़नो रगत दान गरेको कान्तो क्षेत्रीय समितिका सचिव दिनेश थापाले बताए ।

नागोया क्षेत्रीय समितिको व्यवस्थापनमा नागोयाको  〒460-0008 Aichi, Nagoya, Naka Ward, Sakae, 3 Chome−3−15-33 栄ガスビル9F  मा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्न इच्छुक धेरै नेपालीको उपस्थिति रहेपनि जापानको रक्तदानको मापदण्ड अनुरूप केहिमा समस्या देखापरेपछि जम्मा ३८ जनाले मात्र रक्तदान कार्यक्रममा सहभागिता जनाउन सकिएको क्षेत्रीय अध्यक्ष रामु थापा क़ाज़ीले जानकारी दिए ।

फुकुओकामा आज नै सम्पन्न वृहत रक्तदान कार्यक्रममा १४ जना नेपाली दाजुभाइ दिदीबहिनीको सहभागिता रहेको समाजका सल्लाहकार टंक गैरेले जानकारी दिए । त्यसैगरि नागानोमा भएको रक्तदान कार्यक्रममा ७ जनाले रगत दान गरेको क्षेत्रीय संयोजक गीता बस्नेतले बताइन ।

रक्तदान कार्यक्रममा सहभागीहरूलाई समाजको तर्फबाट रक्तदान केन्द्रमा नै प्रमाण पत्र प्रदान गरिएको थियो । टोकियोमा रक्तदान कार्यक्रमको व्यवस्थापन र सरोकावाला पक्षसँग समन्वयकारी भूमिका निर्वाह गरेर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सामाजिक अभियन्ता सरोज खत्रीलाई संस्थाको तर्फबाट वरिष्ठ उपाध्यक्ष कालिका थापाले धन्यवाद व्यक्त गरिन ।

साथै थापाले यस कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिका सदस्य, सल्लाहकार, संरक्षक, क्षेत्रीय समिति,पत्रकार स्थान उपलब्ध गराउने सरोकारवाला निकाय, रक्तदान गर्ने सहभागी सबैलाई संस्थाको तर्फबाट आभारसहित धन्यवाद व्यक्त गरिन ।

कसैको ज्यान बचाउन डाक्टर नै बन्नु पर्छ भन्ने छैन वास्तवमै रक्तदाताहरु भगवानका अर्को रुप हुन भन्ने कुरालाई आत्मसात गरेर रक्तदान कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै सहभागीले हामीले दान गर्नु भएको १ युनिट रगतले ३ जनाको ज्यान बच्न सकोस भन्ने शुभेक्क्षा व्यक्त गरे ।

जापानका ओसाका, सोजुओका लगायतका शहरमा समेत यहि महिना भित्रमा नै रक्तदान कार्यक्रम गरिने पनि अध्यक्ष खत्रीले जानकारी दिए । त्यस क्षेत्रका क्षेत्रीय समितिसँगको आवश्यक परामर्शमा मिति र स्थान तय गरिने पनि खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्