२२ बैशाख २०८१, शनिबार

 

गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिद्वारा रक्तदान कार्यक्रम, ४४ जना सहभागी

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा वृहत रक्तदान गर्ने कार्यक्रम अन्तर्गत बिहिबार ओसाकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट समाज कान्साइ क्षेत्रीय समितिको व्यवस्थापनमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म संचालन भएको वृहत रक्तदान कार्यक्रम ओसाकाको ओसाका सी जोतो कु मोरिनोमिया २-४-४३ (Osaka shi Joto ku Morinomiya 2-4-43) मा ४४ जना भन्दा बढिले रक्तदान गरेका छन ।

सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम,अभियान र सहयोग गरेर जापानमा क्रियाशील संस्थाहरू छुट्टै पहिचान बनाएको समाजले जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गर्दै आयोजना गरिएको सो कार्यक्रममा कान्साइ क्षेत्रका गलकोटेसहित नेपाली दाजुभाइ दिदीबहिनीले रक्तदान गरेको क्षेत्रीय समितिका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।

जापानमा कोभिड-१९ कोरोनाले गर्दा रक्तदान कार्यक्रमहरु स्थगन भएको र रगत व्यवस्थापनमा रगत संकलनको मात्रामा कमि देखिएको र रगतको व्यवस्थापनमा सहयोग गर्न इच्छुक रक्तदाताहरुलाई अनुरोध गर्दै बिभिन्न सामाजिक संजालमा तस्बिर सार्वजनिक भैरहेका कुरालाई मध्यनजर गर्दै समाजले गरेको वृहत रक्तदान कार्यक्रम उत्साहजनक सहभागिता देखिएबाट आगामी दिनमा यस्ता कार्यक्रम गर्न उत्साहित बनाएको समाजका महासचिव नवीन निउरेले बताए ।

वृहत रक्तदान कार्यक्रममा रक्तदान गर्न इच्छुक ६५ जना नेपालीको उपस्थिति रहेपनि जापानको रक्तदानको मापदण्ड अनुरूप केहिमा समस्या देखापरेपछि जम्मा ४४ जनाले मात्र रक्तदान कार्यक्रममा सहभागिता जनाउन सकिएको समाजका उपाध्यक्ष सुमित खत्रीले जानकारी दिए ।

रक्तदान कार्यक्रममा सहभागीहरूलाई समाजको तर्फबाट रक्तदान केन्द्रमा नै प्रमाण पत्र प्रदान गरिएको थियो । ओसाकामा रक्तदान कार्यक्रमको व्यवस्थापन र सरोकावाला पक्षसँग समन्वयकारी भूमिका निर्वाह गरेर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने एनआरएनए जापान कान्साइ क्षेत्रीय समितिका संयोजक दिलिप शर्मासहित कार्यक्रम व्यवस्थापन समन्वय र सहयोग गर्ने जापानी नागरिकसहित नेपाली दाजुभाइदिदीबहिनीलाई संस्थाको तर्फबाट केन्द्रीय सदस्य दिलिप कंडेलले धन्यवाद व्यक्त गरे ।

कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिका सदस्य, सल्लाहकार, संरक्षक, क्षेत्रीय समिति,पत्रकार स्थान उपलब्ध गराउने सरोकारवाला निकाय, रक्तदान गर्ने सहभागी सबैलाई क्षेत्रीय समितिका उपाध्यक्ष कुलविर थापाले आभारसहित धन्यवाद व्यक्त गरे ।

यस अघि समाजले जापानका टोकियो, नागोया, नागानो र फुकुओकामा सम्पन्न वृहत रक्तदान कार्यक्रममा १ सय ४ जना भन्दा बढिले रक्तदान गरिसकेका छन ।रक्तदानमा सहभागी रक्तदाताले कसैको ज्यान बचाउन डाक्टर नै बन्नु पर्छ भन्ने छैन वास्तवमै रक्तदाताहरु भगवानका अर्को रुप हुन भन्ने कुरालाई आत्मसात गरेर रक्तदान कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै सहभागीले हामीले दान गरेको १ युनिट रगतले ३ जनाको ज्यान बच्न सकोस भन्ने शुभेक्क्षा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्