७ जेष्ठ २०८१, सोमबार

 

१८ प्रतिशत ब्याजको लोभले बचतकर्ताको करोडौं रकम जोखिममा

बागलुङ ।  १५, २० वर्ष दुख गरेर कमाएको पैसा बढि व्याज पाउने लोभले इमेज सहकारीमा एक करोड रकम राखे तर अहिले सहकारी बन्द भएको सूचना पाउदा खान पनि मन लाग्दैन र निद्रा पनि लाग्दैन बागलुङ नगरपालिका वडा नं २ धौलागिरि चोकका एक होलसेल व्यवसायीले नयाँ विश्वलाई आफनो दुखेसो पोखे ।

दु;ख गरेर कमाएको रकम जोखिममा

मैले विदेशमा गएर दशौं वर्ष चर्को घाममा कठिन मेहनत गरेर कमाएको २० लाख रुपैयाँ भविष्यमा काम लाग्ला भनि यस सहकारीमा राखेको थिए बर्बाद भयो बागलुङ नगरपालिका वडा नं ३ लालिगुराँस चोकका एक व्यवसायीले बताए ।

यसरी ससाना खुद्रा व्यवसायीदेखि होलसेल व्यवसायी र जेष्ठ नागरिक, उद्योगी, व्यवसायी, गृहनी, वैदेशिक रोजगारबाट युवाहरुले पठाएको रेमिटन्स, सेवा निवृत्त शिक्षक, कर्मचारी र बालबालिकाहरुका करौडौं रकम १६ प्रतिशतदेखि १८ प्रतिशतसम्म व्याज पाउने आशमा बचतकर्ताहरुले जम्मा गरेका थिए ।

कारोवार बन्द भएपछि शुक्रबार पनि सहकारीमा बचतकर्ताको भीड लागेको थियो । सहकारीमा भीड धेरै भएपछि दिनभरी प्रहरीले सुरक्षा दिएका थियो । धेरै बचतकर्ताहरुले ३, ४ वर्षमा डबल हुन्छ भन्ने लोभमा करोडौं रकम मुद्धति खातामा राखेका थिए ।

इमेज सहकारीमा बचतकर्ताहरुले ससाना रकमदेखि ५ लाख, १० लाख, २० लाख, ४० लाख, एक करोडदेखि सात करोडसम्म बचत गरेको खुलासा भएको छ । सहकारीको नियम विपरित अध्यक्ष र संचालकले आफू खुशी रकम  दुरुपयोग गर्दा शेयर सदस्य र बचतकर्ताहरुले राखेको करौडौं रकम जोखिममा परेको छ ।

बचतकर्ताहरुको रकम सहकारीको र आफनो अचल सम्पत्ति बेचेर भएपनि तिर्ने वक्तव्य अध्यक्ष देव कुृमार नेपालीले प्रकाशित गरे पनि करोडौं रकम तिर्न सक्ने अवस्था बारे प्रश्न उठेको छ भने बचतकर्ता ढुंक्क हुन सकेको छैन ।

सहकारीको रकम नियम विपरित संचालकबाट दुरुपयोग

सहकारी समस्याग्रस्त हुनुको कारण खराब कर्जा बढ्नुको साथै गैरसेयर सदस्यसँग बढी कारोबार गर्नु पनि हो । अध्यक्ष देव कुमार नेपालीले काठमाडौं, पोखरा, बागलुङ र बुर्तिवाङमा करौडौं रकम लगानी गरेर बनाएका घरमा सहकारीको लगानी भएकोले सहकारीमा नगद अभाव भएको आकलन गरिएको छ ।

सहकारीले पोखरा, बागलुङ, गलकोट र बुर्तिबाङ कार्यालयबाट उठाएको अरबौ रकम सहकारीको नियम विपरित कहाँ प्रयोग गर्यो जस्ले गर्दा सहकारीमा तरलताको अभाव देखिएको र सहकारी नै सूचना प्रकाशित गरेर बन्द गर्नु पर्ने अवस्था आयो सरोकारवालाहरुले खोज्नु पर्ने बेला आएको छ ।

सहकारीले सूचना टाँसेर रकम दिन नसकेपछि सहकारीको नाममा रहेको सम्पत्ति, अध्यक्ष र संचालकहरुको सम्पत्तिसमेत रोक्का गर्नु पर्ने माग शेयर सदस्य र बचतकर्ताहरुले गर्न थालेका छन् ।

अन्य सहकारीमा पनि समस्या आउन सक्ने

शिव शिखर सहकारी र इमेज सहकारी समस्याग्रस्त हुँदा बचतकर्ताहरुले अन्य सहकारीको चल्ती वचतमा राखेका रकम समेत झिक्न थालेका छन् ।यसले गर्दा अन्य सहकारीमा समेत समस्या आउने हो कि भनि आशंका उत्पन्न भएको छ ।

देव कुमार नेपालीले आफूलाई अहिले संस्थाको अध्यक्ष नभइ संस्थापन अध्यक्ष मात्र भएको भनि शुक्रबार वक्तव्य प्रकाशित गरेपनि गत २४ पुषमा बागलुङ बजारमा भएको सहकारीको १० औं साधारणसभाको अध्यक्षता उनले आफै गरेका थिए ।

साधारणसभामा सहकारीले सेयर सदस्य र बचतकर्तालाई प्रतिवेदनसमेत दिएको थिएन ।सहकारीका अध्यक्ष देवकुमार नेपाली ढोरपाटन नगरपालिकाका नगर प्रमुख पनि हुन् ।

बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको इमेज सहकारीले बैशाख ६ गते संचालक समितिको बैठकको निर्णय अनुसार सहकारीका कार्यबहाक अध्यक्षले देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि कारोवार बन्द गरिएको सूचना प्रकाशित गरेपछि बचत डुब्ने डरले बैशाख ७ गतेदेखि बचतकर्ताहरुले सहकारीको कार्यालय घेराउ गरेका थिए ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङ र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गरेको छ ।यस्तो संकटको बेला बागलुङको विभिन्न सहकारी संघ संस्थाहरुको नेतृत्वहरु मौन देखिनु लाजमर्दो अवस्था हो ।

शेयर सदस्य र बचतकर्ताकोे रकमको सुरक्षा बारेमा हामी चिन्तित छौं – प्रजिअ श्रेष्ठ

अहिलेको घटनाक्रमलाई हामीले नजिकबाट अध्ययन गरि रहेका छौं । शेयर सदस्य र बचतकर्ताकोे रकमको सुरक्षा कसरी गर्न सकिन्छ त्यसको बारेमा सरोकारवालाहरुसँग हामी संवाद पनि गर्छौ र अप्रिंय घटना नहोस पनि हामी सचेत पनि छौं जिल्ला प्रशासन कार्यालय बागलुृङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।

सहकारीको नियमन फितलो हुँदा संचालकले आफूखुशी लगानी गरिरहेका छन्। सहकारीको नियम विपरित उनीहरुले छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा  लगानी गर्दा शेयर सदस्य र बचतकर्ताहरुको अरबौ रकम डुब्ने गरेको छ।डुबेका अधिकांश सहकारीको व्यापार, उद्योग, घरजग्गा र सेयरमा धेरै लगानी देखिएको छ। शेयर मार्केट र घरजग्गामा लगानी गरेको रकम कारोबारमा मन्दी आएपछि समस्यामा परे र सहकारीमा तरलताको व्यापक अभाव देखियो ।

प्रतिक्रिया दिनुहोस्