६ जेष्ठ २०८१, आईतवार

 

बचतकर्ताको करोडौं डुब्दा पनि कहाँ छन् बागलुङका सहकारीका अगुवाहरु ?

बागलुङ भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी सस्था देशका अन्य शाखा जस्तै बागलुङ रहेको शाखाले बचतकर्ताको बचत फिर्ता गर्न नसक्दा समस्याग्रस्त बन्यो । सहकारीमा शेयर रकम र बचत गरी ४० करोडभन्दा बढि रकम राखेका बचतकर्ताले दुई महिना बितिसक्दा पनि सहकारीबाट बचत फिर्ता पाउन सकेका छैनन् ।

पछिल्लो समय देश भर सहकारी डुब्न थालेको, सञ्चालकहरू पक्राउ परेको, भागेको समाचार आईरहेको सन्दर्भमा बागलुङ बजारमा संचालित इमेज बचत तथा ऋण सहकारीले तरलता अभाव भएको भन्दै कारोबार बन्द गरेपछि बागलुङका बचतकर्ताहरुको निद्रा हराएको छ ।

बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको सहकारीले गत ७ गते बिहिबार एकाएक कारोबार बन्द गरेको सूचना निकालेपछि बचत डुब्ने डरले बचतकर्ताहरूले हल्लन चोकको कर्मा कम्प्लेक्समा रहको सहकारी घेराउ गरेका थिए । बचतकर्ताहरुको आक्रोशित भिडले शुक्रबार पनि सहकारी घेराउ गरेका थिए ।

अप्रिय घटना नहोस भनि ७ गतेदेखि जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी परिचालन गरेको छ ।जिल्लाबासीको करोडौं रकम जोखिममा परेको बेला बागलुङमा रहेका सहकारी संघसंस्थाका अगुवा भने उदासिन देखिन्छन् ।

यस अघि सहकारीको अवस्था राम्रो रहेको बेला सहकारीका साधारण सभा होस या सहकारीका दिवस तथा पर्वहरुमा अग्रपक्तिमा देखिने र चर्को भाषण गर्ने सहकारी संघ संस्थाहरुका नेताहरु शेयर सदस्य र बचतकर्ताहरुको करोडौं बचत रकम जोखिममा परेको बेला नत संयुक्त रुपमा समस्या समाधान गर्न अगाडि सरेका छन् नत सहकारीलाई दुरुपयोग गर्ने संचालकहरुलाई नै जिम्मेवार बनाउन सकेका छन् ।

सहकारीहरू समस्याग्रस्त हुँदा पनि सहकारी अभियानको नेतृत्व गरिरहेका बागलुङका आधा दर्जन संघ सस्थाका नेतृत्व गुमनाम छन् ।

बागलुङमा जिल्ला सहकारी संघ, जिल्ला वचत तथा ऋण सहकारी संघ, जिल्ला बहुउदेश्यीय सहकारी संघ बागलुङ , जिल्ला कृषि सहकारी संघ बागलुङ, जिल्ला स्वास्थ्य सहकारी संघ बागलुङ लगाएतका सस्थाहरु छन् । संघ गठन गर्दा नेतृत्वमा बस्न र पदमा पुग्न मरिहत्ये गर्ने व्यक्तिहरु सहकारीमा संकट आउदा नत सडकमा देखिन्छन नत समस्या समाधानमा अधिकार प्राप्त निकायसँग गहन छलफल नै गर्छन ।

उनीहरुले सर्वसाधारण हजारौं नागरिकहरुको बचत जोखिममा परेको विषयलाई गम्भीरता पूर्वक लिनुको सट्टा वक्तव्य निकालेर पन्छिने काम गरेको छ । जिल्ला सहकारी संघ बागलुङले गत शुक्रबार एक विज्ञप्ती निकालेर ध्यानाकर्षण भएको जनाए पनि यसले समस्या समाधान गर्न सहकारी विभाग, स्थानीय पालिका र प्रहरी प्रशासनसँग औपचारिक वार्ता थालेको छैन् ।

सहकारीको रकम आफूखुशी छिटो मुनाफा हुने क्षेत्रमा नियम विपरित लगानी गरेको र त्यसलाई ढाकछोप गर्न उनीहरुले नेपालको अर्थतन्त्रमा समस्यामा कारण देखाएर समस्यामा परेका सहकारीका संचालकहरु पन्छिने गरेका छन् ।सहकारी ऐन नमान्नेहरुमा सहकारीका अगुवा भन्न रुचाउनेहरु नै अग्रपक्तिमा रहेका छन् ।

अगुवाहरुले नै ऐन नमानेपछि संस्थामा बिकृति मौलाउँदै गएको प्रष्ट देखिएको छ ।सहकारी सञ्चालकले मनलाग्दी सहकारीबाट आफ्नो नाममा ऋण लिने, शेयर बजार र घरजग्गामा लगानी गर्ने सहकारी ऐन २०७४ विपरीत काम गरेपछि अधिकांश वित्तीय कारोबार गर्ने सहकारीहरु अहिले समस्यामा परिरहेका छन्।

इमेज सहकारीका अध्यक्ष देव कुमार नेपालीले काठमाडौं, पोखरा, बागलुङ र वुर्तिवाङ बजारमा करोडौं रकम घरजग्गामा लगानी गरेका छन् जस्ले गर्दा इमेज सहकारीमा तरलताको अभाव देखिएको हो ।बागलुङ जिल्लामा पनि एकाध संस्थाहरूको समस्याका कारण राम्रो काम गरेका सहकारीप्रति नै विश्वासमा कमी आउन थालेको छ ।

सहकारीका जिम्मेवारी संघ–संस्थाहरुले समयमै सहकारीका संचालकहरु, शेयर सदस्यहरु र बचतकर्ताहरुलाई जोखिम न्युनिकरण गर्नको लागि आवश्यक सल्लाह, सुझाव र समन्वय गर्न सक्थ्यो  तर त्यस तर्फ नेतृत्वको ध्यान गरेको छैन्। धेरै सहकारीका संचालकहरुले सहकारीको पैसा, सम्पत्ति, जनशक्ति दुरुपयोग गरेको पाइएको छ । लामो समय एकै व्यक्ति र उनका नजिकका मानिसहरु सहकारीको नेतृत्वमा बस्दा पनि समस्या मौलाएको छ ।

उनीहरु पारदर्शि नहुँदा सहकारी विस्तारै समस्यामा परेका छन् भने सहकारीका संचालकहरुले आफूखुशी सहकारी ऐन २०७४ विपरित गैर शेयर सदस्यहरुसँग कारोबार गर्दा र कर्जा लगानी गर्दा खराब कर्जा बढेर गएको छ । प्राय सहकारीका संघसंस्थाहरु गठन र नेतृत्व परिवर्तन गर्दा राजनीतिक दलहरुको व्यापक हस्तक्षेप हुने गरेको छ ।

बागलुङ जिल्लाको दश वटै पालिकाहरुमा ४ सय ५० वटा सहकारी क्रियाशिल रहेका छन् । बागलुङ बजारमा एक सयभन्दा बढि सहकारी छन् ।बागलुङ नगरपालिकामा रहेका सहकारी शाखामा बजेट र जनशक्तिको अभावले गर्दा सहकारीहरुको नियमन र निगरानी गर्न सकेको छैन् ।

 

 

प्रतिक्रिया दिनुहोस्