६ जेष्ठ २०८१, आईतवार

 

सहकारी ऐन विपरित देवकुमार नेपाली २ वटा सहकारीका अध्यक्ष, २ अर्ब हिनामिना

बागलुङ ।  इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताहरुको २ अर्ब रुपैयाँ हिनामिना गरि फरार भएका छन् ।

पोखराको महानगरपालिकामा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर सेयर सदस्यका र बचतकर्ताका २ अर्ब अपचलन गरेको गण्डकी प्रदेशको सहकारी विभागका रजिष्ट्रार रोशन अर्यालले नयाँ विश्वलाई बताउनुृ भयो ।

अध्यक्ष नेपालीलाई पक्राउ गर्न सिआइविलाई पत्राचार

हामीले पोखरा, बागलुङ बजार र बुर्तिबाङ बजारमा रहेको अध्यक्ष नेपाली र सहकारीको नाममा रहेको घर जग्गा रोक्का राख्न भूमि व्यवस्था विभागमालाई पत्राचार गरेका छौं । संगठित ठगी भएको भन्दै अध्यक्ष नेपालीसहित अन्य संचालकहरुलाई पक्राउ गर्नको लागि केन्द्रीय अनसन्धान व्युरो (सिआइवि) लाई पनि पत्राचार गरेका छौं रजिष्ट्रार अर्यालले भन्नु भयो ।

पोखरा र बागलुङ गरेर २ अर्ब हिनामिना

पोखरामा ५ सय बढी बचतकर्ताका ५० करोड रुपैयाँ र ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको बागलुङ बजार, गलकोट हटिया र बुर्तिबाङ बजारमा गरि मात्रै डेढ अर्ब रुपैयाँ बचत रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

इमेज सहकारी पोखराका अपरेशन हेड संगीता थापा मगर र ऋण अधिकृत सुनिल नेपाली पनि सम्पर्कविहिन छन्।सहकारीले वचतकर्ताहरुबाट बागलुङ बजारबाट १ अर्ब ५० करोड रुपैयाँ, गलकोट हटियाबाट १८ करोड र बुर्तिबाङ बजारबाट १२ करोड संकलन गरेको गण्डकी प्रदेशको सहकारी विभागले  गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

गाउँमा रहेका र विदेश गएका बचतकर्ताहरुको थप हिसाब निकाल्न बाँकी रहेको छ ।

।सहकारी ऐन अनुसार एउटा पालिकाभन्दा बाहिर पनि कार्यक्षेत्र बनाउन रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नुपर्छ भने एउटा प्रदेश भन्दा बाहिर कार्यक्षेत्र बनाउन संघीय सरकारको सहकारी विभागमा दर्ता गर्नुपर्ने सहकारी ऐनमा व्यवस्था छ।

सहकारी ऐन विपरित देवकुमार नेपाली २ वटा सहकारीका अध्यक्ष

सहकारी ऐनले एउटै व्यक्ति एकभन्दा बढि सहकारीको संचालक हुन नपाउने व्यवस्था गरेको छ। तर नेपाली दुबै सहकारीका अध्यक्ष हुन्।जनप्रतिनिधी पनि सहकारीको संचालक हुन नपाउने कानुनी व्यवस्था छ ।

२०७४ मा स्थानीय तहको निर्वाचनपछि ढोरपाटन नगरपालिकाको मेयर बनेका नेपालीले त्यसपछि सहकारीको संचालक पद छाड्नुपर्थ्यो।उनले २०७९ मा दोश्रो पटक मेयरमा निर्वाचित भएपछि पनि सहकारीको संचालकबाट राजिनामा दिएका थिएनन् ।

संचालकहरु अहिलेसम्म किन पक्राउ पर्न सकेन ?

बचतकर्ताहरुले अध्यक्ष नेपाली र अन्य संचालकहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरी र प्रशासन गम्भीर नभएको गुनासो गरेका छन्।

पीडितहरु दिनहुँ प्रहरी र प्रशासनमा धाइरहेका छन्। एउटा कार्यालयले अर्को कार्यालयलाई देखाएर तर्किने गरेको पीडितहरु बताउछन् ।सर्वसाधारण बचतकर्ताको करोडौं रकम डुब्ने अवस्था आउनुमा सहकारीको फितलो कानुन र राज्यका नियमनकारी निकाय पनि उत्तिकै जिम्मेवार भएको पीडितहरु बताउछन् ।

बचतकर्ताहरुको अरबौं रकम हिनामिना गरि संचालक फरार भएको दश दिन वितिसक्दा पनि एक जना संचालक पक्राउ पर्न नसक्दा बचतकर्ताहरु निरास भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङले अध्यक्ष नेपालीसहित सबै संचालकहरु भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन गृहलाई र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको थियो ।

सोहि पत्र अनुसार जेठ ७ गते गृह मन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलले अध्यक्ष देवकुमार नेपालीसहित कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाहीहरुको यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकाबाट भाग्न सक्ने भएकोले रोक्नको लागि प्रहरी परिचालन गरिएको थियो ।इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर नेपाली सपरिवासहित सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएका थिए ।

जनप्रतिनिधि, सरकार र राजनैतिक दलहरुका नेतृत्वप्रति पीडितहरुको तिब्र आक्रोश

जेठ ७ गते अध्यक्ष नेपालीसहित अन्य संचालकहरु भाग्न सक्ने आशंका गरी वचतकर्ताहरुले उनीहरुलाई पक्राउ गरी बचतको रकम सुरक्षित ढंगले फिर्ता गर्ने वातावरण बनाई दिन जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका थिए ।सर्वसाधारण जनताहरुको अरबौं रकम जोखिममा पर्दा पनि जनप्रतिनिधि, सबै तहको सरकार र राजनैतिक दलहरुका नेतृत्वले यस विषयमा खासै चासो दिएका छैनन् ।

पीडितहरुमा जनप्रतिनिधि, सरकार र राजनैतिक दलहरुका नेतृत्वप्रति तिब्र आक्रोश देखिन्छ ।

१८ प्रतिशत व्याज दिने भनेपछि करोडौं रकम सहकारीमा जम्मा

सहकारीले १८ प्रतिशत व्याज दिने भनेपछि ससाना खुद्रा व्यवसायीदेखि होलसेल व्यवसायी, जेष्ठ नागरिक, उद्योगी, व्यवसायी, गृहनी, वैदेशिक रोजगारबाट युवाहरुले पठाएको रेमिटन्स, शिक्षक, कर्मचारी, प्रहरी, विद्यालय, क्लब, मन्दिर, मजदुर, किसान, कर्मचारी, बालबालिकाहरुका करौडौं रकम जम्मा गरेका थिए ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङमा सेवा केन्द्र र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गर्दैै आएको थियो ।

तरलता अभाव भएपछि इमेज सहकारी बैशाखको पहिलो हप्तादेखि नै समस्याग्रस्त भएको थियो । बैशाख ७ गते सहकारीले तरलता अभाव भएको भनि सहकारीले सूचना प्रकाशित गरी कार्यालय बन्द गरेपछि सेयर सदस्य र बचतकर्ताहरुमा आतंक छाएको थियो ।

नियम विपरित आफू खुशी घर जग्गामा लगानी

सहकारीको फितलो नियमन र अनुगमनको फाइदा उठाउदै अध्यक्ष नेपालीले आफूखुशी विभिन्न क्षेत्रमा लगानी गरिरहेका थिए। सहकारीको नियम विपरित उनले घर जग्गा धितो राखेर पनि लगानी गरि रहेको देखिन्छ । छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा बचतकर्ताहरुको अरबौ रकम जोखिममा परेको छ ।

नेपालीले काठमाडौं, पोखरा, बागलुङ बजार र बुर्तिबाङ बजारमा घर जग्गामा लगानी गरेको देखिन्छ। घरजग्गामा लगानी गरेको रकम कारोबारमा मन्दी आएपछि समस्यामा परेको र सहकारीमा तरलताको व्यापक अभाव देखिएपछि नेपालीसहित अन्य संचालकहरु भागेका छन् ।

प्रतिक्रिया दिनुहोस्