१९ बैशाख २०८१, बुधबार

 

भूकम्प प्रभावित क्षेत्रमा बडिगाड गाउँपालिकाले पठायो स्वास्थ्य सामाग्रीसहितका स्वास्थ्यकर्मी

बागलुङ । रुकुम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका नागरिकहरुको उद्धार तथा उपचारका लागि बागलुङको बडिगाड गाउँपालिकाले स्वास्थ्य सामग्रीसहितको स्वास्थ्यकर्मी पठाएको छ ।

प्रभावित क्षेत्रमा मानविय सहायता पुर्‍याउने उद्देश्यले गाउँपालिकाले स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाएको हो ।

भूकम्पबाट प्रभावित रुकुम र जाजरकोट लगायतका क्षेत्रका नागरिकहरुको उपचारका लागि पालिकाका स्वास्थ्यकर्मीहरु स्वास्थ्य सामाग्री सहित पठाएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीको नेतृत्वमा डा. कुन्दन कुमार यादव, जनस्वास्थ्य निरीक्षक डिल बहादुर केसी, हेम पुन, हेल्थ असिस्टेन्ट सुदिप रन्जन यादव लगायत स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोट गएको प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा गएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारमा आफू पनि साथमा रहेको बडिगाड गाउँपालिकासँगै रहेको पालिकाले जनाएको छ ।

स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूको उपचारमा सहभागी हुने छन् । देश विपत्तिमा परेको समयमा सबैको साथ र सहयोग अपरिहार्य रहेको भन्दै गाउँपालिका अध्यक्ष थापाले सबै क्षेत्रबाट सहयोग र उद्धार जरुरी रहेको बताउनुभयो ।गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशलमव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्