२३ बैशाख २०८१, आईतवार

 

बडिगाड गाउँपालिकामा छातीको एक्सरेद्वारा क्षयरोग परीक्षण

बडिगाड । बागलुङको बडिगाड गाउँपालिकाले बागलुङमै पहिलो पटक छातीको एक्सरेद्वारा निःशुल्क क्षयरोग परीक्षण शिविरको सुरुवात गरेको छ । ३ दिने शिविरको सोमबार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उद्घाटन गर्नुभएको हो ।

क्षयरोगी खोजपड्ताल कार्यक्रम अन्तर्गत आयोजित शिविरको पहिलो दिन आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्बाङमा ५ वडाका नागरिकले सेवा लिएका छन् । क्षयरोग जोखिमको हिसाबले जिल्लामै उच्च स्थानमा रहेको गाउँपालिकाले क्षयरोग निर्मुल अभियान अन्तर्गत शिविरको आयोजना गरेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

क्षयरोगी पहिचान गरी उनीहरुको औषधोपचारसँगै पालिकालाई क्षयरोग मुक्त बनाउने अभियान स्वरुप बागलुङमै पहिलो पटक नविनतम प्रविधिँद्वारा शिविर आयोजना गरिएको उहाँको भनाई छ ।

३ दिन पालिकाभरका नागरिकहरुको क्षयरोग परिक्षण गर्ने गरी आयोजना गरिएको शिविर छुट्टा छुट्टै स्थानमा हुँदैछ । दोश्रो दिन मंगलबार जलजला स्वास्थ्य चौकी र बुधबार भिमगिठे स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिलु केसीले बताउनुभयो ।

पहिलो दिन शिविरबाट ६ सय जनाले सेवा लिएका छन् भने ३२ जनामा क्षयरोग संक्रमण देखिएको उहाँले बताउनुभयो । क्षयरोग पहिचान भएकाहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको छ । शिविरमा छातिरोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरुले सेवा दिनुभएको छ ।

बडिगाड गाउँपालिकामा गत वर्ष ८६ जना क्षयरोगी पहिचान भएका थिए । गाउँपालिकाले घरघरमै पुगेर परिक्षण गरेको थियो ।

गतवर्ष खोजपड्ताल कार्यक्रमबाट उच्च संख्यामा क्षयरोगी पहिचान भएकाले यसवर्ष अझै नविनतम योजनाका साथ निःशुल्क क्षयरोग पहिचान शिविर आयोजना गरिएको केसीको भनाई छ ।

बडिगाड गाउँपालिकासंगै जिल्ला स्वास्थ्य कार्यालय बागलुङले शिविरको आयोजना गरेका हुन् । शिविरलाई प्राविधिक सहयोग जापान नेपाल ट्युबरक्लोसिस रिसर्च एशोशियसन जन्त्रा संस्था र समन्वय क्षयरोग उपचार केन्द्र पोखराले गरेका छन् ।

शिविरमा राष्ट्रिय क्षयरोग केन्द्र काठमाण्डौका क्षयरोग विशेषज्ञ डा प्रमोद भट्टराई, क्षयरोग उपचार केन्द्र पोखराका निर्देशक डा रमेश आचार्य, जापान नेपाल ट्युबरक्लोसिस रिसर्च एशोशियसनका एक्जुकेटिभ डाईरेक्टर रामशरण ज्ञवाली, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्मा, क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको छ ।

बडिगाड गाउँपालिका वडा नं २ दमारकी ७१ वर्षीय मनकुमारी सिंजाली केही समय अगाडि पाल्पामा उपचारका क्रममा जाँदा क्षयरोग भएको थाहा पाउनुभयो । उहाँले नियमित रुपमा औषधी सेवन गर्दै आउनुभएको थियो ।

क्षयरोग परिक्षणका लागि पुन उहाँ पाल्पा जाने तैयारीमा हुनुहुन्थ्यो तर गाउँपालिकाले आफ्नै गाउँमा शिविर आयोजना गर्दै गरेको थाहा पाएपछि उहाँ सोमबार गाउँपालिकाको उक्त शिविरमा पुग्नुभयो । क्षयरोग परिक्षणपछि डाक्टरले रोग निको भएको बताउनु भयो ।

खुसी हुँदै सिंजालीले भन्नुभयो “डाक्टरले रोग छैन भन्नुभयो, यसअगाडि कति खर्च गरेर पाल्पा गएकी थिएँ । अहिले यहीँ सेवा पाएँ हामीले खोजेको यस्तै सेवा त हो ।”

खर्बाङमा शिविर हुने थाहा पाएपछि छिमेकी पालिका गुल्मीको मुसिकोट नगरपालिकाबाट चेकजाँचका लागि पुग्नुभएका ७९ वर्षीय हेमनाथ सापकोटाले छिमेकी जिल्लाको पालिकाले आयोजना गरेको शिविरबाट सेवा लिन पाउँदा खुसी लागेको बताउनुभयो ।

उहाँले यस्तै शिविर समय समयमा गाउँपालिकाले आयोजना गरिराख्न सुझाव दिँदै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

क्षयरोग निर्मुलको अभियानमा पालिका

बडिगाड गाउँपालिकाको प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखिएको क्षयरोग निर्मुल पार्ने अभियानमा बडिगाड गाउँपालिका लागिपरेको छ । जसका लागि गाउँपालिकाले निरन्तर रुपमा खोजपड्ताल कार्यक्रम सञ्चालन गरिरहेको छ । छिटो रोग पत्ता लगाएर छिटो नै रोग निर्मुल पार्नका लागि गाउँपालिकाले नयाँ योजना सहित ३ दिने शिविरको आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बडिगाड गाउँपालिकाले क्षयरोगको अवस्था र त्यसको निर्मुल गर्नका लागि निकै उत्कृष्ट कार्यहरु गरिरहेको बताउनुभयो । गाउँपालिका क्षयरोगका लागि जिल्लामै जटिल अवस्थामा रहेको भन्दै उहाँले गाउँपालिकाले सक्रिय रुपमा कार्य गरेको र जिल्ला स्वास्थ्य कार्यालयले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

शिविरबाट धेरै क्षयरोगी पहिचान भएमा गाउँपालिकाले सोही अनुसार योजना बनाएर अगाडि बढ्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले बताउनुभयो । सन् २०५० सम्म नेपाल सरकारले टिभि फ्रि नेपाल घोषणा गर्ने लक्ष्य राखेकोमा बडिगाड गाउँपालिकाले सन् २०३० सम्म क्षयरोग निर्मुल गर्ने योजना राखेको समेत उहाँले बताउनुभयो ।

जिटिभीनेपालबाट

प्रतिक्रिया दिनुहोस्