२३ बैशाख २०८१, आईतवार

 

बडिगाडमा निःशुल्क आँखा शिविर सम्पन्न

गुल्मी । बागलुङको बडिगाड गाउँपालिकामा २ दिने निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

बडिगाड गाउँपालिकाको आयोजना, नेपाल नेत्र ज्योती संघ बागलुङ, हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा संचालित ग्वालिचौर स्वास्थ्य चौकीमा सुरु भएको शिविरको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन शत्रमा बोल्दै गाउँपालिका अध्यक्ष अधिकारीले पालिका भित्र रहेका नागरिकहरुलाई आँखा सम्बन्धी समस्याको उपचार र निःशुल्क रुपमा मोतियाबिन्दुको अप्रेशन गर्ने उद्धेश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले शिविरले उपचारका लागि कयौँ पैसा खर्च गरेर सहर जान नसक्ने सर्वसाधारण नागरिकलाई ठूलो राहत सहयोग भएको बताउनु भयो ।

निःशुल्क आँखा शिविरमा २ सय ३३ जनाले सेवा लिएको गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक डिल बहादुर केसीले जानकारी दिनुभएको छ । जसमध्ये १ सय ११ जनालाई चस्मा वितरण, १ सय १२ जनालाई औषधी वितरण र ३० जनाको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

शिविरमा डा अनिल अधिकारीको नेतृत्वको टोलीले सेवा दिइरहेको थियो. । आँखा शिविरमा बडिगाड गाउँपालिका संगै छिमेकी ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका र गुल्मीको मुसिकोट नगरपालिकाका स्थानीयहरु समेत पुगेका थिए ।

कार्यक्रममा बडिगाड गाउँपालिका उपाध्यक्ष्य भिमसेन वन, बडिगाड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, वडा न ५ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्य, नेपाल नेत्र ज्योती संघ बागलुङ शाखा धवलागिरी आँखा अस्पताल बागलुङका अध्यक्ष विन्दुसागर राज भण्डारी, अप्थाल्मिक अफिसर गोविन्दराज योगी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्