१८ बैशाख २०८१, मंगलवार

 

ताराखोलामा आर्थिक वर्ष २०८०/०८१ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा आर्थिक वर्ष २०८० र ०८१ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ताराखोला गाउँपालिकाको आर्थिक सहयोगमा ताराखोला मिडिया प्राईभेट लिमिटेडले सार्वजनिक सुनुवाई गरेको हो ।

सो अवसरमा विभिन्न वडाहरुमा गरिएको स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुष्टी ,सेवाको नियमितता ,सेवाको गुणस्तर आदि विषयमा र कार्यक्रम स्थलमा उठेका प्रश्नहरुको गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल‘, उपाध्यक्ष भिमबहादुर रोका, प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जिवि घिमिरेले, वडा अध्यक्ष तथा शाखा प्रमुखहरुले जवाफ दिएका थिए। गाउँपालिकाले प्रवाह गर्ने सेवामा देखिएको समस्या सुधार गर्नुको साथै पालिकामा भैरहेको कामकाजलाई नियम संगत र समयमा गर्न सुझाव दिएका छन् ।

गाउँपालिकाले प्रदान गर्दै आएको सेवामा थप प्रभावकारीता दिनुपर्ने, विकास निर्माणका कामहरु, पालिकाको विभिन्न शाखाबाट दिने सेवाहरु, शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधार निर्माणमा देखिएको समस्या, पालिकाबाट सञ्चालन भैसकेका र सञ्चालित कार्यक्रमहरुको बारेमा सार्थक र उपलब्धि मुलक भए नभएको बारे मुल्यांकन गरी सेवा प्रवाह गर्न सुझाव दिएका छन् ।

स्थानीयले पालिकामा केही आयोजना कार्य सम्पन्न भएपछि प्राविधिक ईस्टिमेट गराउने गरेको, किसानहरुले पाउने कृषि तथा पशुको अनुदान वास्तविक किसानले पाउन नसकेको, शिक्षक नियुक्तिमा विषयमा विज्ञ राख्नुपर्ने , वडा तहमा दैनिक रुपमा हाजिर नहुने कर्मचारीलाई कारवाही गर्न, विद्यालयहरुको अनुगमन गर्न, योजनाको लागि आएको बजेट कटौटी नगर्न, सम्झौता अनुसारको काम सम्पन्न गरेपनि रेखदेख गर्न सुझाव दिएका थिए ।

कार्यक्रम सहभागिको जिज्ञासा सम्बोधन गर्दै गाँउपालिकाका अध्यक्ष अध्यक्ष धन बहादुर विकले ताराखोलाको विकास र समृद्धिका लागि सबैसँग हातेमालो गरेर पालिकालाई अगाडि बढाउन अग्रसर रहेको बताएका थिए ।

उनले सेवाग्राहीले उठाएका जिज्ञासा, सल्लाह, सुझाव अनुसार नै पालिका अघि बढ्ने बताउँदै पालिकामा जुनसुकै विषयमा जुनसुकै समस्या गुनासो भएमा वडाध्यक्ष, कर्मचारीहरु तथा पालिका प्रमुख उपप्रमुखलाई भेट्न सक्ने जानकारी गराएका थिए।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर रोका, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि घिमिरे, सामाजिक विकास समितिका संयोजक जित बहादुर खत्री, ताराखोला गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष याम बहादुर श्रीस, ताराखोला गाउँपालिकाका सूचना अधिकारी जित सुनार, शिक्षा शाखाका प्राविधिक सहायक युवराज शर्मा, कार्यपालिका सदस्य गौरीमाया गुरुङ लगायतले जवाफ दिनु भएको थियो ।

प्रमुख प्रशासकीय चिरञ्जीवि घिमिरेले पालिकाले सम्पन्न गरेका कामहरुका बारेमा जानकारी दिदै कुल बजेटको ४० दशमलव २ प्रतिशत वित्तीय प्रगति गरेको, चालु तर्फ ५२ दशमलव २ र पुँजीगत तर्फको खर्च २७ दशमलव ३ प्रतिशत रहेको बताउनु भयो ।

घिमिरेले आर्थिक विकासमा २८, सामाजिक विकासमा ४४, पूर्वाधार विकासमा २९ सुशासन तथा अन्तरसम्वन्धित तर्फ १० र कार्यलय तथा प्रशासनिक तर्फ ५३ प्रतिशत बजेट खर्च भएको बताउनु भयो ।त्यतै ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०८० र ८१ को दोश्रो चौमासिक अवधिमा ३ लाख २१ हजार २ सय राजश्व संकलन गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमको नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको सवाल जवाफ खण्डको सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख सरिता खत्रीले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम ताराखोला मिडिया प्रालिका अध्यक्ष महेन्द्र घर्ती ‘संगम‘ को अध्यक्षता, पशु शाखा अधिकृत डा संजिव रेग्मीको स्वागत र जनमुखी न्युजका सम्पादक खगेन्द्र विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्