बागलुङ । स्वास्थ्य क्षेत्र सुधारका लागि गरिएका प्रतिवद्धता कार्यान्यनका लागि ‘एक्सन प्लान’ बनाउन लागेको गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले बताउनु भयो ।
प्रदेशको स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान र समाधानका लागि स्वास्थ्य मन्त्रालयले तयारी थालेको उहाँले बताउनु भयो ।
गुणस्तरीय स्वास्थ्य सेवा अस्पताल र स्वास्थ्य संस्थामार्फत दिन सके धेरै नागरिकको ज्यान जोगाउन सकिने स्वास्थ्य मन्त्री पाठकले बताउनु भयो ।
उहाँले शनिबार कालिका सहकारी संस्था बागलुङको सातौं साधारण सभाको उद्घाटन गर्दै उक्त विचार व्यक्त गर्नु भएको हो ।
उहाँले सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

प्रदेशले सञ्चालन गरिरहेका अस्पतालहरुमा रहेको जनशक्ति, उपकरण पूर्वाधार लगायतका क्षेत्रमा रहेको समस्या समाधानको उपाय खोजी गर्ने भन्दै पाठकले हरेक नागरिकका घरघरमा सरकारको उपस्थिती पुर्याउने उहाँको भनाई थियो ।
सहकारीको प्रसंगमा बोल्दै मन्त्री पाठकले सहकारी आन्दोलन केही स्वार्थी सञ्चालकहरुका कारण धमिलो भएको भन्दै राम्रा सहकारीको संगत गर्न कोही पनि डराउनु नपर्ने बताए ।
आफूले मन्त्री हुनु पूर्व नै सहकारी पीडितका विषयमा संसदमा आवाज उठाउँदै आएको स्मरण गर्दै पाठकले भने ‘एक दुई जनाका कारण सहकारी डुबे, सबै सकियो भन्ने अवस्था होईन्, समस्याग्रस्त सहकारीको पहिचान र बदमासलाई कारवाही गर्ने हो ।’
प्रचलित नियम र कानुन विपरीत सञ्चालन भैरहेका सहकारीलाई कानुनको दायरामा ल्याउन कठिन भैरहेको भन्दै उनले सहकारीमा देखिएका समस्या छिट्टै समाधान हुने र बचतकर्ताले रकम फिर्ता पाउने वातावरण बन्ने विश्वास जगाउनु भयो ।
कार्यक्रममा कालिका सहकारीका संरक्षक कृष्णराज शर्मा, संविधानसभा सदस्य नरबहादुर थापा, भूमी आयोगका पूर्वअध्यक्ष धर्म कुँवर, सहकारीका सल्लाहकारहरु प्रा डा रामप्रसाद उपाध्याय, जिल्ला विकास समितिको पूर्वउपसभापति मोहनलाल शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष हरिनारायण गौतम, विद्यामन्दिर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम कालिका सहकारी संस्थाका अध्यक्ष हिमाल प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष गीतादेवी शर्माको स्वागत र सचिव भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भयो ।
सहकारीले स्नातक तहमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरीमध्येबाट दुईजना, उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो ।
साथै ७० वर्ष उमेर पुगेका ४२ जना जेष्ठ नागरिकलाई जनही एक हजार ७ सयका दरले नगदसहित सम्मान गरिएको थियो ।



















































































































































































































