बागलुङ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान-२०८१ अन्तर्गत नगरभित्र खोप दिने चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ ।
कार्यक्रमका बारेमा गण्डकी प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशनालयका खोप अधिकृत एक नारायण लम्साल र गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले एचपिभी० खोपको महत्व, प्रभावकारी, रोगथाम र किशोरीहरुलाई ह्युमन पापिलोमा भाइरसबाट बचाउन चाल्नु पर्ने कदमहरुको बारेमा सहजिकरण गर्नु भएको थियो ।
विद्यालयबाहिर रहेका किशोरीहरु अधिकांश पिछडिएका, गरिबीका चपेटामुनिका हुँदा उनीहरुको पहिचान गरी खोप केन्द्रसम्म ल्याउन स्वास्थ्यकर्मीले मात्र नसक्ने हुँदा सबैको सहयोग आवश्यक रहेको खोप अधिकृत लम्सालले बताउनुभयो ।
एचपिभी खोप अभियान विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई यस अभियानमा जोड्न, पाठेघरको मुखको क्यान्सर रोगबाट जोगाउन नगरको चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वंय सेविका, जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने भएकोले सबैको सहयोग र समन्वयमा यो अभियान सफल बनाउन बागलुृृङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
पाठेघरको मुखको क्यान्सर रोग बारेमा सचेतना कम भएकोले यसको बारेमा जानकारी दिने अभियान चलाउन र महिलाहरुलाई लाग्ने पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रभावकारी कदम सञ्चालन गर्न श्रेष्ठले आग्रह गर्नुभयो ।
बागलुङ नगर स्वास्थ्य शाखाले माघ २२ गतेदेखि फागुण ६ गतेसम्म सबै वडामा ४६ वटा खोप केन्द्र स्थापना गरी दुई हजार पाँच सय ६५ जना विद्यालयका र विद्यालय बाहिरका किशोरीहरुलाई खोप प्रदान गर्ने कार्यक्रम रहेको नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनु भयो ।
जिल्लामा एचपिभी खोपको आवश्यक मात्रा जिल्ला स्वास्थ्य कार्यालयमा आइसकेको खनालले बताउनुभयो । तालिममा सहभागी स्वास्थ्यकर्मीलाई प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले खोप कार्यक्रमबाट अब्बल नतिजा आउने गरी र एचपिभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुने गरी तयारी गर्न आग्रह गर्नुभयो ।
नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले विश्वमा अति कम विकसित राष्ट्रहरुको एचपिभी खोपमा पहुँच कम भएकोले यो अभियान बागलुङ नगरपालिकामा सफल बनाउन सबै दातृ निकाय, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय र अन्य सहयोगी संस्थाहरुसँग सहकार्य गरेर सबै किशोरीहरुलाई खोप अभियानको दायरामा ल्याउनु पर्ने बताउनुभयो ।
एचपिभी खोपलगाएत विभिन्न रोगहरुको बारेमा गुणस्तरीय तालिम स्वास्थ्यकर्मीलाई आवश्यक भएको र तालिमको अभावमा एचपिभी खोप अभियानको लक्ष्य हासिल गर्न गाह्रो हुने स्वास्थ्यकर्मीहरुले बताएका थिए ।
कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको अध्यक्षता र नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद शर्माले सञ्चालन गर्नु भएको थियो ।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा एक वर्षमा २,५०० देखि ३,००० महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ।महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन ग्लोबल एलायन्स ९गाभी०को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी खोप ल्याएको हो ।














































































































































































































