बागलुङ । बागलुङ नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई तनाव व्यवस्थापनका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधि र विभिन्न शाखामा कार्यरत कर्मचारी र पत्रकार गरि ७० जनाभन्दा बढीको उपस्थितिमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको हो ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंका मानसिक स्वास्थ विभाग प्रमुख प्रा. डा. सरोज प्रसाद ओझाले प्रशिक्षण दिनु भएको थियो ।मानसिक स्वास्थ्य, तनाव, तनावका हुनुका कारण, यसको पहिचान र तनावकै करण कार्यालय, संघ संस्था, परिवार र समाजमा हुने क्षतीलाई रोक्नका लागि यसको व्यवस्थापनका विषयमा डा ओझाले प्रशिक्षित गरेका थिए ।
मानसिक स्वास्थ्यको महत्व, त्यसलाई स्वस्थ्य राख्नु पर्ने कारण र मनोसामाजिक समस्याले उत्पन्न गर्ने विभिन्न स्वास्थ्य समस्याहरु र त्यसबाट बच्ने उपायहरुको बारेमा डा. ओझाले जानकारी दिनु भएको थियो ।
मानसिक स्वास्थ्यमा समस्याले मानिसको भावना, संवेग, विचार र व्यवहारमा आएको परिवर्तनले व्यक्ति आफू वा सम्बन्धित व्यक्ति वा दुवैलाई प्रभावित गर्दै व्यक्तिको सामाजिक, व्यावसायिक र पेशागत क्षेत्रमा नकारात्मक असर पर्ने र त्यसबाट बच्नको लागि मानसिक तनाब वा झैझगडा हुने स्थानबाट बच्न र पर्याप्त निद्रा, स्वस्थ र सन्तुलित खानपान, नियमित व्यायाम, ध्यान, योगले तनाव व्यवस्थापनमा मद्दत पुग्ने डा. ओझाले बताउनुभयो ।
जनताको चासो, चिन्ता, गुनासा र समस्या समाधानमा खटिने जनप्रतिनिधि र कर्मचारीलाई उर्जावान बनाउनका लागि नगरपालिकाले तनाव व्यवस्थापन कार्यक्रमको आयोजना गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनु भएको थियो । अन्य समयमा भन्दा आर्थिक वर्षको अन्त्यको समय कर्मचारी र जनप्रतिनिधिका लागि बढी तनावपूर्ण समय हुने भन्दै नगरप्रमुख श्रेष्ठले तनावका कारण कार्यक्षेत्र प्रभावित नहोस भनेर कार्यक्रम आयोजना गरिएको बताए ।
नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण तालिमको सहजिकरण भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
































































































































































































