बागलुङ । बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार पोषण तथा खाद्य सुरक्षा संम्बन्धी अभिमुखीकरण बैठक सम्पन्न भएको छ ।
बागलुङ नगरपालिकालाई प्राथमिकताको आधारमा पोषणमैत्री नगरपालिका निर्माण गर्नको लागि सरोकारवालाहरुसँग प्रारम्भिक चरणको छलफल, विचार विमर्श र सुझाव संकलन गरिएको छ ।
नगर स्वास्थ्य शाखाले तयार गरेको वार्षिक प्रतिवेदन बागलुङ नगरपालिका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का र प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले विमोचन गरेका थिए ।
बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले नगरको स्वास्थ्य अवस्था, पोषण तथा खाद्य सुरक्षा संम्बन्धी अवधारणा त्यसका चुनौतीहरु र पोषणमैत्री नगरपालिका निर्माण गर्नको लागि सबै सरोकारवालाहरुसँग गर्नु पर्ने सहकार्य र तयारीको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले नगरपालिकालाई पोषणमैत्री बनाउन चाल्नु पर्ने रणनीति, खाद्य स्वच्छताको ग्यारेण्टी गर्न, बालबालिकादेखि जेष्ठ नागरिकलाई चाहिने पोषणयुक्त खानेकुरा र त्यसका लागि अर्गानिक खाद्यान्न, फलफूल, तरकारी, अडडा र माछा मासु उत्पादनमा ध्यान केन्द्रीत गर्न नगर स्वास्थ्य शाखाले आवश्यकताको आधारमा अन्य शाखासँग सहकार्य गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, बागलुङ नगरपालिका-१० वडा अध्यक्ष तिलबहादुर थापा, बागलुङ नगरपालिका-११ वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, बागलुङ नगरपालिका-१४ वडा अध्यक्ष चक्रबहादुर खत्री, नारायणस्थान स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्मा, बागलुङ नगरपालिका महिला बालबालिका शाखाकी प्रमुख रचना शर्मा, बागलुङ नगरपालिकाका पशु शाखा प्रमुख मित्रलाल सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
पोषणमैत्री नगर बन्नका लागि आवश्यक सम्पूर्ण सूचकहरू पूरा गर्न, बालबालिका तथा आमाहरुको पोषणस्तर सुधार गर्न, कुपोषणको समस्या न्यून पार्न, सुरक्षित पिउने पानीको व्यवस्था गर्न, सरसफाइ तथा व्यक्तिगत स्वच्छता प्रवर्धन गर्न लगायतका महत्वपूर्ण सूचकहरूमा उल्लेखनीय प्रगति ल्याउनको लागि सबैको सहयोग लिनु पर्ने सहभागिले सुझाव दिएका थिए ।
कार्यक्रम बागलुङ नगरपालिका नगर प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता र नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।















































































































































































































