३ जेष्ठ २०८१, बिहीबार

 

‘टाइम’ र ‘न्यूजवीकको’ युद्ध

‘टाइम’ र ‘न्यूजवीक’ विश्वका दुई विख्यात साप्ताहिक समाचार पत्रिकाहरु हुन् । अमेरिकाबाट प्रकाशित हुने यी दुवै पत्रिकाहरुको आपसी होडबाजी नै व्यावसायिक पत्रकारिताको संघर्षको उत्तम नमून हुन पुगेको छ । यो, उ विषय भनेर नछुट्याइकन समाचार दिने यी पत्रिकाहरु बीच हरेक हप्ता युद्ध चलिरहेको हुन्छ । तर, सबैभन्दा ठूलो प्रतिद्वन्द्विता चाहि ‘आमुख कथा’का चयनमा हुने गरेको छ । यस्तो एउटै मात्र आमुख कथाको लागि करोडौं रुपियाँ खर्च गर्ने गरिन्छ । आवरणमा कस्तो फोटो राख्ने र कस्तो ‘हेड लाइन’ राख्ने भन्नेबारे सम्बन्धित पत्रिकाका वरिष्ठ सदस्यहरु सुटुक्क भेला भएर गोप्य सल्लाह गर्ने गर्दछन् । स्पष्ट छ दुवै पत्रिकाहरु समाचार चयनको युद्धमा लागिरहेका छन् ।
“यो असाध्यै प्रतियोगितात्मक र हत्तू बनाउने व्यवसाय हो । हामी ‘टाइम’ पत्रिका भन्दा कम हुन चाहँदैनौं,” ‘न्यूजवीक’का निर्देशन समितिका अध्यक्ष पिटर डेरो भन्छन् । हुन त ‘टाइम’ले पढ्ने दश प्रतिशत भन्दा कम पाठकहरुले ‘न्यूजवीक’ पढ्ने गर्दछन् । तर युद्ध चाहिं जारी नै छ ।
चलचित्र र संगीत कलाकारहरु सम्बन्धी सामाग्री प्रकाशित गर्नु परेमा दुवै पत्रिकाबीच ‘विश्व युद्ध’ चलेकै बराबर हुन्छ । सन् १९८५ मा ‘टाइम’ले आफ्ना जासुस पत्रकारहरुबाट ‘न्यूजवीक’ले अमेरिकी ‘रक’ कलाकार ब्रुस स्प्रीङटीन बारे सामाग्री छाप्दैछ भन्ने कुरा थाहा पायो । थाहा पाउनु के थियो एउटै हप्तामा दुवै पत्रिकाको आवरणमा स्प्रीङटीनकै तस्वीर छापिन पुग्यो । यसो गरी ‘टाइम’ले ‘न्यूजवीक’को त्यस अंकले ह्वात्तै लिने बजारलाई आफूतर्फ पनि तान्यो ।
रमाइलो कुरा त के छ भने दुवै पत्रिकाले हलिउड कलाकार, सेक्सी केटी, विज्ञान, खेलकुद, समलिङ्गी मैथुन, औषधि आदि बारे ‘आमुख कथा’ छापे भने बढी मात्रामा बिक्री हुन्छन् । राजनैतिक सामग्रीले त्यति फाइदा हुँदैन । सन् १९८८ मा औषधि विषयको लेख छापिंदा ‘न्यूजवीक’ बढी बिक्री भयो भने एक वर्ष पछि अन्तरिक्षसम्बन्धी सामग्री छापिंदा, ‘टाइम’ बढी बिक्री भयो ।
यी पत्रिकाहरुले समाचार लेख्दा कुनै तथ्य पन छुटाउँदैनन् । ‘न्यूजवीक’का न्यूयोर्क स्थित प्रमुख मार्टिन कासिनडर्फ भन्छन्, “कसैका बारेमा लेख्नु प¥यो भने उसको कट्टू कुन रङको छ, उ कुन ब्रान्डको चुरोट पिउँछ र विहान कस्तो ‘ब्रेक फास्ट’ खान्छ भन्ने कुरा समेत पत्तो लगाउँ भन्ने आशा सम्पादकले गरेको हुन्छ ।”
टाइम सन् १९२३ र न्यूजवीक सन् १९६३ मा शुरु भएका हुन् । ७० को दशकमा पुग्दा न्यूजवीकको संख्या ६२ प्रतिशतले बृद्धि भएको थियो । यसै पत्रिकालाई पाठकहरुले रुचाउन र ‘आदर्श’ ठान्न थालेका थिए । तर आज टाइम नै अगाडि छ । यो ६८ लाख र न्यूजवीक ५६ लाख प्रति छापिन्छ । ठूलो वितरण प्रणाली भएको टाइमले प्रत्येक वर्ष विज्ञापनबाट ३५ लाख अमेरिकी डलर सम्म सोहोरिरहेको छ । न्यूजवीककै केही भूतपूर्व र वर्तमान कर्मचारीहरु पनि टाइम एकपल्ट फेरि न्यूजवीक भन्दा राम्रो पत्रिका बनेको छ’ भन्न थालेका छन् ।
टाइमले विदेशी समाचार, विज्ञान, धर्म, संगीतबारे र न्यूजवीकले स्वदेशी समाचार अन्तिम पृष्ठमा छापिने विदेशी व्यक्तिहरुको अन्तर्वार्ता, खेलकूद, पुस्तक समालोचना र मनोरंजनात्मक आमुख कथाहरु राम्रो छाप्छ भन्ने विश्वास गरिन्छ ।
भियतनाम युद्ध बारे सन्तुलित तरिकाले लेखेर न्यूजवीकले आफ्नो छविलाई उचाल्न सकेको थियो । तर, त्यही युद्धलाई टाइमले समर्थन गरेर विश्वसनीयताको मामिलामा ओह्रालो झ¥यो । खाडी युद्ध, युगोस्लाभिया, श्रीलंका, सोभियत संघका घटनाबाट न्यूजवीकले फाइदा उठाएको छ । तर टाइममा लेस्टर बर्नस्टेनले सम्पादनको जिम्मा लिएपछि भने न्यूजवीकलाई आफ्नो ज्यान बचाउन धौ–धौ परेको छ भनिन्छ । दुवै पत्रिकाका संवाददाताहरु सम्पादकहरु प्रति रुष्ट देखिन्छन् । जस्तो कि न्यूजवीकमा ११ वर्ष काम गरेर छोडिसकेका एन्ड्रयू जाफे भन्छन्, ‘एक पल्ट एङ्गोलामा युद्ध हुँदा रिपोर्टिङमा झण्डै मेरो ज्यान गएको थियो । तर, मैले जुन समाचार पठाएँ त्यसबाट मैले लेखेको दुई हरफ मात्र छापिएछ । मैले सम्पादकलाई बताएँ पनि, तर केही भएन ।” स्पष्ट छ, दुवै पत्रिकामा समाचार–लेखहरुलाई ‘रि–राइट’ (पुनः लेख्ने) गरिन्छ ।
तर साँचो कुरा चाहिं के हो भने दुवै पत्रिकाहरुबीचको प्रतिद्वन्द्विताले नै दुवै स्तरीय र लोकप्रिय हुन सकेका हुन् यस्तो अवस्था हाम्रो मुलुकमा कहिले आउला, खै !
– स्याटस्डे टाइम्स

प्रतिक्रिया दिनुहोस्