४ जेष्ठ २०८१, शुक्रबार

 

अमलाचौरका आगलागी पीडितलाई बागलुङ नगरपालिकाद्वारा राहत प्रदान

बागलुङ । आगलागीबाट घरगोठ जलेका बागलुङ नगरपालिका-१२ अमलाचौरका यदुनाथ पौडेलको परिवारलाई बागलुङ नगरपालिकाले बिहीबार राहत प्रदान गरेको छ । आगलागीबाट पौडेलको १ घर र १ गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।
नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का सहितको टोलीले घटनास्थलमा पुगेर परिवारलाई राहत प्रदान गरेको हो । घर जलेर नष्ट भएकोले प्रारम्भिक चरणमा लत्ता कपडा र खाद्य सामाग्री सहयोग गरिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।

नगरपालिकाले चामल, दाल, लत्ताकपडा, ग्यास चुलो र दैनिक उपभोग सामाग्री प्रदान गरेको हो । नगरपालिको विपत व्यवस्थापन समितिबाट प्रदान गर्ने राहत पुन प्रदान गर्ने नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

आगलागीबाट घाईते भएका गाई भैसी र बाख्राको पनि नगरपालिकाको पशु प्राविधिकको टोली पुगेर उपचार गरेको छ भने मरेका गाईभैसी तथा बाख्राको व्यवस्थापनका निम्ति नगरपालिकाले जेसिबी प्रयोग गरेर खाल्टा खनेर उचित व्यवस्थाप गरिने नगर उपप्रमुख राजु खड्काले जानकारी दिनु भयो ।

आगलागीबाट पीडित यदुनाथ पौडेल र स्थानीय ददिराम पौडेलले व्यवसायीक रुपमा नै गाई भैसी पालन गरेका थिए । उनीहरुले दुध बेचेरै आम्दानी गरेको पैसाले घरपरिवार धान्दै आएका थिए । आगलागीबाट पीडित यदुनाथको परिवारलाई स्थानीय अमलाचौरबासीले २० हजार ४ सय रुपैयाँ, नेकपा माओवादी केन्द्र अमलाचोरले २४ हजार २ सय रुपैयाँ, अमलाचौर भजन समूहले नगद ५ हजार रुपैयाँ सहयोग गरेका छन ।

आगलागीबाट घरगोठ पुर्णरुपमा जलेर नष्ट भएको थियो भने गोठमा रहेका २ भैसी, ३ गाई र ५ वटा बाख्रा पनि जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनु भयो ।

कँडेलका अनुसार ददिराम पौडेलका २ गोठ जलेका छन भने गोठमा रहेका १ गाई र १ बाख्रा जलेर मरेका छन । उनका २ गाई र २ भैसी गम्भीर घाईते भएका छन । आगलागीबाट लाखौ रकम बराबरको सम्पत्ती नष्ट भएको प्रहरी प्रमुख कँडेलले जानकारी दिनु भयो ।

आगलागीबाट गाई वस्तुका साथै अन्य घरायासी अन्नपात र धनसम्पती पनि नष्ट भएको छ । क्षती एकिन हुन सकेको छैन । आगो निभाउने क्रममा वेहोस भएका ददिराम पौडेल धौलागिरि अस्पताल बागलुङमा उपचार पश्चात घर फर्किएका छन् ।

दिउँसोको समयमा हावाहुरी सहित वनमा लागेको आगोले घरमा सल्केपछि घरगोठ पूर्ण रुपमा क्षती भएको थियो ।

आगलागी पीडित यदुनाथका अनुसार ऋण तिर्नका लागि ल्याएको २ लाख रुपैयाँ र घरमा रहेको १ लाख रुपैयाँ नगद र झण्डै ७ तोला सुन जलेर नष्ट भएको छ । आगो राती ११ बजे मात्र स्थानीय, नेपाल प्रहरी, नेपाली सेनाको टोलीले नियन्त्रणमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्