५ जेष्ठ २०८१, शनिबार

 

रोटरी क्लबद्वारा बलेवाका आगलागी पीडितलाई ४० हजार र विद्युतिय चुल्हो सहयोग

बागलुङ । बागलुङ नगरपालिका–१२ अमलारचौरको डाँडाखेतका आगलागी पीडितलाई रोटरी क्लब अफ बागलुङले शनिबार राहत वितरण गरेको छ ।

आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि बिचल्लीमा परेका दुई परिवारलाई रोटरी क्लब अफ बागलुङले नगद ४० हजार रुपैयाँ र भान्सा कोठामा प्रयोग हुने सामग्री वितरण गरेको हो ।

बुधबार साँझ जंगलमा लागेको आगलागी बस्तीमा पस्दा डाँडाखेतका ददिराम पौडेल र यदुनाथ पौडेलको घरगोठ जलेर नष्ट भएका थिए । पीडित परिवारलाई तत्कालका लागि राहत स्वरुप नगद र सामग्री उपलब्ध गराईएको रोटरी क्लब बागलुङका अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेले जानकारी दिए ।

क्लबका आगामी अध्यक्ष रामकृष्ण शर्मा, कार्यवाहक सचिव दीपक शर्मा र कोषाध्यक्ष अर्जुन पौडेलको टोलीले डाँडाखेतमा पुगेर राहत बाँडेको हो ।

रोटरी क्लब अफ पोखरा फिस्टेलले दुई परिवारलाई ‘विद्युतिय चुल्हो, प्रदुषण मुक्त भान्छा’ भन्ने प्रोजेक्टअन्तर्गत २० हजार बराबरको इलोक्टोनिक चुल्हो, त्यसमा प्रयोग हुने कुकरसहित भान्साका सामग्रीहरु प्रदान गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

क्लबले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराएको र भविष्यमा पनि आवश्यक भए थप सहयोग दिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्