हङकङ–चुहाइ–मकाउ पुल निर्माणको काममा खटिएको बेला समुद्रमा खसेका पोखराका अरनोल गुरुङ मृत भेटिएका छन्। बुधबार करिब ३ बजे पुलबाट समुद्रमा खसेर हराइरहेका उनलाई साँझ ६ः३० बजे उद्धार गरेर अस्पतालमा लगिएपछि मृत घोषित गरिएको हो।
हङकङको चुनवान बस्ने २० वर्षीय अरनोल गुरुङको शव साँझ ६ः३० बजे भेटिएको उनको पारिवारीक स्रोतले जनाएको छ। हङकङका केही सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै गुरुङको शव अस्पताल लगिएको जनाएका छन् तर प्रहरीले विस्तृत विवरण उपलब्ध गराएको छैन।
समुद्रमा हराइरहेका एक नाइजेरियनलाई पनि अस्पताल लगिएको स्थानीय एक अनलाइनले जनाए पनि लेबर डिपार्टमेन्टमा बैठकमा बसिरहेका एक अधिकृतले चाहिं नाइजेरियन नागरिक अझै नभेटिएको बताएका छन्। दुर्घटना लगत्तै लेबर डिपार्टमेन्टमा बसेको आकस्मिक बैठक राती १० बजेसम्म जारी थियो।
पुल निर्माणको क्रममा हङकङ र मुख्यभूमी चीनको सिमा क्षेत्रमा भइरहेको ‘स्काफोल्डिङ डिस्मेन्टल’ भएर अस्थाई ‘वर्किङ प्लेटफर्म’ भत्किएपछि ५ जना समुद्रमा खसेका थिए। जसमध्ये दुई जना चिनियाँ कामदार बोटको फर्शमा खसेका थिए भने ३ जना समुद्रमा झरेका थिए। समुद्रमा खसेका दुई जनामध्ये एक जना अरनोल गुरुङ र अर्का नाइजेरियन नागरिक थिए। समुद्रमा खसेका ३ जनामध्ये २१ वर्षीय डेबिड थापाले पौडी खेल्न जानेकाले उद्धार सहज भएको थियो।