१ जेष्ठ २०८१, मंगलवार

 

वागलुङ्ग नगरपालीकामा तरकारी हाट वजारको आवश्कता

६५ प्रतिशत भन्दा वढी जनता कृषिमा आधारित भए पनि नेपालमा कृषि गुजारामुखी भन्दा फरक पर्दैन । कृषिको व्यवसायिकरण नहुनका धेरै कारणहरु मध्ये भरपर्दो कृषि वजारको अभाव पनि एक हो ।आफ्नो घर खेतमा उत्पादन गरेका कृषि उपजहरु घरायसी उपभोग वाहेक आम्दानीको श्रोतकोलागि विक्री गर्ने सहज र ब्यवस्थित वजारको अभाव भएको धेरै कृषकहरुले महशुस गरीरहेको अहिलेको अवस्था हो । हाट वजारको स्थापानाले कृषि उपजको वजार संजालको निर्माण गरी वजारीकरणलाई सहज वनाउने हुनाले कृषकहरुलाई ब्यवासायिक रुपमा खेती गर्न उत्प्रेरणा जगाउंदछ । वागलुङ्ग जिल्ला मुख्य गरी सदरमुकामा क्षेत्रमा हाट वजारको आवश्यकताको वारेमा पटक पटक कुरा उठे पनि यसले मुर्त रुप लिन नसकेको सन्दर्भमा यो लेखबाट हाट वजार सम्वन्धमा केहि तथ्यहरु प्रकाश पार्ने जमर्को गरीएको छ ।

हाट वजार भन्नाले निश्चित स्थानमा अस्थाई वा अर्ध अस्थाई संरचना वनाई निश्चित दिनमा संचालन गरीने वजार हो । दैनिक उपभोगका हरेक सामानहरु सस्तो र सुलभ मुल्यमा एउटै स्थानमा खरीद गर्न सकिने भएकाले हाट वजारलाई सुपरमार्केट संग तुलना गर्दा फरक पर्दैन । सुपरमार्केट ठूला सहरका ब्यस्त ठाउंमा खोलीने भएकाले हुने खाने ब्यक्तिको लागि खरीद गर्ने ठाउं हो भने हाट वजार खुल्ला स्थानमा गरीव देखि हुने खाने सबैले खरीद विक्री गर्ने ठाउं हो । दैनिक उपभोगका सामानहरुको किनवेच गर्ने ग्रामिण वजारलाई हाट वजार भनिए पनि आम नेपालीले यसलाई कृषि उपज (तरकारी) वेच विखन गर्ने स्थलको रुपमा वुझछन् ।

पूर्वी पहाडी जिल्लाहरु लगायत तराईका अधिकांश जिल्लाहरुमा धेरै समय पहिला देखि नै हाट वजार संचालन भैरहेका छन् र त्यहाका धेरै गा.वि.स. हरु हाट वजारको संजाल संग जोडिएका पाईन्छन् । राष्ट्रिय स्तरका ठूला तरकारी वजारहरु जस्तै वुटवल तरकारी वजार, कपुरकोट तरकारी वजार साना हाट वजारहरुबाटै स्थापित भएका हुन । त्यसैले स्थानिय रुपमा संचालन हुने हाट वजारले भविष्यमा विकास हुन सक्ने ठुला तरकारी वजारको स्थापनालाई मार्ग प्रशस्त गर्दछ । पूर्वी पहाड र तराई क्षेत्रमा मात्र स्थापित हाट वजार हालका वर्षहरुमा देशका अन्य पहाडी जिल्लाहरुका वजार क्षेत्रहरुमा पनि क्रमशः लोकप्रिय भैरहेको छ ।

हाट वजार सामान्यतया हप्ताको १ पटक वा २ पटक अथवा २ हप्तामा १ पटक धेरै उपभोक्ताहरुलाई पाएक पर्ने स्थानमा संचालन गरिन्छ । हाट वजार कति पटक वा कति दिन संचालन गर्ने भन्ने कुरा स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको मात्रा, उपभोक्ताको संख्या र त्यस्ता उपजहरुको माग आदिमा भर पर्दछ । स्थानिय स्तरमा उत्पादन हुने कृषि पैदावारको मात्रा र माग दुवैमा बृद्धि हुदै जांदा हप्ता वा मासिक रुपमा हाट संचालन हुने दिनको संख्या पनि वढ्दै गरेको पाईन्छ । एक पटक हाट संचालन भैसकेपछि अन्य स्थानमा पनि सजिलै हाट वजार संचालन भएका धेरै उदाहरण छन् । तर जिल्ला भित्र शुरुमा पहिलो हाट संचालन गर्न अथक मिहिनेत र निरन्तरको प्रयास आवश्यकता पर्दछ ।

कृषि उपजहरुको वजार र उत्पादन सम्वन्धमा विभिन्न ब्यक्तिहरुले फरक फरक धारणा ब्यक्त गरेको पाईन्छ । उत्पादन वढी भयो भने मात्र तरकारीले वजार पाउंछ, त्यसैले उत्पादनमा जोड दिनु पर्छ भन्ने केही ब्यक्तिहरुले तर्क गर्छन् भने केहि वजारको सुनिश्चिता गरेर मात्र उत्पादन गर्नु पर्छ भन्ने तर्क राख्छन् । तर हालको नविनतमा मान्यता के हो भने वजार संजालको विकास र उत्पादनमा बृद्धि संग संगै गरीयो भने मात्र कृषि क्षेत्रको विकास हुन्छ । त्यसैले हाट वजारको स्थापना अत्यन्तै महत्वपूर्ण छ र यसको स्थापना र संचालनले समग्र कृषि क्षेत्रको विकास तथा यसको ब्यावसायिकतामा महत्वपूर्ण भूमिका खेल्दछ ।

के छन् त हाट वजारका फाईदा ?
 हाट वजारले कृषक तथा उपभोक्ता दुबैलाई फाईदा पु¥याउंछ । हाट वजारको कारण कृषि उपजको वजार सहज भई कृषकहरुलाई थप उत्पादन गर्न हौसला प्रदान गर्ने हुनाले कृषि उपजको उत्पादनमा उल्लेखनीय बृद्धि हुन आउंछ । यसो हुंदा स्थानीय उत्पादनहरुले वजारमा वढी पश्रय पाउंछन् । अन्यत्र जिल्लावाट आयात गरीने तरकारी पुरानो र वासी हुने तथा ढुवानी लगायत विविध शीर्षकमा लाग्ने थप शुल्कको कारण त्यस्ता महंगो उत्पादनहरुको तुलनामा उपभोक्ताहरुले स्थानीय स्तरमा उत्पादन भएका ताजा कृषि उपजहरु सुलभ मुल्यमा खरीद गर्ने अवसर प्राप्त गर्दछन् ।
 हाट वजारको स्थापनाले वजार क्षेत्रका उपभोक्ताहरुको पैसा ग्रामिण क्षेत्रका विपन्न कृषकहरु माझ प्रवाह हुन्छ । त्यसैले हाट वजारको स्थापनाले ग्रामिण अर्थतन्त्रलाई वलियो वनाउंनु को साथै वढ्दो गरिविको न्युनीकरण गर्दछ ।
 हाट वजारले उत्पादन कर्ता र उपभोक्तालाई एक अर्काको सम्पर्कमा ल्याउंछ । हाट वजारमा विचौलियाको प्रवेश नहुने हुंदा उत्पादन कर्ताहरुले राम्रो मुल्य पाउंछन भने उपभोक्ताहरुले सस्तो मुल्यमा कृषि उपजहरु उपभोग गर्न पाउंछन् ।
 तरकारीलाई दाल चामल जस्तो लामो समय सम्म भण्डारण गरेर राख्न सकिदैन । उत्पादन भएको केहि घण्टा देखि .केहि दिन भित्रमै यी उत्पादनहरुलाई विक्री गर्नु पर्छ । वागलुङ्ग वजारमा राम्रो कृषि वजारको संजाल नभएको कारण कृषकहरु आफ्ना उत्पादनहरुलाई वजारमा घरदैलो गर्दै वा स्थानीय तरकारी ब्यापारीहरुलाई तिनै ब्यापारीहरुले तय गरेको मुल्यमा विक्री गर्न वाध्य छन् । आफूले विक्री गरेको तरकारी आफ्नै अगाडि ति स्थानीय ब्यपारीले दोब्वर मुल्यमा उपभोक्तालई विक्री गरेको टुलुटुलु हेरेर वस्नु पर्ने ति कृषकहरुको अहिलेको नियति हो । त्यसैले अहिलेको वर्तमान अवस्थामा हेर्दा के देखिन्छ भने उत्पादन गर्नेले आफ्नो सहि मुल्य पाएको छैन भने उपभोक्ताले पनि वढी मुल्य तिर्नु परिरहेको र गुणस्तर युक्त आफूले चाहे अनुसारको ताजा तरकारी खरीद गर्न नपाएको स्थिती छ । त्यसैले कृषकहरुले आफ्नो उत्पादनको सहि मुल्य प्राप्त गर्न र उपभोक्तालाई सस्तो मुल्यमा उनीहरुले चाहे अनुसारको कृषि उपजहरु उपलब्ध गराउन हाट वजारको स्थापना हुनु अति नै आवश्यक छ ।
 हाट वजार साना कृषककोलागि ठूलो वरदान हो । साना कृषक तथा सिमान्तकृत कृषकहरुले उत्पादन गरेका थोरै कृषि उपजले पनि सहज वजार पाउने भएको कारण त्यस्ता साना कृषकहरु विस्तारै आफ्नो उत्पादनको मात्रालाई वढाउंदै लगि पछि ब्यावसायीक कृषकहरुको रुपमा स्थापित हुन्छन् र क्रमशः कृषि पेशाले ब्यावसयिकताको रुप लिन थाल्दछ । माग भन्दा वढी भएको तरकारी हाट वजारवाट संकलन गरेर अन्यत्र वजारमा निर्यात गर्न पनि सकिन्छ । यसरी तरकारी निर्यात हुन थाल्दा अन्यत्रका तरकारी ब्यापारीहरु पनि त्यस्ता हाट वजारमा आकर्षित हुन थाल्दछन् । विस्तारै कृषिको ब्यावसायिकतामा बृद्धि हुंदै जाने हुनाले स्थानिय अर्थतन्त्र वलियो हुनुको साथै रोजगारीका थप अवसरहरु श्रृजना गर्न पनि यसले ठूलो योगदान पु¥याउंछ ।
  हाल जिल्लाका विभिन्न स्थानहरुमा जिल्ला कृषि विकास कार्यालय, स्थानिय गैह सरकारी संस्था, गा.वि.स, सहकारीहरुले तरकारी संकलन केन्द्रहरु स्थापना गर्दै आईरहेका छन् । तर तिनीहरु पूर्ण परिचालनमा आउन नसकिरहको अहिलेको यथार्थ हो । ती सकंलन केन्द्रमा संकलन गरीएको तरकारीको सुनिश्चित र भरपर्दो वजार नभएको कारण ति संकलन केन्द्रहरु राम्रो संचालनमा आउन सकिरहेका छैनन् । हाट वजारको स्थापनाले संकलन केन्द्रमा संकलन भएको तरकारी निश्चित दिनमा नियमित किसिमले हाट वजारमा ल्याउन सहज हुने भएकोले ति संकलन केन्द्रहरु पूर्ण रुपले परीचालनमा आउंछन् ।
 तरकारीमा अत्यधिक किटनाशक र विषादीको प्रयोगले जनस्वास्थ्यमा अत्यन्तै नकारात्मक असर परीरहेको विभिन्न अध्ययनहरुले देखाईरहेका छन् । त्यसैले जैविक वा प्राङ्गारीक खेती गर्नु अहिलेको आवश्यकता हो र त्यसको लागि गाई भैंसीको पिशाव र गोवरको माग एकदमै वढेको छ । त्यसैले तरकारी खेतीको ब्यावसायीकता संगै पशुपालन ब्यवसाय मुख्य गरी गाई भैंसी पालन (दुध उत्पादन) मा अझ तिव्रता आउनेछ । दुग्ध ब्यवसायबाट कृषकहरुले थप आम्दानी प्राप्त गर्नेछन् ।
 हाट वजारको स्थापनाले कृषि उपजको सरल र भरपर्दो वजार प्राप्त हुने हुनाले आम कृषकहरु स्वस्फूर्त रुपमा तरकारी खेती गर्न अग्रसर हुने हुंदा कृषि ब्यवसाय प्रवर्द्धनमा लागेका सरकारी तथा गैह् सरकारी संस्थाको काममा समेत प्रभावकारीता आउनेछ ।
हाट वजारको स्थापनाका चूनौतीहरु र समाधानका उपायहरु
दिगो हाट वजार स्थापना गर्न निरन्तरको मिहिनेत र लगनशिलताको आवश्यकता पर्दछ । स्थापनाका शुरुका दिनहरु मुख्य गरी ३, ४ महिना हाट वजारको दिगोपनको लागि अति नै महत्वपूर्ण छन् । स्थानीय वजारमा तरकारी वजारको एकाधिकार जमाएर वसेका ब्यापारीहरु हाट वजारको स्थापना होस भन्ने पटक्कै चाँहदैनन् । किनकी हाट वजारको स्थापनाले उनीहरुको आम्दानीमा प्रभाव पर्ने भएकाले अनर्गल प्रचार प्रसार गरी यस्को स्थापना विरुद्ध उत्रन सक्छन् ।

हाट वजार कुनै ब्यक्ति विशेष वा समुदायको नभई आम उपभोक्ता र कृषकहरुको साझा सम्पति भएकोले यसको स्थापना गर्नु र स्थापना पश्चात निरन्तर संचालनकोलागि सबै क्षेत्रवाट आवश्यक सहयोग र समन्वयको जरुरी पर्दछ । निश्चित दिनमा हाट लाग्ने भएपछि उपभोक्ताहरुले हाट वजारबाटै तरकारी खरीद गर्नु पर्दछ । यसको लागि सबै सरकारी तथा गैह् सरकारी निकायमा कार्यरत कर्मचारीहरुको पनि अहं भूमिका रहन्छ । साथै कृषकहरुले पनि धेरै थोरै कृषि उपजहरु हाट वजार लाग्ने दिन विक्रीको लागि तयार गर्नु पर्छ । शुरुका दिनहरुमा सकभर आफ्ना घर आंगनबाटै तरकारी विक्री नगरी हाट वजारमा लगेर विक्री गर्नु पर्छ भन्ने धारणा कृषकहरुले वनाउनु पर्छ ।

वागलुé सदरमुकाममा हाट वजार संचालन गर्ने कुरा वेला वेलामा चर्चामा आए पनि जोडदार किसिमले कुरा अगाडि वढ्न सकेको छैन । विभिन्न सरोकारवालाहरुको एकिकत प्रयासको अभावमा यसले सार्थक रुप लिन सकिरहेको छैन । हाट वजार स्थापनामा अहिलेको प्रमुख चुनौती भनेको स्थानको उपलब्धता हो । सार्वजनिक जग्गाको अभावको कारण हाट वजार संचालन गर्न स्थान उपलब्ध हुन गाह्रो परीरहेको धेरैको भनाइवाट वुझ्न सकिन्छ । तर जिल्ला समन्वय समिति, वागलुङ्ग नगरपालीका र सबै सरोकार वाला निकायको आपसी समन्वय, दृढ ईच्छा शक्ति, अठोट र गम्भिर ढङ्गले लागि परेमा स्थान उपलब्ध हुन त्यती गाह्ये पनि देखिदैन । जिल्ला विकास समिति, नगर पालीका, जिल्ला कृषि विकास कार्यालय, स्थानिय प्रशासन, उद्योग वाणिज्य संघ, कृषक समुह, स्थानिय गैह सरकारी संस्थाहरु, राजनीतिक पार्टीहरु, नागरीक समाज, कृषि सहकारीहरु, उपभोक्ता, कर्मचारीहरु लगायत संचार कर्मीहरु समेतको को सहकार्य र समन्वयवाट मात्र हाट वजार स्थापनाको कार्य सम्भव छ । ६०० मिटरको उचाई देखि ४६९० मिटर सम्मको भौगोलिक विविधता, प्रयाप्त खोला नाला तथा पानीका श्रोतहरु र ग्रामिण सडकहरुको संजाल वनी सकेको कारणले मौसमी तथा वेमौसमी तरकारी उत्पादनको लागि बागलुङ्ग जिल्लाले अपार सम्भावना वोकेको छ । सवैको संयुक्त र एकिकृत पहलबाट वागलुङ्ग सदरमुकाममा हाट वजार स्थापना भएमा वागलुङ्ग जिल्ला पनि भोलीका दिनहरुमा ठूलो राष्ट्रिय तरकारी वजारको रुपमा परिणत नहोला भन्न सकिदैन ।
वरिष्ठ पशु विकास अधिकृत
जिल्ला पशु सेवा कार्यालय, वागलुङ ।

प्रतिक्रिया दिनुहोस्