बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गर्नका लागि घोडाबाँधेमा प्रवेश द्धार निर्माण गरिदै छ । रोजगारीको शिलशिलामा जापानमा रहेका गलकोटेहरुको संस्था गलकोट समाज जापानले साविकको विहुँ गाविस अर्थात काठेखोला गाउँकार्यपालिका वडा नं. ५ बिहुँको शिर घोडाबाँधेमा आर्कषक तथा कलात्मक प्रवेश द्धार निर्माण गर्न लागेको हो । गलकोट क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि टेवा पु¥याउन र आर्थिक एवं सामाजिक विकासका गर्ने उद्देश्यका साथ उक्त प्रवेशद्धार निर्माण गर्न लागेको गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले बताए । करिब २५ लाखको लागतमा निर्माण हुन लागेको प्रवेशद्धारका लागि जापानमा विभिन्न सांस्कृतिक कार्यक्रम संचालन गरी संकलन गर्ने र नपुग रकम समितिका सदस्यहरुबाट संकलन गरेर निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थापाको भनाई रहेको छ । प्रवेश द्धारको आर्कषक डिजाईन प्राज्ञ ओम खत्रीलाई जिम्मा दिएको छ । अनुमानित लागत तयार भएपछि प्रवेश द्धारको स्थान छनौट र प्रशासनिक कार्य अगाडि बढाईने प्रवेश द्धार निर्माण समितिका अध्यक्ष हर्क पाण्डेले बताए । पर्यटकिय क्षेत्रको रुपमा रहेको घोडाबाँधेबाट विभिन्न हिमशिङ्खलाहरु देख्न सकिन्छ उक्त स्थानमा हिमालहरु हेर्नका लागि भ्युटावर पनि निर्माण गरिएको छ ।
त्यसै गरी गलकोट समाज जापानले २५ लाख रुपैयाँको लागतमा रामेछापको सुनपाति–१ गुन्सी, धारापानीको जागृत आधारभुत विद्यालयका लागि भवन निर्माण गरिदिन लागेको छ । सामाजिक उत्तरदायित्वको भावनाले आफ्नो देशमा सानो भएपनि केहि सहयोग गरौँ भन्ने उदेश्यले सहयोग जुटाएर जम्मा गरिएको रकमबाट विद्यालयको प्रावि भवन निर्माण गर्न लागिएको समाजका अध्यक्ष थापाले जानकारी दिए ।
२०७२ साल बैसाख १२ गतेको भुकम्पबाट विद्यालयको भवन भत्किएपछि त्यहाँका बालालिकाले खुल्ला चउरमा बसेर पढ्नुपर्ने बाध्यता देखेर समाजले भावन निर्माण गर्न लागेको हो । विद्यालय भवनको गलकोट समाज जापनका अध्यक्ष नरबहादुर थापाले शिलान्यास गरेका थिए ।
कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष दिलु खत्री, संरक्षक गोबिन्द श्रेष्ठ, सल्लाकार सन्त खत्री, सल्लाकार टंक गैरे र कृष्ण खत्री पनि उपस्थित रहेका थिए ।
निर्माण कार्य आगामी दशैँसम्म सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिने गल्कोट समाज जापानका उपाध्यक्ष दिलु खत्रीले बताए । गलकोट समाज जापानले विभिन्न समयमा विद्यालय, स्वास्थ्य संस्थालाई आर्थिक सहयोग, गलकोटमा एम्बुलेन्स सञ्चालन, निशुल्क स्वास्थ्य शिविर सञ्चालन, भुकम्प पिडितलाई तथा कामको शिलाशिलामा विदेशमा ज्यान गुमाएकाहरुको परिवालाई सहयोग समेत गर्दै आएको छ ।













































































































































































































