
गलकोट नगरपालिकाको मेयर पदमा चर्चित लोक तथा दोहोरी गायक विष्णु खत्रीको उम्मेदवारीका बारेमा अहिले चर्चा परिचर्चा चल्न थालेको छ । वैशाख ८ गते सम्पन्न नेकपा (माओवादी केन्द्र) गलकोट नगरपालिकाकोे विशेष भेलाले गलकोट नगरपालिकाको मेयर पदमा विष्णु खत्री लगायत फमलाल निउरे, तिलक उप्रेती र ज्ञामनाथ गैरे (अनिल) तथा उपमेयरमा ललिता थापाको नाम जिल्लामा सिफारिस गरेको थियो । उम्मेदवारको सिफारिससँगै विष्णु खत्रीको नाम विभिन्न राष्ट्रिय मिडिया र सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।
कला संस्कृतिका माध्यमबाट गलकोटलाई चिनाएका विष्णु खत्री सानो उमेरमा नै चर्चा कमाएका व्यक्ति हुन् । वि.सं. २०३९ सालमा गलकोटको मल्म ८ भल्साङमा जन्मिएका खत्री न्यु लाईफ बोर्डिङ हटियाबाट प्राथमिक शिक्षा, जनहित मावि मल्मको पहिलो एस्.एल्.सी, धवलागिरी बहुमुखी क्याम्पस बागलुङबाट स्नातक तह तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट अंग्रेजी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका बहुआयामिक व्यक्ति हुन् । उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा केन्द्रीय सदस्य (दई कार्यकाल), सचिव (एक कार्यकाल) र महासचिव (एक कार्यकाल) भई सफल नेतृत्वदायी भूमिका निर्वाहसमेत गरिसकेका छन् ।
जनताको दुख, कष्ट र मर्मलाई राम्रोसँग आत्मसाथ गरेका खत्रीले जम्मु काश्मिरमा (नेपाली दाजु भाई भारतिय भुमिमा लड्नु पर्दाको पिडा), भरिया दाइ (नेपाली श्रमजीवी जनताको कथा र व्यथा), अन्तरजातीय विवाह (दलित भई हेपिदाको पीडा), कि सास चाहियो कि लाश चाहियो (सहिद र वेपत्ताको कथा व्यथा), आन्दोलनमा घाइते भएर (जनयुद्घ र जनआन्दोलनका घाइतेहरुका कथा) पाइन तलब (मजदुरका पीडा), किसानी दाइ (किसानको पीडा), गोठालो दाइ (गोठालाहरुको गीत) लगायतका पाँच सयभन्दा बढी गीतहरु गाएका छन् ।
े नेपालका ७५ वटै जिल्ला तथा अन्तराष्ट्रिय क्षेत्र (जापान, बेलायत, दक्षिण कोरिया, सिंगापुर, जर्मन, फ्रान्स, स्वीजरल्यान्ड, इटली, बेल्जियम, स्पेन, पोर्चुगल, डेनमार्क, हङकङ, कतार, मलेसिया लगायतका तिन दर्जन देश)हरुको भ्रमण तथा साँगीतिक प्रस्तुति गरेका खत्रीले विकसित देशहरुको विकासका मोडेल बारे राम्रो अनुभव बटुलिसकेका छन् ।