
आजको १३ दिनपछि बैसाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा चार राजनितिक दलले उम्मेद्वारी दर्ता गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्ति पार्टी र एक स्वतन्त्र उम्मेद्वारले पनि मनोनयन दर्ता गरेका छन् ।
नेपाली काँग्रसले नगरपालिका प्रमुखमा अर्जुन शेरचन र उपप्रमुखमा दिलमायाँ रामदाम पौविको उम्मेद्वारी दर्ता गरेको छ । एमालेले प्रमुखमा देवकुमार नेपाली र उपप्रमुखमा करमती पुनको मनोनयन दर्ता गरेको छ । देवकुमार नेपाली यसअघि नेकपा माओवादी केन्द्रबाट ढोरपाटन नगरप्रमुखको उम्मेद्वार बन्ने चर्चा थियो । एक्कासी एमालेबाट उम्मेद्वारी दर्ता भएपछि राजनीतिक वृत्तमा निकै ठुलो चर्चा भएको छ । एमालेको प्यानलबाट वडा नम्बर–२ को अध्यक्षमा माओवादी नेता ददिराम शर्माको उम्मेद्वारी परेको छ ।
यता नेकपा माओवादी केन्द्रले प्रमुखमा शेरमान घर्ती र उपप्रमुखमा विपस्ना घर्ती सुनारलाई उम्मेद्वार बनाएको छ । राष्ट्रिय जनमोर्चाले नगरप्रमुखमा गौरिश्वर पाण्डे र उपप्रमुखमा दुर्गा देवि घर्तीको उम्मेद्वारी दर्ता गरेको छ । नयाँ शक्ति नेपाल पार्टीले प्रमुखमा टेकबहादुर कुँवरलाई उम्मेद्वार बनाएको छ । राष्ट्रिय जनमोर्चाका स्थानीय नेता सहविन अर्गेजाले ढोरपाटन नगरको मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन ।
देबकुमार नेपालीको एमालेको तर्फबाट प्रमुखमा उम्मेद्वारी परेपछि अन्तिम समयमा आएर ढोरपाटनमा एमाले र राजमो वीचको तालमेल भंग भएको छ ।
समाचार श्रोतका अनुसार राजमो र एमाले वीच भएको चुनावी तालमेल बडीगाड र तमान गाउपालिकामा पनि सफल हुन सकेन ।
राजमो र एमालेवीच चुनावी तालमेल भए बमोजिम निसीखोला गाउपालिकामा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही प्रमुखमा र नेकपा एमालेका रुद्रप्रसाद पौडेल उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । उता तमानखोला गाउपालिकामा भने माओवादी केन्द्र र राजमोवीच चुनावी तालमेल बनेको छ । दुई पार्टीको सहमति अनुसार माओवादी केन्द्रका सूर्य श्रीपाली अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका डोरबहादुर क्षेत्री उपाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन ।