३ श्रावण २०८३, आईतवार

 

सरसफाई सप्ताहमा पानीको मुहान सफाई

सफाई सप्ताहको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न खालका जनचेतनामुलक कार्यक्रम गरी रहेका छन् ।
बागलुङ नगर खानेपानी सरसफाइ तथा उपभोक्ता समितिले पनि खानेपानीको मुहान सरसफाइ गरेको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको भुदीखोलाको मुहानमा समितिका कर्मचारी तथा पत्रकारहरुले सरसफाइ गरेका थिए ।

बागलुङ नगरपालिका भित्रका आम उपभोक्तालाई सफा तथा शुद्ध खानेपानीको पहुँचमा राख्ने उदेश्यले संस्थाले मुहान सरसफाइ गर्दै आएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिब रामबहादुर केसीले बताए ।

बागलुङ नगर भित्र खानेपानी नियमित बनाउने योजना अनुसार पानीको मुहान सरसफाइ गर्ने गरेपनि अहिले सरसफाइ सप्ताह अन्तरगत सबै मिलेर मुहान सफा गरेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यालय प्रमुख हिमालप्रसाद शर्माले बताए । बागलुङ नगरपालिका भित्र खानेपानी बितरण गर्दै आएको उपभोक्ता समितिले ३२ सय उपभोक्तालाई खानेपानी बितरण गर्दै आएको छ ।

समितिले सरसफाइ सप्ताह अन्र्तगत नियमित रूपमा अभियान नै बनाएर खानेपानी मुहान सरसफाइ गर्ने गरेको बताएको छ । तर समितिले समय समयमा मुहान सफा गर्दै आएपनि बर्खा लाग्ना साथ धारामा खानेपानी धमिलो र फोहोर आउदा उपभोक्ताले सास्ती बेहोर्दै आएका छन् । नगरपालिका भित्रै खानेपानीको समस्या रहेको छ ।

नयाँ धारा जडान गरेपनि कुनै ठाउँमा पानी दिने र कुनैमा नदिने गर्दा खानेपानी देखि दैनिक क्रियाकलापमा समस्या पर्ने गरेको उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन् । मासिक रुपमा पानीको शुल्क तिर्दै आएपनि धारामा पानी नआउने भन्दै कतिपय उपभोक्ता आक्रोश समेत भएका छन् ।

समिति तथा धारामा खानेपानी दिने व्यक्तिको लापरवाहीका कारण बागलुङ नगरबासीहरुलाई खानेपानीको समस्या हुने गरेको छ । बिहान केहि समय मात्रै पानी आउने भएकाले खानेपानी समेत भर्न अपुग हुने गरेको र दैनिक कामका लागि खोलामा जानुपर्ने बागलुङ नगरपालिकाका एक स्थानीयबासी बिमला मगरले जानकारी दिईन् ।

समितिले खानेपानी वितरणमा लापरवाही गर्दा कयौँ उपभोक्ताहरु दुषित पानी पिउन बाध्य बनेका छन् । खानेपानी ट्याङकीमा नै फोहोर हुदा स्थानीयबासीहरुले सफा र शुद्ध पानी पिउन नसकेको गुनासो गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung