स्थानीय तह निर्वाचनबाट बागलुङको काठेखोला गाउँपालिका वडा न.ं ६ बिहुमा निर्वाचित वडा अध्यक्ष र सदस्यहरुको पदभार ग्रहण कार्यक्रम भएको छ । वडा अध्यक्ष युक्तप्रसाद कंडेल लगायत वडा सदस्यहरुले एक कार्यक्रमका बीच पदभार ग्रहण गरे ।
कार्यक्रममा बोल्दै काँठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापाले काँठेखोलाको समृद्धिका लागि कृषि, पर्यटन, जलस्रोत र जडिबुटी लगायत स्थानीय स्रोतको पहिचान र परिचालनमा विशेष जोड दिइने बताए ।
उनले कृषिलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि सक्षम किसान, अगुवा किसान र आत्मनिर्भर किसान बनाउने अभियान सञ्चालन गरिने बताए ।
आगामी ५ वर्ष भित्रमा काँठेखोलाका सडकहरुलाई व्यवस्थित बनाउने, जनतालाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्नका लागि छिटै योजना बनाउने अध्यक्ष थापाले बताए ।
कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै काँठेखोला गाउँपालिका वडा नं. ६ का नवनिर्वाचित वडा अध्यक्ष युक्तप्रसाद कंडेलले उत्पादन क्षेत्रमा लागेका कृषकहरुलाई निर्धक्कसंग यो क्षेत्रमा क्रियाशिल रहनका लागि पशु तथा कृषिको विमा अभियान सञ्चालन गरी आत्मनिर्भरर कृषक बनाउने, सामाजिक सुरक्षा भत्ता जनताको घरघरमै वितरण गर्न पहल गर्ने लगायतका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसी, नेपाली कांग्रेसका प्रतिनिधि भवानीशंकर कंडेल, नेकपा माओवादी केन्द्रका प्रतिनिधि चक्रपाणी कंडेल, राप्रपाका प्रतिनिधि देवीप्रसाद कंडेल, राष्ट्रिय जनमोर्चाका प्रतितिधि परशुराम कंडेल, भीमसेन माविका प्रधानाध्यापक रघुनाथ कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
कार्यक्रम वडा सचिव मनोज कार्कीको अध्यक्षता, स्वास्थ्य चौकीका प्रमुख रितेशकुमार कर्णको सञ्चालन र सामाजिक परिचालक शर्मिला कंडेलको स्वागतमा सम्पन्न भएको थियो ।
यसैबीच काँठेखोला गाउँपालिका वडा नं.६ का नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो वैठकले १ वर्षभित्र वडामा रहेका विद्युतका काठे पोलहरु विस्थापित गरी फलामे पोलको व्यवस्था गर्ने, विद्युत महसुल वडा मै संकलनका लागि काउण्टर सञ्चालन गर्ने, जनतालाई निरन्तर रुपमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने लगायतका निर्णय गरेको वडा अध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिए ।























































































































































































