१ जेष्ठ २०८१, मंगलवार

 

‘यो बर्ष अलैँचीबाट ५० लाख रुपैयाँ भित्राउँदैछन् दमेकका किसान’

- सहकारी मार्फत ११ हेक्टर जमिनमा अलैँची खेती

अलैचीका विरुवा बेचेर जैमिनीका किसानले लाखौँ आम्दानी गरेका छन् । गाउँका युवा विदेशिएर जनशक्तिको अभावमा यसअघि बाँझो रहेको जग्गामा उनीहरुले अलैची लगाएका हुन् ।

जैमिनी नगरपालिका वडा नम्बर–२ र ३ का किसान मिलेर खाली रहेको जमिनमा व्यवासायीक रुपमा अलैचीको खेती सुरु गरेपछि गाउँमै उनीहरु गाउँमै स्वरोजगार भएका छन् ।

सुरुमा उनीहरुले घरमा १–२ विरुवा लगाएर गरेको परिक्षणमा राम्रो प्रतिफल दिएपछि व्यवसायीक खेतीतर्फ लागेका हुन् ।

‘पहिले त कस्तो हुन्छ भनेर हामीले आफ्नै घरमा लगायौँ’, स्थानीय गाजा सामुदायीक कृषि सहकारीका अध्यक्ष होमनाथ सापकोटाले भने, ‘राम्रो हुने देखिएपछि समुहिक रुपमा मिलेरै अलैँची खेती सुरु गरेका हौँ ।’

एक सय रोपनी जग्गा भाडामा लिएर सहकारी मार्फत अलैँचीको व्यवसायीक

 खेती सुरु गरिएको हो ।  गत बर्ष विरुवा बेचेरै १० लाख रुपैयाँ आम्दानी गरेका थिए । यो बर्ष विरुवाबाट मात्र ५० लाख आम्दानी गर्ने उनीहरुको लक्ष्य छ ।

यसअघि बाँझो रहेको जमिनमा गरिएको खेतीबाट राम्रो आम्दानी हुन

थालेपछि किसानहरु अलैँची खेतीमा उनीहरुको आकर्षण बढेको छ ।  सहकारीमा आवद्ध भएका किसानले मिलेर ११ हेक्टर क्षेत्रफलमा फैलिएको जग्गामा अलैँची रोपेका छन् ।

यो बर्ष ८ लाखदेखि ९ लाख विरुवा निकाल्ने गरि  नर्सरीको तयारी भएको अध्यक्ष सापकोटाले बताए ।

गाजा सामुदायीक कृषि सहकारीका अध्यक्ष होमनाथ सापकोटा

अहिले जैमिनी नगरपालिकाको २ र ३ वडामा पर्ने साविकको दमेक गाविसका किसानले सहकारी मार्फत अलैँचीको फल र विरुवा दुवै उत्पादन गरेर बच्ने गरेका छन् । अहिले गाउँ गाउँबाट अलैचीका विरुवाको माग आउने गरेको छ । बजारमा विरुवाको माग बढेपछि किसानले नर्सरी विस्तार गरेका छन् ।

गाउँमा सहकारीले सुरु गरेको अलैँची खेती राम्रो भएपछि वरपरका अरु किसानले पनि बुझ्न आउने गरेका छन् ।

दमेकमा स्थानीय आनन्द अम्माई, झापाबाट आएर अलैची नर्सरी गरेका पारस काफ्लेले ठुलो परिमाणमा विरुवा उत्पादन गर्ने गरेका छन् ।

अरु स्थानीय किसानलेपनि साना ठूला नर्सरीबाट विरुवा उत्पादन गरिरहेका छन् । दमेकमा सहकारीसँगै व्यक्तिगत रुपमा पनि अलैँची खेती गरिएको छ।

 

 कतिले जग्गामा, केहिले जग्गा भाडामा लिएर वा सामुदायिक वनमा समेत अलैँची लगाईएको छ । अहिले बजारमा सुकेको अलैची र विरुवाको माग राम्रो भएकाले राम्रो आम्दानी गर्न सकिने किसानहरुले बताएका छन् ।

अलैची खेतीका लागि उत्तर फर्केको केही चिस्यान सहितको जमिन आवश्यक हुने हुने र दमेकमा यस्तो ठाउँ प्रशस्त भएकाले अलैँची खेतीका लागि यो ठाउँ उत्तम रहेको खेती गर्नेहरुको भनाइृ छ ।

सुरुमा खेर गएका जमिन, सामुदायिक वनहरुमा अलैँची खती गरिदै आएकोमा आम्दानी राम्रो हुने थाहा पाएपछि खेतीयोग्य जमिन मासेर अलैँची रोप्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्