६ जेष्ठ २०८१, आईतवार

 

यस्ता सम्भावना माझ गुमनाम छ ‘कालीलेक’

- कसैको चासो नपुगेकोमा दु:खी छन् स्थानीय

घनश्याम गौतम
गलकोट पर्यटकीय रुपमा धेरै सम्भावना बोकेको ऐतिहासिक ठाउँ हो । जहाँ घुम्टे लेक, गलकोट दरबार, निलुवा, कोटमैदान डुँडेलेक, तीनचुले, गाईघाट झरना, गाजा धुरी, निलुवा लगायत दर्जनौँ पर्यटकीय सम्भावनाका सम्पदा छन् ।

यी नाममा पनि छुटेको त्यस्तो एक प्रकृतीक सम्पदा छ, जुन प्रचार–प्रसार र पुर्वाधार विकासको अभावमा ओझेलमै छ । यो सम्पदा गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सिमा क्षेत्रमै पर्दछ । गलकोट नगरको वडा नम्बर–६ तथा २ र ताराखोला गाउपालिकाको १ नम्बर वडा अमरभुमीको विचमा पर्ने त्यो ठाउँ हो, ‘कालीलेक’

सरोकार पक्षको चासो र पुर्वाधार विकाससँगै प्रचार प्रसार हुन सके पर्यटकीय गन्तव्य नै बन्न सक्ने यो लेक अहिले ओझेलमा रहेको स्थानीय चन्द्र बहादुर बुढाथोकीले बताए । ‘केहि विद्यालयले अध्ययन भ्रमणका लागि विद्यार्थी लैजान्छन्, नजिक–नजिकका वासिन्दा घाँस दाउराका लागि पनि पुग्छन्,’ बुढाथोकीले भने, ‘यस बाहेक अरुलाई कालिलेक बारे जानकारी नै छैन ।’

कालीलेकमा स्थानीय दर्जनौं प्रजातिका जडिवुटी, बोटविरुवा, चराचुरुङ्गी र वन्यजन्तु पाईन्छन् । डाँफे, मुनाल, मयुर, खरायो, भ्याकुर, कालिज, मृग, घोरल, बाघ, भालु लगायत पाईने स्थानीय बताउँछन् । कालीलेकमा अहिलेको गलकोट नगर वडा नम्बर–२ र ६ तथा ताराखोला गाउँपालिका वडा नम्बर–१ का स्थानीयले आलु, मुला लगायतका सागसब्जी लगाउने गर्थे । अहिले भने त्यो पनि छोडिसकेको अर्का स्थानीय हिराबहादुर बस्नेतले बताए ।

गलकोटमा अहिले पर्यटन विकासमा विभिन्न सम्पदाको चर्च भएपनि कालीलेक अहिले पनि गुमनाम नै छ । यसको पर्यटकीय सम्भावनाको अध्ययन, विकास र प्रचार आवश्यक रहेको क्षेत्रबहादुर बुढाथोकीले बतााए । यहाँ जेठ असार महिनामा निउरो, गुएँली पाईन्छ । नेपाली खानामा प्रसिद्धी नै कमाएको तरकारी बनाउन प्रयो हुने गुन्द्रुक बनाईने बाँको पाईन्छ ।

ढकाओ, विभिन्न प्रजातीका साग पनि कालीलेकमा पाउन सकिन्छ । ढकाओ तथा बाँकोबाट बनाईने गुन्द्रुकको स्वाद छुट्टै हुन्छ । यसलाई अचार तथा तरकारिको रस बनाएर खान सकिन्छ । यो गुन्द्रुक घर, साना होटेल देखि ठुला होटेल र देशविदेशमा समेत प्रसिद्ध छ ।

यहाँबाट गलकोटका धेरै ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । अग्ला पहाड र हिमश्रृङखला देख्न पाईन्छ । लेकको चुलीबाट देखिने हिमश्रृङखलासँगै मजुवा फाँट, कोटमैदान, घुम्टे लेक, गाजा धुरी तथा दह जस्ता दृश्यले कस्को मन लोभिन्न होलार ?

कालीलेक गलकोटको एक अग्लो धुरी हो । १५ बर्ष पहिले २० देखि २५ गोठ रहेका यो लेकमा बर्षातको समयमा गार्ईबस्तुलाई चरनका लागि लाने गरेको प्रेमप्रसाद पाण्डे बताउँछन् । ‘त्यस बेला हामी खर्च बोकेरै लेकमा जाने गथ्र्यौं,’ उनले थपे, ‘दजर्नौं गाईभैसी पालिन्थ्यो, अहिले त युवा सवै विदेश गए, हामी पनि मझुवातिर झरियो ।’ उनले त्यसवेला लेकमै मुला, साग र आलु समेत लगाउने गरेकोा स्मरण गर्छन् ।

त्यहाँ कालीपोखरी र सेतीपोखरी गरि दुई ठुला तलाउ छन् । भर्षभरी नै पानीले भरिभराउ भईरहने कालीपोखरीको पानी गाईघाट झरनामा आउने गर्छ । लेक मजुवा फाँटदेखि त्यतीधेरै टाढा पनि पर्दैन ।

३ घण्टाको पैदल यात्रा पछि पुगिन्छ । अहिले त्यहाँ पुराना गोठका भग्नावसेस मात्र देख्न सकिन्छ । पहिले पहिले स्थानीयहरु गलकोटका विभिन्न ठाउँ र तारखोला क्षेत्रबाट पैदल यात्रामा कलीलेक हुदैँ अहिलेको रिजलचोक निस्केर सदरमुकाम बाग्लुङ बजारसम्म पुग्ने गरेकोे स्थानीय बलबहादुर बस्नेत बताउँछन् ।

उनले लेकमा पाईने विभिन्न जडिवुटीको देशविदेशमा समेत माग बढेको बताए । ‘त्यहाँ पाईने सटुवा, कालोकाफल, पाखनबेत, अजेरो, तेजपत्ता जस्ता जडिबुटी पाईन्छन्,’ बस्नेतले अगाडी थपे, ‘ यिनको स्थानीय रुपमा मात्र नभई देशका विभिन्न ठाउँ र विदेशदेखि पनि अहिले माग गर्ने क्रम बढेको छ ।’

यस्ता धेरै सम्भावना बोकेको कालीलेकको सम्पदा मार्फत आम्दानी भित्र्याउन आवश्यक छन । प्रकृतीको धरोहर कालीलेकलाई पर्यटकीय गन्तब्य बनाउन सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।

लेखक गौतम सामुदायीक रेडियो गलकोटका स्टेशन प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्