७ जेष्ठ २०८१, सोमबार

 

‘ताराखोलालाई समृद्ध गाउँपालिका बनाउँछौँ’ : अध्यक्ष प्रकाश घर्ती

मुलुक संविधान कार्यान्वयनको चरणमा छ । पहिलो र दोस्रो चरणका निर्वाचनमार्फत् धेरैजसो स्थानीय तहमा जनप्रतिनिधि पुगिसकेका छन् । विकास र समृद्धिको जनचाहना पूरा गर्ने दायित्व बोकेर गएका जनप्रतिनिधिका कार्ययोजना के–के छन् ? बागलुङको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरसँग गरिएको संवाद :

स्थानीय तहको गठनपछि निर्वाचन पनि सम्पन्न भएको छ । कामका प्राथमिकता कसरी तय गर्नुभएको छ ?
राजतन्त्र अन्त्य भएसँगै नारायणहिटीको अधिकार सिंहदरबारभित्र गयो । स्थानीय तहको निर्वाचनपछि सिंहदरबारको अधिकार गाउँघरसम्म पुग्ने वातावरण बनेको छ । जनताको आकांक्षा असिमिति छन्, तिनलाई पूरा गर्न प्रयत्न गर्नेछु । तर, मेरै कार्यकालमा जनताका सबै आकांक्षा, चाहना, आवश्यकता पूरा हुन्छन् भन्ने होइन । म मेरो कार्यकाललाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्दैछु ।

विकासका प्राथमिकतालाई कसरी प्राथमिकीकरण गर्नुभएको छ ?
मैले पहिलो प्राथमिकतामा सडकलाई राखेको छु । कृषिको व्यावसायिकरण्, पर्यटन विकास, उद्योग–कलकारखानाको स्थापनालगायत सबै कुराका लागि सडक पहिलो शर्त भएकाले यसमा मेरो विशेष ध्यान रहेको छ । अहिले हाम्रो गाउँपालिकासम्म आवत–जावतका लागि जुन सहिद मार्ग छ, त्यसको स्तरोन्नति आवश्यक छ । बागलुङ सदरमुकामबाट रिजालचोक पुगेपछि मध्यपहाडी लोकमार्गलाई छाडेर अमरभूमि, अर्गल हुँदै सहिद मार्ग अघि बढ्छ । यो मार्ग आयात निर्यात दुवैका लागि प्रमुख मार्ग हो । ताराखोला गाउँपालिकाको विकास र समृद्धिमा कोशेढुंगा बन्न सक्ने भएकाले रणनीतिक महत्वको यो सडक मेरो विशेष प्राथमिकतामा छ । यो सडकमा थुप्रै जनताको रगत पसिना बगेकाले पनि यो मार्गको स्तरोन्नति गरी यसै आर्थिक वर्षभित्र कालोपत्रे गर्ने योजना बनाएको छु । यस्तै, गलकोट नगरपालिका–हटिया–घुस्मेली हुँदै ताराखोला–म्याग्दीको तातोपानीसम्म जाने सडकलाई पनि व्यवस्थापन गर्ने मेरो प्राथमिकता छ । यसैगरी प्रत्येक वडालाई सडक सञ्जालले जोड्ने सोच बनाएको छु ।

सडकपछि तपाईंको प्राथमिकता के हुनेछ ?
सडक सञ्जालपछि मेरो ध्यान शिक्षाको विकास र स्वास्थ्य उपचारको सहज व्यवस्थामा रहेको छ । थोरै आर्थिक उन्नति गरेपछि शिक्षा र स्वास्थ्यको असुविधा देखाएर आफ्नो गाउँघर छाड्ने, बसाई सरेर अन्यत्र जाने क्रम लामो समयदेखि चल्दै आएको छ । यसलाई रोक्न पनि शिक्षा र स्वास्थ्य उपचारको व्यवस्थामा जोड दिनुपर्छ भन्ने मलाई लागेको छ । एकैपटक ठूलो परिवर्तन त सम्भव छैन, तर हाम्रो गाउँपालिकामा भएका सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा काम गर्नुपर्ने मैले ठानेको छु । सामुदायिक विद्यालयमा पढेपछि उच्च शिक्षा हासिल गर्न सकिँदैन, दक्ष बन्न सकिँदैन भन्ने हिनताबोध रहेको देखिन्छ । त्यो अन्त्य गर्दै विद्यार्थी, अभिभावक र शिक्षकमा आत्मविश्वास जगाउने र सामुदायिक विद्यालयमा सुधार गर्नुपर्ने मैले जरुरी देखेको छु । स्वास्थ्य क्षेत्रको सुधारका लागि पनि छलफल चलिरहेको छ । संविधानमा स्वास्थ्य उपचारलाई मौलिक हक भनिएको सन्दर्भमा सरकारका संयन्त्रका रूपमा रहेका स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी सुविधासम्पन्न बन्न सकेका छैनन् । दक्ष चिकित्सकाको व्यवस्था गर्ने, प्रविधिसम्पन्न बनाउने र आम जनतालाई गाउँमै पनि स्वास्थ्य सेवा पाउन सकिन्छ भन्ने विश्वास जगाउने काम गर्नुपर्छ भनेर म लागिपरेको छु ।

ताराखोलामा कृषि र पर्यटनको क्षेत्रमा विकासको कत्तिको सम्भावना छ ?
कृषि र पर्यटन विकासबाट आर्थिक लाभ लिन सकिने प्रशस्त सम्भावना छ । व्यावसायिक कृषिका लागि प्रशस्त जग्गा छ । हामी केटाकेटी भएकै वेलाको केरा हो, एउटै घरबाट १०–१५ वटासम्म भैँसी चरनका लागि जंगलमा छाड्ने र साँझ ल्याउने गरिन्थ्यो । अहिले घट्दो क्रममा छ । तै पनि २४, २५ सय घरधूरी रहेको तारखोलाका प्रत्येक घरमा दुई–तीनवटा भैँसी पालिएका हुन्छन् । तर, बाटोको असुविधा, दूध संकलन केन्द्रहरूको अभाव तथा बजारको अभावमा उत्पादित दूधबाट आर्थिक लाभ लिन सकिएको छैन । चरन क्षेत्रहरू प्रशस्त भएकाले व्यावसायिक रूपमा दूध उत्पादन गरेर मनग्गे आर्थिक लाभ लिन सकिने सम्भावना भएकाले विज्ञहरूको सहयोगमा व्यावसायिकरणमा जोड दिने सोच बनाएको छु ।
यसैगरी, सांस्कृतिक पर्यटनको पनि प्रचुर सम्भावना छ । अग्ला अग्ला हिमाल वा ताल, सिमसार क्षेत्र वा वन्यजन्तु अवलोकनको व्यवस्था नभए पनि यहाँका मगरहरूको ‘भुसपोल्ने पर्व’ नेपालमै मौलिक मानिन्छ । विभिन्न जाति र भाषाभाषी र समुदायको पहिचान बोकेका धेरै पर्व, मेलाले सांस्कृति पर्यटनको विकास छ भन्ने देखाउँछ ।
यसभन्दा अलग्गै मैले ताराखोलालाई ‘युद्ध पर्यटन’का हिसावले पनि विकास गर्न सकिन्छ भन्ने ठानेको छु । किनभने यहाँ हिजोको दश वर्षे जनयुद्धका वेला तत्कालीन माओवादीका जनसेनालाई तालिम दिने गरिन्थ्यो । २१, २२ जना सहिद हुनुभएको छ । थुप्रै घरहरू ध्वस्त भएका छन् । थुप्रै गुरिल्ला पदमार्गहरूको सम्भावना छ । त्यसैले यी सबै कुरालाई समेटेर एउटा जीवित संग्रहालय जस्तै यसको विकास गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

आर्थिक उपार्जन गर्ने अन्य स्रोत के–के छन् ?
घना जंगलका कारण प्रशस्त हरियाली छ । घर छाउने स्लेट ढुंगोको खानी छ । त्यसको सही सदुपयोग गर्दै ‘स्टोन सिटी’का रूपमा विकास गर्न सकिन्छ । यसलाई पनि आर्थिक उपार्जनको बलियो स्रोत बनाउन सकिन्छ । यस्तै, यहाँ जतिबुटीको प्रशस्त उत्पादन हुन्छ, त्यसको व्यावसायिक उत्पादन गरेर पनि राम्रो लाभ लिन सक्छौँ ।

सरकारले दिने आर्थिक सहायता विकासका पूर्वाधार निर्माणका लागि पर्याप्त होला ?
अवश्यक पनि हुँदैन । सरकारले दिने सहायताको भरमा मात्र विकासका अपेक्षा पूरा गर्न सकिँदैन । यो सुरुवाती हो । यसले तत्काल गर्न सकिने कामको लागि बजेट व्यवस्था गरेको छ । कार्ययोजना निर्माण गर्न र काम सुरु गरिहाल्न यसले मद्दत गरेको छ । अन्ततः हामीले हाम्रो आफ्नै स्रोतलाई बलियो नबनार्ई हुँदैन । हामी त्यसतर्फ सचेत छौँ र कार्यक्रम पनि तय गर्छौं । हामी सबैले इमान्दार पहल गर्यौँ भने हामी ताराखोलालाई समृद्ध गाउँपालिका बनाउन सक्छौँ ।

अलिकति तपाईंको राजनीतिक पृष्ठभूमिको कुरा गरौँ, बन्दुकबाट सत्तामा पुग्ने भन्दै युद्धमा होमिएको व्यक्ति जनताको मतबाट स्थानीय सरकारको प्रमुखमा बन्नुभएको छ । कस्तो अनुभूति हुनेरहेछ ?
पार्टीको निर्देशन र योजना कार्यान्वयन गर्ने क्रममा बन्दुक बोकेर लड्नुभन्दा जनताको मत जित्ने कुरा कठिन रहेछ । प्रतिस्पर्धात्मक राजनीतिमा आफूलाई अरुभन्दा अब्बल सावित गर्दै जनताको बीचमा लोकप्रिय हुनु र निर्वाचन जित्नु वास्तवमै कठिन काम रहेछ ।

सशस्त्र संघर्षमा भएका वेला कुनै दिन यसरी निर्वाचनको प्रक्रियामा सहभागी भइएला र जनमतबाट चुनिएर कार्यकारी पदमा पुगौँला भन्ने लागेको थियो ?
थिएन । पद प्रतिष्ठाको चासो पनि थिएन र चिन्ता पनि थिएन । मुख्य कुरा, यो समाजमा अन्याय अत्याचार छ । थुप्रै असमानता छन् । त्यो बदल्नुपर्छ, समानतामूलक समाज स्थापना गर्नुपर्छ भन्ने अठोट थियो । र, तत्कालीन नेकपा माओवादीको आह्वानमा भएको जनयुद्ध मात्रै त्यो अठोट पूरा गर्ने एउटा बाटो हो भन्ने लाग्थ्यो । त्यसैमा होमिइएको थियो । त्यसैले मनमा पद प्रतिष्ठानको विषयमा चासो, चिन्ता थिएन । कल्पना थिएन ।

युद्धमा त्यसरी होमिएको मान्छे यो अवतरणलाई कसरी लिनुभएको छ ?
हामीले बन्दुक बोक्ने वेलामा एकपटक विद्रोहको झण्डा उठाएपछि लक्ष्यमा नपुग्दासम्म बिसाउँदैनौँ भनिएको थियो । हामी त्यही सोच्थ्यौँ । तर, जुन प्रक्रियाबाट अहिले हामी यो ठाउँमा आइपुग्यौँ, त्यो अवतरणलाई विश्लेषण गर्दा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर तय गरिएको आवश्यकता थियो भन्ने लाग्छ ।

सभार : नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्