७ जेष्ठ २०८१, सोमबार

 

‘चुनौतीको चाङमा छौं, तर पनि काम गर्छौं’ : जोकलाल बुढा मगर (अध्यक्ष तमानखोला गाउँपालिका)

जिल्ला सदरमुकाम बाग्लुङ बजारबाट सदुरपश्चिममा पर्छ, तमानखोला गाउँपालिका । तमानखोला जिल्लाको हिसाबले बाग्लुङमा भए पनि समदरमुकाम आँउदा कतिपय स्थानीय म्याग्दी भएर आउनुपर्छ । विकटमा रहेको ठाउँलाई जिल्ला सदरमुकामले सँधै सौतेलो व्यवहार गरेको स्थानीयको गुनसो छ । राज्यको पुनःसंरचनापछि भौगोलिक रुपमा विकट गाउँपालिकाको विकास र प्रगतिको जिम्मा निर्वाचन मार्फत मतदाताले ३० वर्षीय जवान जोकलाल बुढामगर लाई सम्पिएका छन् । उनै बुढा मगरसंग जनप्रतिनिधिको रुपमा काम गर्दाका अनुभव, उनले गर्ने कामका योजना तथा चुनौतीहरुबारे पत्रकार संगम घर्तीमगरले गरेको कुराकानी ।

गाउँपालिका अध्यक्ष भएपछि के के काम गर्नुभयो ?
हामी पहिलो पटक स्थानीय सरकारको अनुभव र अभ्यास गर्दैछौं । नयाँ संरचनामा काम गर्दा शुरुका दिनमा केही असहज र अलमल हुनु स्वभाविक हो । मैले चुनावी अभियानमा मत माग्दै जाँदा यहाँको शैक्षिक सुधारको क्षेत्रमा पहिलो काम गर्छु भनेको थिएँ । म अहिले पनि त्यही शैक्षिक सुधारको काममा छु । पातलो छरिएर रहेको बस्ती छ ।

५०—१०० घरका लागि एउटा विद्यालय त छ । त्यहाँ पुग्न पनि एक डेढ घण्टा हिँड्नुपर्ने अवस्था छ । भौगोलिक रुपमा पिछडिएको ठाउँ भएकाले हाम्रो काममा सबैभन्दा ठूलो बाधा बनेर भूगोल देखिएको छ । यहाँका विद्यालयमा फर्निचर थिएनन्, विद्यार्थीहरु चिसो भुँइमा बसेर पढ्नुपथ्र्यो । हामीले अहिले डेस्क बेन्चको व्यवस्था गरेका छौं ।

विद्यार्थीको लागि शैक्षिक सामग्रीको व्यवस्था गरेका छौं । दराज टेबलहरुको व्यवस्था मिलाएका छौं । हेर्दा र सुन्दा सामान्य जस्तो लाग्ने तर अति जरुरी कामहरुबाट हामीले कामको शुरुवात गरेका छौं । अर्को काम त हामीले हालै मात्र गाउँसभा सम्पन्न गरेर गाउँपालिका नीति कार्यक्रम बनाएका छौं । बजेट विनीयोजन गरेका छौं ।

बजेट तथा नीति कार्यक्रममा के कस्ता योजना समावेश गर्नुभएको छ ?
बजेटमा हामीले पहिलो प्राथमिकता पूर्वाधार निर्माणलाई दिएका छौं । पूर्वाधारमा पनि सडक र विद्यालयको भौतिक संरचना निर्माण पहिलो रोजाईमा राखेका छौं । यहाँको मुख्य समस्या भनेकै विद्यालयको भौतिक संरचना गतिलो नहुनु, सडकहरु बाह्रै महिना गाडी चल्ने नहुँदा यहाँका स्थानीयले उत्पादन गरेका वस्तुले बजार नपाउनु हो ।

यहाँको स्थानीयसंग प्रत्यक्ष सरोकार राख्ने यसो समस्या पहिले हल गर्न सक्यौं भने यहाँको जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउन सक्छौं भन्ने लाग्छ । हामीले आवश्यकता र प्राथमिकताका आधारमा अल्पकालिन र दिर्घकालिन कार्यक्रम बनाएका छौं ।

अल्कालिन र दिर्घकालिन कार्यक्रममा के के छन् ?
तत्कालै समाधान गर्नुपर्ने र सानो बजेट र थोरै समयमा गर्न सकिने कामहरुलाई अल्पकालिन योजनामा समावेश गरेका छौं । गोरेटो बाटो सुधार, झोलुङ्गेपुल मर्मत, खानेपानीको मर्मत सुधार जस्ता यहाँका जनताको दैनिक जीवनमा हर दिन जोडिने विषयहरुलाई अल्पकालिन कार्यक्रममा समावेश गरेका छौं । विभीन्न ठाउँमा झोलुङ्गे पुलका फल्याक खसेका छन् । त्यही मैले मोटरेबल पुल हाल्छु भनेर कुरेर बस्ने अवस्था नै छैन । तत्काल मर्मत गरिहाल्नुपर्नेछ ।

त्यस्ता ठाउँहरुलाई अल्पकालिन कार्यक्रममा समावेश गरेर तत्काल कार्यान्वयन गर्नेगरी योजना ल्याएका छौं । दिर्घकालिन कार्यक्रममा सडक, मोटरेवल पुल लगायतका काममा बजेट छुट्याएका छौं । अन्य कार्यक्रमहरु यो पहिलो वर्ष भएर पनि अध्ययन र कार्ययोजना बनाउनका लागि बजेट छ । छरिएको बस्ती भएकाले सरकारले पु¥याउने सेवा सुविधाहरु सबै जनताले एकनासले उपभोग गर्न पाएका छैनन् । हामी यहाँको भौगोलिक समस्यालाई हल गर्न एकिकृत बस्ती विकास गर्नेगरी योजना बनाउने तयारीमा छौं ।

जसले गर्दा हामीलाई शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, खानेपानी लगायतका सेवाहरु प्रवाह गर्न पनि सहज हुनेछ । यहाँ स्वरोजगारको स्थापना, पर्यटन क्षेत्रको सम्भावनाबारे पनि अध्ययन गर्दैछौं । जडिबुटीको अनुसन्धान र त्यसको निकासी, कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धिका लागि के गर्न सकिन्छ भन्नेबारे योजना निर्माण गर्दैछौं ।

यहाँले स्वरोजगार र कृषिको कुरा गर्नुभयो । स्वरोजगार बनाउन के कस्ता कार्यक्रम गर्दैहुनुहुन्छ ?
तमानखोला कृषिमा मकै र आलु उत्पादनका लागि राम्रो ठाउँ हो । आलुको पकेट क्षेत्र पनि घोषणा भएको छ । व्यवसायीक रुपमा आलु खेति गर्न सकिन्छ । मकै र सिमी पनि राम्रो उत्पादन हुन्छ । त्यसलाई पनि व्यवसायिक बनाउन सकिन्छ । त्यसका साथै पशुपालन, बाख्रापालन गर्नका लागि राम्रा ठाउँ छ । हामीले कृषि र पशुपालनलाई प्रोत्साहन गर्ने नीति बनाएका छौं ।

कृषि उपजको उत्पादन देखि बजारीकरणसम्म हामीले सघाउनेछौं । व्यवसायीक रुपमा कृषि पशुपालनमा लाग्न चाहानेहरुलाई ५० प्रतिशतसम्म अनुदान अनुदान सहयोग गर्ने कार्यक्रम छ । युवाहरुलाई स्वरोजगार बनाउने सीपमूलक तालिम दिने तयारी छ । यो वर्ष प्रत्येक वडाबाट पाँच जनाको दरले ३० जना युवालाई तालिम दिएर आफ्नै खुट्टामा उभिने बनाउँदैछौं । हामीले यहाँ सञ्चालन गर्ने विकास निर्माणका कार्यका लागि काम गर्ने जनशक्ती पाउन मुस्कील परेको छ ।

विदेशमा १८ घण्टासम्म काम गर्न तयार हुने नेपाली युवालाई यही बसेर कम्तीमा ८ घण्टा काम गर्ने वाताबरण बनाउने हाम्रो कोसिश छ । हाम्रो चलन यहाँ बस्दा कामलाई हेला गर्ने पनि छ । कामको सम्मान गर्ने बानी बसाल्न सक्यौं भने आम्दानीका बाटोहरु खुल्छन् भन्ने महशुस गराउनेछौं ।

तमानखोला दलितहरुको सघन बस्ती भएको ठाउँ पनि हो । उनीहरुलाई कसरी सम्बोधन गर्दैहुनुहुन्छ ?
यहाँको दलित बस्तीमा शिक्षा र चेनताको पहिलो खाँचो हो । हामीले शिक्षा, स्वास्थ्य र सरसफाई कार्यक्रमलाई एकिकृत गरेर दलित बस्तीमा जाँदैछौं । सबैभन्दा पहिले त उनीहरुको चेतनास्तरमा परिवर्तन ल्याउनुपर्नेछ । अहिले हामी गाउँपालिकाको वस्तुगत विवरण निकालेर एउटा प्रोफाईल तयार गर्दैछौं ।

त्यसको आधारमा दलित बस्तीलाई नमुना बनाउनेगरी कार्यक्रम ल्याउँछौं । अहिले सचेतना र शसक्तीकरणका कार्यक्रम छन् । गरिबी र अशिक्षा यहाँको मुख्य शुत्र हो । त्यसको समाधानका लागि विस्तृत योजना बनाएर काम गर्छौं ।

स्थानीय सरकार हाम्रै लागि हो रहेछ भन्ने जनता आँफैले महशुस गर्नेगरी के काम गर्नु भयो ?
अवश्य गरेका छौं । हाम्रो गाउँपालिकामा मावि, आधारभूत र प्रावि गरेका २१ वटा सामुदायिक विद्यालय छन् । ती प्रायः सबै जसोमा निजी स्रोतका शिक्षक छन् । एउटा प्राविमा एक जना स्थायी दरबन्दी छ । विद्यार्थी संख्याको आधारमा हेर्दा त ४०—५० जना विद्यार्थीलाई एउटा शिक्षक ठिकै देखिन्छ । तर एउटा शिक्षकले कक्षा पाँचसम्म सबै विषय पढाउन सम्भव हुँदैन ।

भौगोलिक विकटताले विद्यालय मर्ज गर्न सकिने अवस्था छैन । तत्कालिन गाउँ विकास समितिमा आउने बजेटमा केही रकम चुँडेर तथा अभिभावले मानिस एक हजार रुपैयाँसम्म उठाएर निजी स्रोतबाट शिक्षक राखेर विद्यालय चलाउनुपर्ने अवस्था थियो ।

यो आर्थिक वर्ष देखि निजी स्रोतका शिक्षकको तलब गाउँपालिकाले व्यहोर्ने निर्णय गरेका छौं । यसले यहाँका अभिभावकले प्रत्यक्ष राहत महशुस गरेका छन् ।

गाउँपालिकामा काम गर्न के कस्ता चुनौती छन् ?
अहिले त हामी चुनौती नै चुनौतीको चाङले घेरिएका छौं । तर काम गर्छौं र गर्न सकिन्छ भन्ने आत्मविश्वास छ । अहिले मुख्य समस्या कर्मचारीको हो । कार्यकारी अधिकृत लेखापाल र एक जना नायब सुब्बाको भरमा काम गरिरहेका छौं । प्राविधिक कर्मचारीहरु छैनन् । त्यसले गर्दा स—साना काम गर्न पनि समस्या आएको छ ।

खानेपानीको मर्मत, झोलुङ्गे पुलको फल्याक खसेको मर्मत गर्ने काम पनि प्राविविकहरु नहुँदा रोकिएको छ । सिडीओ साब एलडिओ साबलाई फोन गर्दा कोही कर्मचारी आउनै मान्दैनन् भन्ने गर्नुहुन्छ । लागत योजना ईष्टीमेट निकाल्ने कर्मचारी नहुँदा विकासका कुनै पनि कामको योजना तयार गर्न सकेका छैनौं ।

गाउँपालिकालाई आत्मनिर्भर बनाउन के कस्ता कार्यक्रम सञ्चालन गर्ने भन्ने रुपरेखा कोर्ने विषयविज्ञ कर्मचारी नहुँदा समस्या ठूलो छ । भूगोल पनि हाम्रो चुनौती बनेको छ । लामो समयसम्म जनप्रतिनिधि विहीन हँुदा गाउँका विकास निर्माण कार्यहरु अस्तव्यस्त छन् । त्यसको सही व्यवस्थापन चुनौतीपूर्ण छ ।

स्थानीय तह निर्वाचनपछि जनताको हामीप्रतिको आकाँक्षा बढि र सिमित स्रोत साधनका बीच काम गर्नुपर्ने बाध्यताले अर्को चुनौती थपेको छ । गाउँपालिकालाई समृद्ध बनाउने आधारहरु पहिल्याउने प्रयासमा छौं । गाउँपालिकामा ३७ प्रतिशत जसंख्या निरक्षर र ३४ गरिबीको रेखामुनी छन् । उनीहरुको जीवनस्तरमा फरक अनुभूति गराउने गरी काम गर्ने प्रयासमा छौं ।

प्रतिक्रिया दिनुहोस्