२७ बैशाख २०८१, बिहीबार

 

किन रोकियो झिवाखोला–झिम्पा–ढोरपाटन पर्यटकीय पैदल मार्गको काम ?

- जुन पदमार्ग भएर स्थानीयसँगै गुल्मी, प्युठान र अर्घाखाँचीका समेत जान्छन् ढोरपाटन

चार बर्ष पहिलेदेखि सुरु गरिएको झिवाखोला–ढोरपाटन पर्यटकीय पैदल मार्ग निर्माणको काम बजेट अभावमा पुरा हुन सकेको छैन । निसीखोला गाउँपालिका–४ झिवाखोला बजारदेखि झिम्पागाउँ हुँदै ढोरपाटन पुग्ने पर्यटकीय पद मार्ग अहिलेसम्म ७ किलोमिटर मात्र बनेको छ ।
पर्यटन कार्यालय पोखराबाट प्राप्त २६ लाख रुपैयाँ बजेटबाट झिवाखोलादेखि झिम्पाको धुरीसम्म बाटो बनाईएको निमार्ण समितिका अध्यक्ष चिरञ्जीवि पौडेलले जानकारी दिए । आर्थिक बर्ष २०६८/६९ देखि लगातार चार बर्षसम्म बजेट आएपनि अहिले कुनै बजेट नभएपछि पदमार्ग निर्माणको काम रोकिएको उनले बताए ।

पैदलमार्गका लागि सुरुमा ५ लाख रुपैयाँ, त्यसपछि ६ लाख रुपैयाँ, अर्को बर्ष ५ लाख र चौथो बर्ष १० लाख रुपैयाँ गरि यो बजेट प्राप्त भएको थियो । आर्थिक बर्ष ७१/७२ पछि बजेट नभएको निर्माण समितिले जनाएको छ । पदमार्ग ‘पदमार्गलाई दुनेपँधेरासम्म लैजानुपर्छ, त्यहाँपुगेपछि सालझण्डी ढोरपाटन सडक भेटिन्छ,’ अध्यक्ष पौडेलले भने, ‘त्यो ठाउँसम्म पदमार्ग बनाउन अझै १ करोड भन्दा धेरै बजेट आवश्यक पर्छ ।’

बाहिरी जिल्लाबाट आउने पर्यटक तथा स्थानीयलाई समेत हिड्न सजिलो होस भनेर दुनेपँधेरासम्म पदमार्ग पु¥याउने लक्ष्य राखिएको पौडेलले बताए । जनैपुर्णीमा र बैसाख पुर्णीमाका बेला यो बाटो भएर हजारौँ पर्यटक तथा दर्शनार्थी ढोरपाटन पुग्छन् । निसीखोलाको ३, ४ र ५ वडाका स्थानीय नियमित यहाँबाट लेक–औल गर्ने गर्छन् ।

बोहरागाउँ, ओखरेनी, बडाचौर, मसालगाउँ, कारीगाउँ लगातबाट स्थानीयले आफ्ना पशुचौपाय ढोरपाटन लैजान्छन् । ढोरपाटनका अलावा बोबाङ पुग्ने यात्रुपनि यहि बाटो भएर जानुपर्छ ।

ढोरपाटन घुम्न र पुजाआजा गर्न गुल्मी, प्युठान र अर्घाखाँचीबाट आउने पर्यटक पनि यहिबाटो भएर जाने स्थानीय चक्रबहादुर रोकाले जानकारी दिए । यो बाटो भएर आउने पर्यटक झिम्पाको सुन्दर गाउँ, सम्मो परेको फाँट हेर्दै मन खुसी परेर ढोरपाटनको यात्रा गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्