२१ बैशाख २०८१, शुक्रबार

 

मोदी राज : ‘पनसारे, कलबुर्गी, दाभोलकर र अहिले लंकेश … अब कसको पालो ?

 भारतीय वरिष्ठ पत्रकार र दक्षिणपन्थीकी आलोचक मानिने ५५ वर्षीया गौरी लंकेशको मंगलबार बेलुका बेंगलुरुमा गोली हानी हत्या भएको छ ।
कथित हिन्दुवादी विचारधारालाई चुनौती दिने गौरी ‘लंकेश पत्रिका’ को सञ्चालक थिइन् । लंकेश पत्रिका उनका पिताले ४० वर्ष अघि सुरु गरेका थिए, पछिल्लो समय गौरीले यसको सञ्चालनको पूर्ण जिम्मेवारी लिएकी थिइन् ।

बेंगलुरुका पुलिस कमिश्नर सुनिल कुमारले बीबीसीसँग कुरा गर्दै मंगलबार बेलुका गौरी आफ्नो घर फर्किरहेका बेला घर बाहिरै उक्त हमला भएको जानकारी दिए । उनले भने, ‘हमला के कारणले गरियो, त्यसबारे अहिलेसम्म केही खुलेको छैन । यसको अनुसन्धान गर्नेछौँ ।’

नाम नबताउने शर्तमा एक पुलिस अधिकारीले भने, ‘गौरी जब राज राजेश्वरी नगरस्थित आफ्नो घरको ढोका खोलिरहेकी थिइन् तब हमलावरले उनको छातीमा दुईवटा र टाउकोमा एउटा गोली हाने ।’ उनीमाथि सातवटा गोली प्रहार भएकोमा तीनवटा उनलाई लागेको थियो ।

गौरीका पिता पी लंकेश एक पुरस्कार विजेता फिल्म निर्माता थिए । उनले सन् १९८० मा लंकेश पत्रिका सुरु गरेका थिए । गौरीको परिवारमा उनकी बहिनी कविता लंकेश, भाइ इन्द्रेश र आमा छन् । कविता लंकेश पनि राष्ट्रिय फिल्म पुरस्कार विजेता हुन् ।

कोबाट खतरा थियो गौरीलाई ?

पत्रकार राणा अय्युवका अनुसार गौरीलाई पछिल्लो समय श्रीराम सेनेजस्ता दक्षिणपन्थी विचारधारा बोक्ने संगठनबाट बारम्बर धम्की आइरहेको थियो । बिजेपीका एक नेताले उनीविरुद्ध मानहानीको मुद्दासमेत दर्ता गराएका थिए ।

‘सत्ताधारीहरुले नै यस्ता घटना घटाउने शक्तिहरुको टाउकोमा हात राखिरहेका छन्, यो ठूलो चिन्ताको विषय हो,’ मंगलेशले भने ।

‘म उनको लागि त्रासमा थिए, किनभने उनीबिरुद्ध मुद्दा दायर भएको थियो र हालैमात्र वारेन्ट पनि जारी भएको थियो,’ अय्युवले भने । उनका अनुसार देशमा नै दक्षिणपन्थीविरुद्ध सशक्त आवाज उठाउने उनी एक्लो महिला थिइन् ।

लेखक मंगलेश डबराल पनि गौरीको हत्या उनको विचारधाराको कारण भएको मान्दछन् । उनका अनुसार उनी पछिल्लो दुई वर्ष दक्षिणपन्थी शक्तिहरुको निशानामा थिइन् । ‘अन्ततः उनीहरु गौरीको हत्या गर्न सफल भएका छन्,’ मंगलेशले भने ।

उनका अनुसार कर्नाटकमा चाँडै चुनाव हुँदैछ त्यही भएर पनि दक्षिणपन्थी शक्ति र फासिस्ट चरमपन्थी शक्ति निकै सक्रिय भएका छन् ।

‘संघ परिवारका मानिसहरु जसरी पनि सत्ता हत्याउन चहान्छन् । मानिसहरुलाई धम्काउनेदेखि आतंक पैदा गरेर मानिसहरुलाई चुप गराउने कोशिस गर्नु उनीहरुले प्रयोग गर्दै आएको एक तरिका हो,’ उनले भने ।

एम एम कालबुर्गी, नरेन्द्र दाभोलकर र गोविन्द पानसरेको हत्या पनि समान तरिकाले भएको जिकिर उनले गरे । यी हत्याहरुमा सनातन संस्थाको नाम आए पनि अझै कारवाही नभएको उनले जानकारी दिए ।

‘सत्ताधारीहरुले नै यस्ता घटना घटाउने शक्तिहरुको टाउकोमा हात राखिरहेका छन्, यो ठूलो चिन्ताको विषय हो,’ मंगलेशले भने ।

गौरीको हत्यामा प्रतिक्रियाः
गौरीका हत्यापछि अहिले यसको चौतर्फी विरोध भइरहेको छ । नेपालको माइतीघर मण्डलामा फासीजमविरुद्ध स्वतन्त्रता र मानवताको पक्षमा भन्दै बुधबार अपरान्ह तीन बजे माइतीघर मण्डलामा उनको हत्याको विरुद्ध प्रदर्शनको आयोजना गरिएको छ । यस्तै, दिल्लीको प्रेस क्लबमा पनि अपरान्ह तीन बजे नै यसको विरोधमा पत्रकारहरु एकजुट भइरहेका छन् ।

कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले भने, ‘यो निकै दुःखद खबर हो । गौरी पत्रकार, लेखक र प्रगतिशील विचारकी थिइन् । उनले सधैं कट्टरपन्थीका विरुद्ध आवाज उठाएकी थिइन् । उनको हत्या हुनु निकै दुःखद घटना हो । ’

‘मैले पुलिससँग कुराकानी गरेर घटनाको अनुसन्धानका लागि तीनवटा समूह बनाएर रिपोर्ट तयार गर्न आग्रह गरेको छु,’ सिद्धारमैयाले थपे ।
सिद्धारमैया र गौरीका पिता पुराना साथी थिए ।

यसअघि उनले एक ट्वीट गर्दै गौरीको हत्याको निन्दा गरेका थिए । उनले लेखेका थिए, ‘चर्चित पत्रकार गौरी लंकेशको हत्याले स्तब्ध बनाएको छ । यो जघन्य अपराधको भत्र्सना गर्नका लागि मसँग शब्द छैन । यो लोकतन्त्रको हत्या हो । गौरी शंकरको मृत्युका कारण कर्नाटकले एक प्रगतिशील आवाज गुमाएको छ । मैले एक राम्रो साथी गुमाएको छु ।’

गौरीका ती अन्तिम दुई ट्वीट…
गौरीको हत्याको सोसल मिडियामा पनि निकै चर्चा भइरहेको छ । उनी आफ्नो हत्या हुनु केही घण्टाअघिसम्म पनि ट्वीटरमा सक्रिय थिइन् ।

गौरीले आफ्नो ट्वीटर ह्यान्डलबाट  झुटो समाचारविरुद्ध ट्वीट गर्दै विभिन्न ट्वीटलाई रि–ट्वीट गरेकी थिइन् । उनले लगभग १२ घण्टा अघि रोहिंग्या मुसलमानमाथि लेखिएको एक लेखको लिंक पनि ट्वीट गरेकी थिइन् ।

गौरीको अन्तिम ट्वीटमा लेखिएको थियो, ‘हामीहरु केही फर्जी पोष्ट सेयर गर्ने गल्ती गर्दछौं । आउनुहोस्, एक अर्कालाई यसबारे सचेत गराऔं । एकअर्काको पर्दाफास गराउने कोसिस नगरौं ।’

राजदीप सरदेसाइले लेखे, ‘पंसारे,कलबुर्गी, दाभोलकर र लंकेश । अब कसको पालो ? यो के भइरहेको छ ? पछिल्लो मुद्दामा अहिलेसम्म किन कसैलाई दोषी ठहराइएको छैन ?’

आफ्नो अर्को ट्वीटमा गौरी लेख्छिन्, ‘मलाई किन यस्तो लाग्छ कि हामीमध्ये केही मानिसहरु आफ्नैबीच लडिरहेका छौं । जबकी हामीलाई सबैभन्दा ठूला दुश्मन को हो भनेर थाहा छ । हामी सबै आफ्नो सबैभन्दा ठूलो दुश्मनविरुद्ध एकजुट हुनुपर्छ ।’

यी ट्वीटमाथि उनको हत्यापश्चात् मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

मालविका लेख्छिन्, ‘हे भगवान, मलाई विश्वास भइरहेको छैन कि केही समय अघि गौरी लंकेशको हत्या गरिएको छ । ’

यद्यपी, केही यस्ता मानिसहरु पनि छन् जो आपत्तिजनक ट्वीट्समा गौरी लंकेशको हत्याको समर्थन गरिरहेका छन् ।

लंकेशको हत्यामा मानिसहरुको प्रश्नः
ट्वीटरमा क्रिकेटवालाले लेखेका छन्, ‘गौरी लंकेशसँग मेरो केही भेटघाट भएको थियो । मैले उनलाई एक जुझारु, निडर पत्रकारको रुपमा पाएँ । कसैको यहि कारणले किन हत्या हुन्छ ?’

एस इरफान हबिबले ट्वीट गरेका छन्, ‘गौरी लंकेशको हत्याले दुःखित मात्र नभई त्रसित पनि बनाएको छ । एक बहादुर पत्रकारको रुपमा असहमतीको मूल्य ज्यान गुमाएर चुकाउनु पर्यो ।’

भारतीय जनता पार्टीका नेता  र मोदी मन्त्रिमण्डलमा समावेश राज्यवर्धन सिंह राठौरले एक ट्वीटमार्फत गौरीको हत्याको निन्दा गरेका छन् ।

राजदीप सरदेसाइले लेखे, ‘पंसारे,कलबुर्गी, दाभोलकर र लंकेश । अब कसको पालो ? यो के भइरहेको छ ? पछिल्लो मुद्दामा अहिलेसम्म किन कसैलाई दोषी ठहराइएको छैन ?’

जावेद अख्तरले ट्वीट गरे, ‘दाभोलकर, पंसारे, कुलबर्गी र अब गौरी लंकेश । यदि एकै प्रकारका व्यक्तिको हत्या भइरहेको छ भने कस्तो प्रकारका मानिसहरु हत्यारा हुन् ?’

दाभोलकर, पंसारे, कलबुर्गीका हत्यारा को ?
साथै, सन् २०१५ मा यसरी नै भारतीय विद्वान र चर्चित तर्कवादी विचारक डा. एमएम कलबुर्गीको पनि हत्या भएको थियो । उनलाई पनि घरकै ढोकामा गोली प्रहार गरिएको थियो। कर्नाटकको धारवाडमा रहेको उनको घरमा डा. कलबुर्गीका छात्र बताउने मोटरसाइकलमा सवार दुई युवकमध्ये एकले केही कुराकानीपश्चात् गोली प्रहार गरेका थिए । त्यसपछि हत्यारा बाहिर मोटरसाइकलमा पर्खिरहेका आफ्नो साथीसँग त्यहाँबाट भागेका थिए । उनीहरुबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । हत्याको अनुसन्धान सिबिआईलाई सुम्पिइएको छ । गौरीको विचार कलबुर्गीसँग निकै हदसम्म मिल्थ्यो ।

कलबुर्गीको मृत्युको कारणः
कलबुर्गीले मूर्तीपूजाको विरोधमा दिएको बयानले दक्षिणपन्थी हिन्दुवादी संगठनहरु आक्रोषित थिए । उनको हत्या यसैको उपज हो कि भनी पुलिसले अनुसन्धान गरिरहेको छ ।

उनको बयान पछि केही दक्षिणपन्थी संगठनले उनीविरुद्ध विरोध प्रदर्शन गरेका थिए । त्यसपछि हम्पी कन्नड विश्वविद्यालयका पूर्व भाइस–चान्सलरले पुलिस सुरक्षासमेत पाएका थिए । हत्यापछि हिन्दुवादी संगठनसँग जोडिएका मानिसहरुले सोसल मिडियामा उनको हत्यामा खुसी व्यक्त गरे ।

डा. कलबुर्गीले आफ्नै समुदायमा पनि केही दुश्मन बनाएका थिए । उनले उक्त समुदायको परम्परा र विश्वासमाथि विभिन्न कालखण्डमा खुल्ला रुपमा आलोचना गरेका थिए । कर्नाटकको राजनीतिमा लिंगायत एक प्रभावशाली हिन्दू समुदाय हो । कर्नाटकको कूल जनसंख्यामध्ये १२ देखि १४ प्रतिशत लिंगायत छन् ।

राज्यमा लिंगायत समूदायसँग जोडिएका करिब दुई हजार मठ वा संस्थान छन् जसले विभिन्न व्यवसायिक कलेज संचालन गर्दछन् ।

वेबसाइट ‘द वायर’ मा रघु कर्नाडले कलबुर्गीको हत्याको सम्बन्ध लिंगायत समुदायको आन्तरिक जातीय कलह र राजनीतिक प्रभुत्वको संघर्षको नतिजा भएको बताए ।

कलबुर्गी वचन काव्यका विद्वान थिए । यो काव्य लिंगायत समूदायका आधार साहित्य मानिन्छ । वचन दैनिक पूजाजस्तै हुन्छ जसको प्रयोग साधारण मानिसहरु दैनिक जीवनमा गर्दछन् ।

कन्नड साहित्यका एक विशेषज्ञका अनुसार कलबुर्गी वचन काव्यको अत्यधिक उदार व्याख्या गर्दथे जुन आजको समावेशी र आधुनिक समाज अनुरुप थियो ।
कर्नाड लेख्छन्, ‘उनको व्याख्याले लिंगायतको धार्मिक मान्यता मात्र नभई राजनीति र अर्थशास्त्रका लागि पनि गहिरो मान्यता राख्दथ्यो ।’

एक मानवाधिकार संगठनका अनुसार सन् १९८९ मा १२ औं शताब्दिका सन्तमाथि लेखिएको उनको किताबका कारण कट्टरपन्थी लिंगायत निकै रुष्ट थिए । उनले उनको किताबलाई ‘धर्मद्रोह’ बताएका थिए ।

तब उनलाई पुलिस सुरक्षा दिइएको थियो । ४३ स्थानीय लेखक र विद्वानले एक समिती बनाएर उनको समर्थन गरेका थिए ।

उनले ‘लिंगायतलाई हिन्दु भन्न नमिल्ने’ बताएपछि कट्टरपन्थी लिंगायत उनीसँग अत्यधिक रिसाएका थिए ।

कलबुर्गीको हत्या हुनुभन्दा करिब दुई वर्ष पहिले पुणेमा एक अर्का तर्कवादी डाक्टर नरेन्द्र दाभोलकरको हत्या भएको थियो । उनको हत्याको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

यस्तै, यसै सन् २०१५ को फेब्रुअरीमा मराठीका प्रसिद्ध लेखक गोबिन्द पंसारेको पनि सबेरै गोली हानी हत्या गरिएको थियो । हत्याराबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

  साभार : रातोपाटी

प्रतिक्रिया दिनुहोस्