२२ बैशाख २०८१, शनिबार

 

बर्माको पक्षमा विश्वयुद्ध लडेका (नेपाली मुलका ९५ बर्षे) डिकबहादुरको जीवनकथा

बर्माको टमु जिल्ला सीतापुर गाउँ । अर्थात् त्यहाँको ‘मिनी नेपाल’ । गाउँमा बहुसंख्यक नेपालीभाषी छन् । यहीँ सीतापुरमा एकजना पूर्वसैनिक पनि बस्छन्, दोस्रो विश्व युद्धमा जापानी फौजलाई परास्त गरेका डिकबहादुर तिम्सिना । सन् १९२० मा बर्मामै जन्मिएका डिकबहादुर ९५ वर्ष नाघे । तर, जोस उस्तै छ ।

 यिनले ५ कक्षासम्म पढे । त्यसपछि बाबु रघुवीरको पदचाप पछ्याए । रघुवीर पहिलो विश्वयुद्धमा भिडेका थिए । सेनामा भर्ती हुँदा डिकबहादुरको उमेर पुगनपुग १८ वर्ष थियो । सन् १९४१ मा भर्ना भएका यिनले केही वर्ष सेवा गरे । भर्ती भएको वर्ष दिनमै दोस्रो विश्वयुद्धमा होमिए । यिनले जापानी फौजसँग लडे, बर्माका खातिर ।

जापानी फौजको हमलामा हजारौंले ज्यान गुमाए । सयौं गोर्खा सैनिक पनि त्यो युद्धमा परे । आफ्ना सयौं साथी गुमाएका डिकबहादुरचाहिँ संयोगले बाँचे । ‘हामीसँग सिंगल सर्ट हतियार र खुकुरी मात्रै थियो,’ उनले सुनाए, ‘उनीहरूसँग अत्याधुनिक हतियार थियो ।’ सहयोद्धाहरूलाई बाँधेर गोली ठोकेको दृष्य उनको मानसपटकमा अझै छ । ‘मलाई पनि बाँधेर बेनेटले घोंचे,’ उनले त्यो क्षण सुनाए, ‘हेर्दाहेर्दै साथीहरू मारिए ।’

सयौं सैनिक मारिँदा हेमबहादुर राई र उनी मात्रै जीवित थिए । उनीहरूलाई पनि जापानी सेनाले मर्‍यो भनेर छाडेर भागेका थिए । पछि हेमवहादुरको पनि निधन भयो । उनी भने चलाखीपूर्ण तरिकाले भागे । उनका हात पछाडि फर्काएर बाँधिएको थियो । बल्लतल्ल खोले ।

फौज गएपछि उनी उठेर भागे । केही समय जंगलै जंगल हिँडे । तिर्खाले प्याकप्याक भएका उनले आधा घन्टाजति हिँडेपछि एउटा खोल्सा भेटे र त्यहीँको पानी खाए । ‘त्यति बेला निकै मुस्किलले उम्किन सफल भएँ,’ डिकबहादुरले सुनाए, ‘नयाँ जीवन पाएँ । मुखबाट रगत बगिरहेको थियो । मर्छु कि क्या हो जस्तो लागेको थियो । देवी थानमा गएर भगवान्सँग बचाइदिन अनुरोध गरें । पञ्चबलि दिने भाकल गरें ।’

जंगलै जंगल २ घन्टाजति हिँड्दा उनी थाकेर हैरान भएका थिए । छातीमा ब्नेट लागेकाले रगत ब्गिरहेको थियो । बर्दी लपक्कै भिजेको थियो । झारपातले टाल्न खोजे, टालिएन । हिँड्दै जाँदा अलि पर आदिवासी (कचिन) समुदायका एक व्यक्ति आउँदै थिए । डिकबहादुरले ‘मलाई बचाउ’ भने तर उनले भाषा बुझेनन् । शरीरबट भल्भल्ती रगत बगेको देखेपछि ती व्यक्ति जंगलतिर पसे । ‘उनले एक किसिमको झार माडेर लगा भने उनले पनि चपाएर लगाइदिए,’ डिकबहादुरले सम्झिए ।

त्यसपछि कचिनको पछिपछि लागे डिकबहादुर । निकै हिँडेपछि घनघोर जंगलभित्र सानो बस्ती देखियो । उनलाई त्यहीँ राखियो । रिमरिम अँध्यारो भएपछि एकजना गाउँले आए । डिकबहादुरले ती व्यक्तिलाई सबै घटना सुनाउन खोजे तर उनले बुझेनन् । निकै बेरपछि ४/५ जना कचिन थपिए । संयोगले एकजना बर्माकै पूर्वसैनिक रहेछन् । उनी हिन्दी भाषा पनि बुझ्दा रहेछन् । त्यसपछि उनीहरू डिकबहादुरलाई छाडेर उनीहरू गए । ‘तँ आराम गरेर बसिराख, औषधि खोजेर ल्याउँछौं भनेर गए,’ उनले सुनाए, ‘दबाई पायो भने तँलाई बचाउन सकिन्छ, पाइएन भने मर्न पनि सक्छस् भने ।’ शरीरबाट रगत चुहिने क्रम रोकिएको थिएन, उनी पूरै शिथिल बनिसकेका थिए । ‘बाँच्छुजस्तो लागेको थिएन,’ उनले थपे, ‘उनीहरू बिहान आइपुगे । दबाई भेट्टाएछन्, त्यसपछि बाँच्ने आशा जाग्यो ।’ औषधि गाजरजस्तो तर सेतो थियो । त्यसलाई बाँसको चुङ्गेमा हालेर आगोमा निकै बेर उमालेपछि डिकबहादुरलाई खान दिए । साह्रै तीतो औषधि उनले बाँच्ने आशामा घट्घटी पिए । औषधि सेवनपछि उनी अचानक बेहोस भएछन् ।

केही घन्टापछि आँखा उग्रियो । दुई कचिन महिला खाने कुरा लिएर आएका थिए । छाडेर गए । नजिकै इसाई धर्मावलम्बीको गिर्जाघर रहेछ । गिर्जा घरका पास्टर पनि उनको स्वास्थ्य बुझ्न आए । तीन दिनपछि मान्छेहरू आएर भनेछन्, ‘डराउनु पर्दैन तलाई हामी बचाउँछु । त यही बसिराखिस् भने हाम्रो गाउँलाई पनि जापानी फौजले आगो लगाइदिन्छ त्यसैले तँलाई हामी लुकाएर राख्छौं ।’

उनीहरूले डिकबहादुरलाई जंगलभित्र एउटा सानो कटेरामा लगेर राखे । गिर्जाघरका पास्टर आएर ‘आई विल कम एगेन’ भनेर फर्किए । यसबीचमा उनको घाउ बिस्तारै बिसेक हुँदै गयो ।

केही दिनपछि सेल्टर सारे । ‘हामीसँगै बस, तेरो हामी यतै बिहे गर्दिन्छौं पनि भने । तर, मानिनँ,’ उनले भने । शरीरबाट रगत बग्न छाडेको थियो । गाउँलेले हिँडाएरै उनलाई मचिना भन्ने नेपाली बहुल गाउँ पुर्‍याइदिए, ऐरावती नदी तारेर ।

आफन्तसँग भेट भयो । बाँचेर आएकोमा रुवावासी चल्यो । आमाबुवा चकित भए छोरो जीवितै फर्किएको देखेर । पछि रङ्गुन गएर यिनी पुन: सेनामा भर्ती भए । रङ्गुनवाट यिनलाई टाउजी भन्ने स्थानमा पठाइयो । तर, पछि कमान्डरले पुन: फर्काए । ‘मेरो घाउ देखेर युद्धमा जान दिइएन,’ उनले भने । केही समय कार्यालयभित्र काम गरेपछि यिनी रिटायर्ड भए । सुरुमा ८ रुपैयाँ पेन्सन पाउँथे । अहिले १४ हजार क्याट (११४५ रुपैयाँ) थाप्छन् । जापानी फौजवाट बर्मालाई बचाउन यिनले युद्ध धेरै लडे । जापानी फौज सन् १९४५ मा पराजित भएर फर्कियो । त्यसमा डिकबहादुरको पनि योगदान छ । तर, पेन्सनचाहिँ थोरै छ । ‘अन्यायमा परेको छु,’ यिनको गुनासो छ, ‘तर, एक दिन अवश्य न्याय पाउँछु ।’

अहिले पनि डिकबहादुर युद्ध लडेकै सपना देख्छन् । पानीमाथि बसेर फायरिङ गरेर जापानी फौजलाई लखेटेको देख्छन् । युद्ध लडेर बर्मालाई स्वतन्त्र वनाए पनि उनलाई बर्मेली सरकारले खासै सम्मान गरेन । एउटा पित्तलको तक्माबाहेक केही दिएको छैन । ‘बरु बर्मेली रैथानेले भन्छन्– तिमीहरूले युद्ध लडेर हामी स्वतन्त्र भयौ । त्यतिबेला गर्वले छाती फुल्छ,’ उनले आफैंलाई सान्त्वना दिए ।

डिकबहादुरको पुख्र्यौली नेपालको तेह्रथुमतिर हो । नेपालको सम्झना ज्यादै आउँछ रे यिनलाई । केही समयअघि नेपाल आएका थिए, तीर्थका लागि । ‘नेपालमा आफन्त छन् । सम्पर्क छ । नेपाल जौ जौ लाग्छ । तर, घर, जग्गा, जमिन केही नभएकाले दु:ख पाइन्छजस्तो लाग्छ,’ उनले भने, ‘अब एकपटक नेपाल पुग्ने हिम्मत छ । तर, जान सक्छु सक्दिनँ थाहा छैन ।’ नेपालमा राजतन्त्र मासेपछि जनताले सुख पाएको भन्ने सुनेको उनले बताए ।

डिकबहादुरका पुर्खा नेपालबाट करिब २ सय वर्षअघि बर्मा पुगेका थिए । सेना भर्तीका क्रममा पुगेका थिए । ‘बुबाले पहिलो विश्वयुद्ध लडे, बर्माका खातिर । म दोस्रो विश्वयुद्धमा होमिए, बर्माकै खातिर । देश जोगाउन हामीले बलिदान गरेका छौं,’ टुंग्याउनीमा उनले भने, ‘त्यसैले बर्मेलीले हामीलाई असाध्यै माया गर्छन् ।’

पर्वत पोर्तेल/कान्तिपुर कोसेली

प्रतिक्रिया दिनुहोस्