
रोजगारीका लागि जापानमा गएर गाउँ फर्केका गलकोटका एक युवाले गाउँमै कुखुरापालन गरेर मनग्ने आम्दानी गर्न सफल भएका छन् । रोजगारीका क्रममा करिब ७ वर्ष जापान बसेर स्वदेश फर्केका गलेकाट नगरपालिका वडा नंं ५ हरिचौर, बागलुङका ललित श्रीसले गलकोटमै पहिलो पटक शुरु गरिएको लेयर्स जातको कुखुरा पालनबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
गलकोट नगरपालिका–५ हरिचौर लाम्पाटामा ८ रोपनी जग्गामा कुखुरापालन गरेका श्रीसले १ रोपनी जग्गामा सुन्तला र तरकारी खेती समेत गरेका छन् । जापानको सफल सुन्तला खेती देखेर गाउँमा सुन्लता खेती गर्ने लक्ष्यका साथ गाउँ पसेका श्रीसले सुन्तला खेतीसंगै कुखुरापालन गरेर गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।
शुरुमा १० लाख लगानी गर्ने योजनाका साथ कुखुरापालन व्यवसाय शुरु गरेका ललितले ६० लाख लगानी गरेका छन् । अण्डा उत्पादन हुन थालेपछि विक्री वितरणका लागि गाडी समेत खरिद गर्दा ६० लाख लगानी भएको छ, उनले बताए । व्यवसाय गर्नका लागि गलकोट वचत तथा ऋण सहकारी संस्था लिमिटेड र जनएकता कृषि तथा पशुपालन सहकारी संस्था हरिचौरबाट कर्जा लिएको उनले जानकारी दिए । २०७३ को असोजदेखि कुखुरा फारम शुरु गरेका श्रीसले गत चैतदेखि अण्डा विक्री गर्न थालेका हुन् ।
१ हजार ७ सय चल्ला ल्याएकोमा हाल १ हजार ६ सय ६२ कुखुरा रहेको र दैनिक १ हजार ६ सय अण्डा उत्पादन हुने गरेको श्रीसले बताए । उत्पादन भएको अण्डा बिक्री गरी हाल दैनिक १८ हजार रुपैंया आम्दानी हुन थालेको हो । चितवनबाट दाना ल्याउँदा खर्चिलो हुनाले १२ हजार जति दैनिक खर्च हुन्छ, दैनिक ६ हजार नाफा हुने गरेको श्रीसको भनाइ छ ।
ठाउँको हिसावले पनि बाहिरबाट आउने अण्डा भन्दा बढी स्वादिलो हुने भएकाले हाल गलकोट र ताराखोला क्षेत्रमै उनले उत्पादन गरेका अण्डा खपत हुने गरेका छन् । गलकोट नगरपालिकाको हरिचौर, हटिया, नरेठाटी, मल्ल, काडेवास तथा ताराखोला गाउपालिका अन्तर्गत तारा, हिल, अर्गलमा अण्डा विक्री हुने गरेको छ ।
खोर निर्माण, चल्ला खरीद लगायत गरि सुरुमा करिब ३५ लाख खर्च भएको र गाडी समेत गर्दा ६० लाख लागत लागेको श्रीसको भनाई छ । अर्को रोचक पक्ष के छ भने श्रीसले पालेका कुखुरालाई एफएम रेडियो सुन्ने बानी परेको छ । शुरुदेखि नै रेडियो सुनाउने गरेको, कहिलेकाही रेडियो प्रशारणमा समस्या आयो भने कुखुरालाई व्यवस्थापन गर्न गाह्रो पर्छ, श्रीसले भने ।
‘जापानमा मासिक २ लाख रुपैयाँ आम्दानी हुन्थ्यो तर धेरै दुख थियो, अर्काको काममा खटाए अह्राएको काम गर्नू पर्ने,’ श्रीसले भने, ‘समयमा खान र सुत्न समेत नपाइने अवस्था थियो ।’ ‘यहाँ परिवारसंगै बसेर जापानमा जति नै पैसा कमाउन सकिन्छ भने किन विदेशिनु प¥यो ?’ उनी प्रश्न गर्छन् । फरक तरिकाले गर्न सके स्वदेशमै पैसा कमाउन सकिने उनको अनुभाव छ ।
श्रीस भन्छन्, ‘युवा साथीहरु यही केही गरौँ, कमाउन विदेश जानैपर्छ भन्ने छैन ।’ ‘बैंक तथा वित्तीय संस्थाहरुले प्रतिफल नदिने क्षेत्रमा लगानी बढी गरिरहेका छन्, उनी अगाडी थप्छन्, ‘कृषि, पशुपालन, जलस्रोत र पर्यटनमा बढी लगानी गर्न सक्ने हो भने नेपालका युवाहरु विदेश होइन, विदेशका युवाहरु यो देशमा काम गर्न आउछन् ।’
यहाँको वातावरण नै काम गर्नका लागि सहज भएको उनको भनाई छ । ‘युवा पलायन रोक्नका लागि राज्यले उत्पादनमा लाग्नेहरुलाई प्रोत्साहन गर्नु पर्नेमा उनको जोड छ । गाउँमा पैसा टिप्ने डाली छ, विदेशमा गएर माली बनेका छौ, हाम्रो जस्तो देशका नागरिकका लागि यो भन्दा बढी दुखको कुरा के हुन सक्छ ?’ ललितले विदेश पलायनको पीडा सुनाए ।