एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर समितिले शैक्षिक माग सहित गलकोट नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापन पत्र प्रस्तुत गर्दै संगठन का गलकोट अध्यक्ष चूडामणि शर्माले जनताको बलिदानी पूर्ण संघर्षले मुलुक संघीय संरचनामा गएर स्थानीय तहको निर्वाचनबाट जन प्रतिनिधि निर्वाचित भएपनि गलकोट नगरपालिकाबाट जनताले सेवा सुविधाको प्रत्याभूति गर्न नसकेको र शैक्षिक क्षेत्रलाई वेवास्ता गरेकाले तत्काल शिक्षा कार्यालयको एकाइ सञ्चालन गर्न आग्रह गरेका थिए ।
दशै विदा अघि नै शिक्षक, कर्मचारी लाई तलव भत्ता उपलब्ध गराउनुपर्ने, सामुदायिक विद्यालयमा वस्तुगत आधारमा तत्काल शैक्षिक बजेट विनियोजन गर्नुपर्ने, संस्थागत विद्यालयमा लगाइएको अवैज्ञानिक कर खारेज गर्नुपर्ने, शैक्षिक नीति निर्माण र कार्यान्वयनमा शैक्षिक संगठनलाई प्रतिनिधित्व गराउनुपर्ने, नगरपालिकाको नीति निर्माणमा पारदर्शिता गर्नु पर्ने लगायतका माग सहित ज्ञापन पत्र बुझाएको थियो ।

शिक्षकका जायज मागहरू तत्काल सम्बोधन नगरे शिक्षकहरू आन्दोलनमा उत्रिन बाध्य हुने संगठनका सचिव हेम बहादुर बुढाथोकीले बताए ।
नगरप्रमुख भरत शर्मा गैरे र उपप्रमुख रेनुका काउचा कार्यालय नभएको र अन्य जनप्रतिनिधिलाई समेत निमित्त प्रमुख नतोकिएकाले कार्यालयका सुब्बाले ज्ञापनपत्र बुझेका थिए ।
‘नगरपालिकाका प्रमुख, उपप्रमुख कार्यालयमा हुनुहुन्थेन,’ संगठनका सदस्य भक्तबहादुर बष्टिले भने, ‘कुनैपनि जनप्रतिनिधिलाई निमित्त प्रमुख समेत नदिएको पाईयो, हामीले कार्यालयका नायब सुब्बा माधवप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएर फर्कियौँ ।’
ज्ञापन पत्र बुझाउन संगठनका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।























































































































































































