
एकीकृत अखिल नेपाल शिक्षक संगठन गलकोट नगर समितिले शैक्षिक जागरण अभियान सञ्चालन गर्ने भएको छ । संगठनको प्रथम पूर्ण बैठकले शैक्षिक जागरण अभियान सञ्चालन गर्ने नगरका सवै वडामा संगठन विस्तार तथा सुदृढीकारण कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठकले गत भदौ २९ गते गलकोट नगरपालिकामा दिएको ज्ञापनपत्रले आंशिक माग पूरा गरे पनि शिक्षकले चौमासिक तलव भत्ता खाँदै आएकोमा तीन महिनाको मात्र तलव निकासा गरेकोमा आपत्ति जनाएको छ । शिक्षकका जायज मागहरू पूरा गराउन थप कार्यक्रम समेत तय गरेको अध्यक्ष चूडामणि शर्माले बताए ।
बैठकले पेशागत र शैक्षिक अधिकारका लागि चरणबद्ध अभियान सहित नगरपालिकाका ११ वटै वडामा वडा सम्मेलन गर्ने निर्णय भएको उपाध्यक्ष सिर्जना घर्तीले बताइन् । बैठकमा बरिष्ठ उपाध्यक्ष वीरबहादुर चोखालले साङ्गठानिक प्रतिवेदन, अर्थ सचिव टोप बहादुर रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नगर समितिका सबै पदाधिकारी र सल्लाहकार सदस्यको उपस्थिति रहेको बैठक अध्यक्ष चूडामणि शर्माको अध्यक्षता, अर्थ सचिव टोप बहादुर रानाको स्वागत मन्तव्य र सचिव हेम बहादुर बुढाथोकी को सन्चालनमा सम्पन्न भएको थियो ।