३१ बैशाख २०८२, बुधबार

 

दशैँलाई भनेर चीनबाट बागलुङ भित्राईए सवा करोडका ७ सय भेडा च्याङ्ग्रा

दशैँ तिहारलाई लक्षित गर्दै बागलुङमा चीनबाट भेडा च्याङ्गा भित्रिएका छन् । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् ।

सवा एक करोड लगानी गरेर ल्याईएका भेडा च्याङ्ग्रा मध्ये ४ सय पोखरा पठाएको र बाँकी ३ सय बागलुङमै विक्रि गर्ने डोल्पा खानीगाउँका व्यवसायी काजी बुढा मगरले जानकारी दिए । चीनबाट भेडा च्याङ्ग्रा बुर्तिबाङ ल्याउन १२ दिन लागेको बुढाले बताए । ‘पुरै हिँडाएरै ल्याईयो, चीनदेखि हिँडाएको १२ दिनमा बल्ल बुर्तिबाङ आएका छौँ,’ मगरले भने, ‘यो बर्ष हामी पाँच जना साथी मिलेर ल्याएका हौँ, अघिल्ला बर्षहरुमा पनि दशैँ–तिहारका बेला चेलु च्याङ्ग्रा यता ल्याउँथ्यौँ ।’

उनले बिक्रिका लागि भेडा च्याङ्ग्रा बुर्तिबाङ खर्बाङ हटिया हुँदै बागलुङ बजारसम्म ल्याउने बताए । उनीहरुले ७ सय भेडा च्याङ्ग्रालाई एक करोड १७ लाखमा चीनबाट खरिद गरेर नेपाल ल्याएका हुन् ।

एउटा भेडा(चेलु) को १९ हजारदेखि २५ हजार रुपैयाँ र च्याङ्ग्राको २२ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्ममा विक्रि गर्ने गरेको व्यवसायीले बताएका छन् । ‘हामीले खरिद गर्दा नै महँङ्गो परेको छ,’ मगरले भने, ‘किन्नेहरुले बढी भयो भन्नुहुन्छ, के गर्ने यो पटक हामीले नै बढी पैसा तिरेर ल्याएका हौँ ।’

बुर्तिबाङ बजर र आसपासको क्षेत्रमा चेलु–च्याङ्ग्रा भित्रिएपछि व्यवसायी र गरिद गर्ने विच मोलमोलाई भईरहेको छ । दशैँ तिहारलाई भनेर स्थानीयले च्याङ्ग्रा किनेर राख्न थालेका छन् । अहिलेसम्म २५ वटा विक्रि गरिसकेको बुढा मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung