विद्यालय भवन बनाउन सरकारी अनुदान रकमले नपुगेपछि ताराखोलाका स्थानीयले १४ लाख रुपैयाँ श्रमदान गरेर ४ कोठे पक्कि भवन बनाएका छन् । ताराखोला गाउँपालिका–५ को दुर्गा भवानी माध्यमिक विद्यालयको ४ कोठे पक्कि भवन बनाउन ७२ लाख ४२ हजार ६ सय २७ रुपैयाँ लाग्यो ।

अध्यक्ष कुलबहादुर रोका भवन ढलानमा खट्दै
भवनको २०७३ असार २६ गते माओवादी नेता रामबहादुर थापा ‘बादल’ ले शिलान्यास गरेका थिए ।
बिनियोजन भएको बजेट नपुग भए पनि विद्यालयले ऋण र अभिभावकको श्रमदानबाट एक बर्ष भित्रै भवन निर्माण कार्य पुरा भएको हो ।
भवनका लागि जिल्ला शिक्षा कार्यलय बागलुङबाट प्राप्त ३० लाख ७० हजार रुपैयाँ, सांसद केशरी घर्तीको सांसद विकास कोष ५ लाख ९४ हजार रुपैयाँ, साबिक तारा गाविसबाट प्राप्त ५ लाख ४७ हजार रुपैयाँ गरि जम्मा ४२ लाख ११ हजार रुपयाँ मात्र सरकारी अनुदान आएको थियो ।

प्रअ टेकबहादुर घर्ती ढलानमा
भवन बनाउन स्थानीयवासीले १४ लाख रुपैयाँ बराबरको जनश्रमदान गरे । यती गर्दा पनि नपुगेपछि विद्यालयले १४ लाख १६ हजार ३ सय ८२ रुपैयाँ रकम ऋण खोजेर भवनको काम पुरा गरेको छ ।
‘माथिबाट आएको रकमले नपुग्ने देखेरै हामीले अभिबालकलाई झराली बोलाएर काम ग¥यौँ,’ विद्यालयका प्रधानाध्यापक टेकबहादुर घर्तीले भने, ‘१४ लाख भन्दा बढी त उहाँहरुले निशुल्क काम गर्नुभयो, अझ त्यतिकै हामीलाई ऋण लागेको छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर रोकाले अभिभावकको श्रमदानबाट समेत भवन पुरा नहुने भएपछि ऋण खोजेर बनाएको बताए ।
‘भवन बनाउनै बजेट पुगेन, तत्कालका लागि हामीले ऋण खोजेर काम चलाएका छौँ,’ अध्यक्ष रोकाले भने, ‘भवन मात्र सकिएको छ, डेक्स, बेञ्च र अरु फर्निचार कसरी जुटाउने भन्ने अर्को चिन्ता छ ।’
विद्यालयको कक्षा ९ र १० मा विद्यार्थी संख्या धेरै भएपछि दुई ओटा सेक्सनमा छुट्याएर पठन पाठन भईरहेको छ ।
विद्यार्थीको चापका कारण कक्षा कोठा नपुग भएपछि नयाँ भवन बनाईएको हो ।
कक्षा ६ देखि १० सम्मा विद्यार्थीको चाप धेरै रहेको प्रधानाध्यापक घर्तीले बताए ।
विद्यार्थी संख्याको आधारमा पर्याप्त शिक्षक दरबन्दी नहुँदा विद्यालयले अधिकांश शिक्षक नीजि स्रोतबाट तलब भत्ता दिने गरि नियुक्त गरेको छ ।
अभिभावकबाट रकम उठाएर शिक्षकलाई तलव खुवाउनु परेको प्रअ घर्तीले बताए । विद्यालयले प्रत्यक बर्ष नतिजा पनि राम्रो ल्याउने गरेको छ ।
अभिभावकबाट सहयोग जुटाएर कम्प्युटर शिक्षा र पुस्तकालय समेत सञ्चालन गरिएको छ । विद्यार्थीको चापको आधारमा दरबन्दी उपलब्ध गराउन बारम्बार माग गरेपनि सुनुवाई नभएको विद्यालयले जनाएको छ ।






























































































































































































