
म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको एक सामुदायीक विद्यालयको तह थप गर्न समुदायले एक करोड रुपैया जुटाएको छ । मालीका गाउँपालिका ५ देविस्थानमा रहेको भिम माविको स्तरवृद्धी गर्ने उद्देश्यले सञ्चालित चन्दा संकलन अभियान मार्फत सो रकम जुटेको हो । विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालीत अभियानका क्रममा समुदायबाट करिब एक करोड रुपैया जुटाइएको प्रअ डम्मरबहादुर घर्तीले जानकारी दिए ।
२०७३ बैशाख ६ गते देखि सुरु भएको अभियानको २०७४ असोज १७ गते विशेष समारोहको आयोजना गरि समापन गरिएको थियो । समापनका अवसरमा चन्दादाताहरुलाई सम्मान गरिएको थियो । स्थानीयबासी, विश्वका विभिन्न देश र नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने देविस्थान बासी, पूर्व विद्यार्थी, छिमेकी गाउँका बासिन्दा र म्याग्देलीहरुबाट सो सहयोग जुटेको हो ।
सो रकम खर्च कटाएर अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला सञ्चालनका साथै दश जोड दुई तह र प्राबिधिक विषयको कक्षा सञ्चालनमा परिचालन गर्ने लक्ष्य राखिएको अभियानका मुल संयोजक समेत रहरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुनले बताए ।
“देविस्थानबासीको अग्रसरता, समुन्नत समाज र गुणस्तरीय शिक्षामा हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ सञ्चालीत अभियानमा देविस्थान घर भई हाल काठमाडौ निवासी बेलायती गोर्खा सैनीकका सेवा निवृत क्याप्टेन जितबहादुर घर्तीले सबैभन्दा बढी बिस लाख रुपैया सहयोग गरेका छन ।
देविस्थान समाज काठमाडौले समेत अभियान सफल बनाउन सहयोग गरेको विद्यालयले जनाएको छ । दश हजार रुपैया भन्दा बढी सहयोग गर्नेहरुको विद्यालय परिसरमा स्थापना गरिने शिलालेखमा नाम राखिने भएको छ । अभियानको समापन गरिएपनि शिलालेख स्थापना नहुँदासम्म ईच्छुकले चन्दा दिन सक्ने विद्यालयले जनाएको छ ।
हाल कक्षा दश सम्मको पठनपाठन हुने सो विद्यालयमा २५६ जना विद्यार्थी अध्ययनरत छन् । देविस्थानका विद्यार्थीहरु एसईई तह उतिर्ण भएपछि उच्च शिक्षा हाँसील गर्न गाउँ छाडेर दरवाङ, ताकम, सदरमुकाम बेनी र जिल्ला बाहीर जाने गरेका छन् । गाउँमै उच्च शिक्षाको व्यवस्था भएमा गरिब, विपन्न समुदायका विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ ।