
आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि आईतबार म्याग्दीमा १८ जनाले उमेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीका राजनितिक दल र स्वतन्त्र उमेदवारहरु बाजागाजा र कार्याकर्ताको ¥याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका थिए । म्याग्दीमा नेकपा एमाले र माओवादी केन्द्र तथा नेपाली काँग्रेस र राप्रपाले तालमेल गरेर उमेद्वारी दर्ता गराएका छन् ।
प्रतिनिधीसभामा नेपाली काँग्रेसका खम्बिर गर्बुजा, नेकपा एमालेका भुपेन्द्रबहादुर थापा, राप्रपा (प्रजातान्त्रीकका) रुपनारायण श्रेष्ठ लगायत ७ जनाको उमेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत खेमराज पाठकले बताए । यसैगरी प्रदेशसभाको क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका बिनोद केसी, राप्रपाका भिमप्रसाद गौचन लगायत ६ जनाले उमेद्वारी दर्ता गरेका छन् । चुनावी तालमेलका क्रममा राप्रपालाई सघाउने पार्टीको निर्णयको बिरोध गर्दै नेपाली काँग्रेसका नेता नेत्रबहादुर महत र कर्णबहादुर भण्डारी (केबी)ले स्वतन्त्र उमेद्वारी दर्ता गराएको बताए ।
प्रदेशसभाको क्षेत्र नम्बर २ मा नेकपा एमालेकी नरदेवी पुन, नेपाली काँग्रेसका अमलाल फगामी लगायत चार जनाको उमेद्वारी परेको छ । मनोनयन दर्तापछि आयोजित कोणसभामा बाम गठबन्धनको प्रतिनिधिसभाका उमेद्वार थापा, प्रदेशसभा क्षेत्र न. १ का केसी र प्रदेस सभा २ का उमेद्वार नरदेवी पुनले संबिधानको पूर्ण कार्यान्वयन, राजनितिक स्थिरता, विकास र सम्बृद्धीका लागि एमाले, माओवादीलाई मतदान गर्न आग्रह गरे ।
७५ हजार ५३८ जना मतदाता रहेको म्याग्दीमा ७२ मतदान स्थल र १०२ मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ र मंगला, मालीका र धौलागिरी गाउँपालिका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता रहेका छन् ।