
आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाली काँग्रेसका तीन पूर्व सासंद् बागलुङबाट चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । वाम गठबन्धन विरुद्ध काँग्रेस उम्मेदवार एक्ला–एक्लै चुनाव भिड्दैछन् । काँग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि सहकारी निवारण तथा गरिबी निवारण राज्यमन्त्री एवम् पूर्व सासंद् चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ ।
राज्यमन्त्री खड्का २०७१ सालमा भएको संविधानसभा उपचुनावमा बागलुङ क्षेत्र नं. १ बाट विजयी बन्नुभएको थियो । यस्तै, २०६४ सालको संविधानसभा चुनावमा क्षेत्र नं. ३ बाट निर्वाचित निरज पुन अहिले क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि चुनाव लड्दै हुनुहुन्छ । २०७० सालको संविधानसभा चुनावमा क्षेत्र नं. २ बाट सासंद् बन्नुभएका प्रकाश शर्मा पौडेल अहिले क्षेत्र नं. १ को प्रदेशसभा (क) बाट चुनावी मैदानमा हुनुहुन्छ । वाम गठबन्धनसँग तिव्र प्रतिस्पर्धा हुने देखेर काँग्रेसले पुनः पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेको विश्लेषण गरिएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापाले जनताको बिचमा स्थापित नेतालाई पार्टीले उम्मेदवार बनाएको बताउनुभयो । जिल्लाको विकासमा तीनै पूर्व सासंद्हरुको उल्लेख्य योगदान रहेकोले जित हाँसिल गर्ने काँग्रेसको दावी छ । पार्टी सभापति थापा पनि निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (क) बाट चुनावी प्रतिस्पर्धामा छन । पाका, अनुभवी र नेतृत्व तहमा रहेका व्यक्तिलाई उम्मेदवार बनाइएपनि पार्टीभित्र असन्तुष्टी रहेको कतिपय नेताहरु बताउँछन् । असन्तुष्टीका बीचमा पनि एक ढिक्का भएर चुनावमा जाने काँग्रेस र वाम गठबन्धनका दलहरुले निर्णय गरेका छन् ।
अघिल्ला चुनावहरुमा एकल रुपमा चुनाव लड्दै आएको मुख्य वाम दलहरु अहिले तालमेल गरेर चुनाव भिड्दैछन् । वामपन्थीहरुको राम्रो प्रभाव रहेको मानिएको बागलुङमा नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनसँग नेपाली काँग्रेस एक्लैले चुनाव लड्दैछ । प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले एकल उम्मेदवारी दिदैँ चुनावी मैदानमा उत्रेको छ ।
एमालले एक प्रतिनिधिसभा र एक प्रदेशसभा, माओवादी केन्द्रले पनि एक प्रतिनिधिसभा र एक प्रदेशसभा र राष्ट्रिय जनमोर्चाले दुई प्रदेशसभामा उम्मेदवार पाएको छ । वाम गठबन्धले संयुक्त निर्वाचन परिचालन कमिटि बनाएर चुनाव प्रचारप्रसारमा जुटिसकेको छ । नेपाली काँग्रेस पनि चुनावी तयारीमा लागेको छ । २०७० सालमा भएको संविधानसभा चुनावमा जिल्लाका तीनै क्षेत्रमा नेपाली काँग्रेस विजयी बनेको थियो ।
गत वैशाखमा भएको स्थानीय तह चुनावमा भने सबै दलले मिश्रित परिणाम हात पारेका थिए । बागलुङका वाम दलहरुले जिल्लाभरको करिब ६० प्रतिशत जनसंख्याले वाम विचारधारा राख्ने दावी गर्दै आएका छन् । नेपाली काँग्रेसले पनि आफ्नो पकड मान्दै आएको बागलुङमा आगामी चुनावमा काँग्रेस र कम्युनिष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।