
राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि प्रविधि मैत्री योजना निर्माण र कार्यान्वयनमा जोड दिए । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले बिहिबार काठेखोला गाउँपालिकास्थित भीमसेन उच्च माविमा आयोजना गरेको सहकारी शिक्षा र आइसिटी सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन पछि बोल्दै उनले यस्तो बताएका हुन ।
समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्न आवश्यक रहेको भन्दै जिसीले त्यसको व्यवस्थापनका लागि अन्य क्षेत्रमा कसरी परिचालन भएको छ भन्ने जानकारी प्राप्त गर्नका लागि सूचना, सञ्चार र प्रविधिको उपयोगमा ध्यान दिनु पर्ने बताए ।समाज विकासमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहदै आएको जोड दिदै उनले नेपालको संविधानले परिकल्पना गरे अनुरुप समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी माध्यमलाई व्यवस्थित गराउन सहयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा भीमसेन मावि विहुका प्राचार्य रघुनाथ कंडेल र शिक्षक हित वचत तथा ऋण सहकारी संस्थाका सचिव दिनेश अधिकारीले शिक्षकहरुका लागि अध्यापन कार्यमा सहयोग गर्न प्रविधि र समाजको आर्थिक विकासका लागि सहकारी सम्बन्धी तालिमको प्रभावकारीताका बारेमा मन्तव्य रोखका थिए । शिक्षक हित वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सञ्चालक तथा शिक्षा उपसमितिका संयोजक डिल्लीराज उपाध्यायको सञ्चालन र शिक्षा उपसमितिका सदस्य भूमिराज गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
भीमसेन विद्युतिय पुस्तकालय विहुको प्राविधिक सहयोगमा सञ्चालित तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीको ऐतिहासिक विकासक्रम, सहकारी मार्फत समाजको आर्थिक विकास र सामाजिक रुपान्तरण तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक एवं शिक्षा उपसमतिका संयोजक डिल्लीराज उपाध्यायले सूचना सञ्चार र प्रविधिका बारेमा सहजीकरण गरेका थिए । तालिममा काठेखोला गाउँपालिका अन्तरगतका कम्प्युटर शिक्षा सञ्चालन गरेका १४ विद्यालयका २८ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।